प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेशमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघ प्रदेश १ को साधारणसभा उद्घाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका हुन्।
मुख्यमन्त्री राईले आफू पुनः मुख्यमन्त्री बने पनि नबने पनि सत्तारुढ गठबन्धनकै सरकार बन्ने र आफ्नो सरकारले थालेका कामहरूलाई नयाँ बन्ने सरकारले पुरा गर्ने स्पष्ट पारे। ‘फेरि पनि सत्तारुढ गठबन्धनकै सरकार बन्छ’ उनले भने ‘अहिलेको सरकारले थालेका कामलाई नयाँ सरकारले पुरा गर्छ।’ मुख्यमन्त्री राईले बजेटको सीमाका कारण आफूले सोचे अनुसारको र जनताले चाहना गरे अनुसारको काम गर्न कठिन भएको बताए।
राईले सञ्चार क्षेत्रमा पनि चाहे अनुसारको काम गर्न नसकिएको स्पष्ट पारे। उनले विभिन्न जिल्लामा पत्रकार महासंघका भवन निर्माणमा प्रदेश सरकारले सहयोग गरेको उल्लेख गरे। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राजनीतिक तथा सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवि पत्रकारको हकहित र अधिकारको रक्षाका लागि प्रदेश सरकार सँधै तत्पर रहेको बताए। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पत्रकारहरूको पेशागत सुरक्षाका लागि महासंघ सँधै लागि पर्ने बताए।
प्रकाशित: ५ पुस २०७९ १२:५१ मंगलबार