१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बिबादमा तानिए माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृत रेग्मी

इलामको नयाँबजारस्थित माइजोगमाई गाउँपालिका कार्यालय। तस्बिर: भीम/नागरिक

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्। स्थानीयसँग ‘भनाभन’ भएपछि प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीलाई हटाउन माग गर्दै युवाले आन्दोलनको चेतावनीसमेत दिएका छन्।

रेग्मीले गाउँपालिकाकै अपांगता समन्वय समितिका पदाधिकारी र स्थानीय युवाको समूहलाई बेग्लाबेग्लै भेटमा गालीगलौज गरेको आरोप छ। रेग्मीले अपशब्दसमेत प्रयोग गर्दै गाली–बेइज्जत गरेको आरोप स्थानीयले लगाएका छन्। उनीहरूले गाली–बेइज्जतको घटना छानबिन गर्न र प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई सरुवा गर्न माग गर्दै पालिका अध्यक्षलाई छुट्टाछुुटै ज्ञापनपत्रसमेत बुुझाएका छन्।

गत मंसिर १९ गते अपांगता दिवस मनाउने सन्दर्भमा आफूहरूलाई रेग्मीले गाली गरी तुच्छ शब्दसमेत प्रयोग गरेको पालिकाकै अपांगता समन्वय समिति अध्यक्ष यामबहादुर सुवेदीले बताए। ‘जनप्रतिनिधिलाई समेत कार्यक्रममा सहभागी गराएर छलफल भइरहेका बेला रेग्मीले हामीप्रति ज्यादै रुखो व्यवहार गर्नुभयो,’ अध्यक्ष सुवेदीले भने, ‘रेग्मी सरले बोल्नुभएका शब्द हामी कसैलाई पाच्य छैनन्।’ रेग्मीको अभिव्यक्ति सुनेपछि आफूहरूले अपांगता दिवस नै मनाउन नपाएको गुनासो अध्यक्ष सुवेदीको छ। समन्वय समिति कोषाध्यक्ष हेमराज अधिकारीले प्रमुख प्रशासकीय अधिकृतले आफूहरूमाथि नानाभाँती गाली गरेको बताए।

समितिले रेग्मीको व्यवहारले अपांगता भएका व्यक्तिलाई देशको संविधान र कानुनले दिएको सम्मानमै आघात पु¥याएको, आफूहरूको आत्मसम्मानमा चोट पुगेको जनाउँदै पालिका अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको छ। रेग्मीले आफ्नो अभिव्यक्ति नसच्याए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समितिले दिएको छ।

मंसिर २९ मा स्थानीय युवाको समूहलाई पनि रेग्मीले गाली बेइज्जत गरेको ती युवाले जनाएका छन्। बिनाटेन्डर स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरेको र स्वास्थ्य सामग्रीको हिसाब–किताबबारे सूचना माग्न कार्यकक्षमा गएका बेला रेग्मीले ‘म पालिका नै बेचिदिन पनि सक्छु’ भन्दै गाली गरेको स्थानीय युवक धनबहादुर सुवेदीको आरोप छ। ‘पालिकाले टेन्डरैबिना स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरेको र स्वास्थ्य सामग्रीको बजेटबारे कुराकानी भइरहेका बेला हामीलाई सूचना नदिने भन्दै उहाँले सुन्नै नसकिने शब्द प्रयोग गर्दै हप्काउनुभयो,’ सुवेदीले भने, ‘गाउँपालिकासँग सार्वजनिक सरोकारको सूचना माग्दा दिनुको सट्टा थुप्रै अपशब्द प्रयोग भएका छन्।’

गाउँका सचेत युवाको समूहलाई नै गाली–बेइज्जत गर्नुले प्रमुख प्रशासकीय अधिकृतको ‘रबैया’ छर्लङ्ग भएको भन्दै उनले घटना छानबिन र रेग्मीको सरुवा माग गरिएको बताए। ‘हामीले पालिका अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छौं,’ धनबहादुरले भने, ‘घटना छानबिन र रेग्मीको सरुवा भएन भने हामी आउँदो बुधबारदेखि चरणबद्ध आन्दोलनमा जाँदैछौं।’ युवाले प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधि र कार्यालयमा सेवाग्राहीलाई समेत रुखो व्यवहार गर्नेगरेको भन्दै उनको सरुवा माग गरेका हुन्। ‘यस्तो स्वभाव भएका कर्मचारीको व्यवहारले जनताले लडेर ल्याएको लोकतन्त्र धरापमा पर्दैछ,’ सुवेदीले भने।

गत भदौ अन्तिम साता पालिकामा आयोजित एक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेग्मीले दिएको अभिव्यक्तिप्रति पनि गाउँका किसान असन्तुष्ट छन्। किसानका लागि आयोजना गरिएको तालिममा मन्तव्य दिँदै रेग्मीले ‘विवादास्पद’ अभिव्यक्ति दिएका थिए। किसानले गाउँको विकास निर्माणक्रममा कृषि र पूर्वाधारमा बजेट सदुपयोग गर्न माग गरेपछि रेग्मीले आफूहरूलाई सार्वजनिक कार्यक्रममै झपारेको एक किसानले बताए। ‘कृषिमा लगानी बढाउन माग गर्दा रेग्मीले तपाइँहरूले देशका लागि कति राजस्व तिर्नुभएको छ र पालिकाले लगानी गरिदिनुपर्ने? भन्दै झपार्नुभयो,’ एक किसानले गुनासो गरे, ‘अब यो पालिकामा किसानले सहुलियत माग्दा पनि प्रशासकबाट हप्काइ खानुपर्ने भइसकेको पाइयो।’ आफूहरूले राखेका मागमा रेग्मी कहिल्यै ‘सकारात्मक’ नहुनेगरेको ती किसानको गुनासो छ।

स्थानीय युवा दुर्गाबहादुर सुवेदी र देवीप्रसाद अधिकारीले प्रमुख प्रशासकीय अधिकृत रेग्मी र धनबहादुर सुवेदीसहितका युवाको समूहबीच मंसिर २७ मा भएको विवादबारे सामाजिक सञ्जालमा आएका विषय छानबिन गर्न माग गरेका छन्। आफूहरूले पालिका अध्यक्षलाई ज्ञापनपत्र बुुझाउँदै विवादबारे सामाजिक सञ्जालमा आएका बिषयमा दोषी देखिएका व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आफूसँग सुवेदीसहितका युवा, अपांगता समन्वय समितिका पदाधिकारीलगायतसँग कुराकानी भएपनि ठूलो बिबाद नभएको दाबी गरे। ‘मैले ऐन–कानुनभन्दा पर गएर कुनै काम गरेको छैन भन्ने कुरा राख्दा भनाभन भएको हो तर उहाँहरूले प्रचार गरेजस्तो शब्द मैले प्रयोग गरेको छैन,’ रेग्मीले दाबी गरे, ‘युवाले चासो राख्नुभएको स्वास्थ्य सामग्री खरिद भइसकेको छैन, प्रक्रियामै छ।’ रेग्मीले अपांगता समन्वय समितिका पदाधिकारीलाई पनि ऐन–कानुनअनुसार काम गर्न सुझाएको बताए। ‘मैले त्यो समन्वय समितिलाई उसको काम गर्नेप्रक्रियाबारे सुझाव दिएको हुँ, विवाद गरेको, हप्काएको छैन,’ उनले भने, ‘समन्वय समितिसँग भएको भनिएको विवादमा बुुझाबुझ भइसकेको छ।’

पालिका अध्यक्ष कुुशबहादुर थेबेले प्रमुख प्रशासकीय अधिकृतसँग विवाद भएको भन्दै विभिन्न ज्ञापनपत्र आफूलाई आएको बताए। ‘यी घटनाको वास्तविकता के हो भन्नेबारे हामी अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘छलफल र समन्वयको काम अघि बढ्दैछ।’  

प्रकाशित: ३ पुस २०७९ १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App