coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरानका मेयर र कार्यपालिका सदस्यबीचको विवादले लगातार स्थगित कार्यपालिका बैठक

स्वतन्त्रबाट निवार्चित मेयर हर्क साम्पाङ र राजनीतिक दलहरुबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्वन्द्वले लगातार धरानको कार्यपालिका बैठक बस्न सकेको छैन।

मेयर साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोकेको र बाहिर जानुस् भनेर अपमान गरेको बिषयले लगातार ३ वटा बैठक प्रभावित भएको छ। आज (बिहिबार) बिहान ८ बजे कार्यपालिका बैठक बोलाइए पनि यही बिषयले बैठक हुन सकेन। लगातार ३ पटक बैठक बस्न नसक्दा महत्वपुर्ण निर्णयहरु रोकिएको छ भने उपमहानगरपालिका अनिर्णयको बन्दी बनेको छ।

कार्यपालिका सदस्यहरुले मेयरले अपमान गरेकोले माफी माग्नुपर्ने माग राख्दै बैठक बहिष्कार गर्दै आएका छन्। मेयर साम्पाङले भने आफूले माफी माग्नुपर्ने गरि नबोलेको अडान राख्दै आएका छन्। दुवै पक्षको यही हठले प्रत्येक महिना कम्तीमा एउटा बैठक बस्नुपर्ने भएपनि प्रभावित भइरहेको छ।

बिहिबार बिहान प्रतिनिधिमुलक तरिकाले ४ जना वडा अध्यक्षहरु मात्र बैठकमा आएका थिए। राजनीतिक दलको प्रतिनिधि हुने गरि बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई मात्र आए। वडा ६ का अध्यक्ष स्वतन्त्रबाट निवार्चित हुन् भने वडा १७ माओवादी, वडा १८ कांग्रेस र वडा १५ एमालेबाट निवार्चित हुन्। दलबाट निवार्चित उनीहरुलाई पार्टीले संसदीय दलको नेता पनि बनाएको छ।

बैठकमा सहभागी वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर साम्पाङले बोल्न नदिएर र बाहिर जानुस् भनेर कार्यपालिका सदस्यको अपमान तथा अमानवीय व्यवहार भएकोले माफी माग्नुपर्ने अडान राखे। उनले नगरलाई अनिर्णयको बन्दी बनाउने, तोकआदेशबाट नगर चलाउछुँ भन्ने, विधिबाहिर गएर फेसबुकबाट नै निर्णय र धारणा आउने गरेको भन्दै मेयर साम्पाङ जवाफदेही नभएसम्म र माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताए। ‘हामी २८ जना चै धरानलाई बिगार्न आएको र मेयर मात्रै धरान बनाउने आएको भन्ने भ्रम सृर्जना गरिएको छ। मानवीय त्रुटी, गल्ती हुनसक्छ तर स्वीकार नै नगर्ने, बैठकको लागि पहल नगर्ने र तोकआदेशको भरमा चलाउछुँ भन्ने हिसाबले अघि बढेपछि यो स्थिति बन्यो,’भट्टराईले भने,‘अहिलेसम्म मिलाएर जानेपक्षमा थियौं, अब हामी पनि फेस गर्ने पक्षमा पुगेका छौं।’

मेयर साम्पाङले भने आफूले काम, कर्तव्य भित्र रहेर अघि बढीरहेको दाबी गर्दै माफी माग्ने गरि केही नबोलेको जिकिर गरे। उनले माफी नमाग्ने अडान पनि राख । ‘हिजोकै ठाउँमा रहिरहनुहुदैन। मैले माफी माग्नुपर्ने गरि केही गल्ती गरे भन्ने लाग्दैन,’मेयर साम्पाङले भने,‘नगर प्रमुखले माफी मागेरै मात्र बैठक अगाडि बढ्छ भन्ने अडान हो भने म माफी माग्दिन, प्रष्ट छुँ।’

उपमेयर बेघाले पुरानै कुरा लिएर कार्यपालिका सदस्य र मेयरबीचको द्वन्द्व रहिरहेमा धरान अनिर्णयको बन्दी हुने भन्दै चिन्ता व्यक्त गरे। उनले समन्वयात्मक ढंगले एकअर्कामा संवाद गरेर निकास निकाल्न पनि आग्रह गरे। ‘मेयर र वडाअध्यक्षहरुले मेरो गोरुको बाह्रे टक्का हुनुहुदैन । जनताको मुद्दा ओझेलमा पर्नुहुदैन। मेयर र वडाअध्यक्षहरुले पुर्नविचार गर्नुपर्छ। व्यक्तिगत इगो साधेर हुदैन,’उनले भने।

कार्यपालिका बैठक नबस्दा शिक्षकहरुको तलब, स्वास्थ्यकर्मीहरुको तलब, करार कर्मचारीहरुको दैनिक भत्ता रोकिएको छ भने प्रत्येक महिना एक पटक बस्नुपर्ने बैठक नबस्दा मुल्यांकनको अंक पनि घटिरहेको उपमेयर बेघाले बताए। ‘छनौट गरिएको योजनाहरु कार्यान्वयन नभई टेवलमा थन्किएको छ। यसले समग्रमा नगर अनिर्णयको बन्दी बनेको छ, यसरी हुदैन । दुवै पक्ष मिलेर जानुपर्छ,’उनले भने।  

प्रकाशित: २९ मंसिर २०७९ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App