१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १३ दलले पाए समानुपातिक सिट

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र सोही ऐनको अनुसूची १ अनुसार सिट तोकेको हो।  

निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ८७ राजनीतिक दल सहभागी थिए भने प्रदेशसभा सदस्यमा भाग लिने दलहरूको संख्या प्रदेशअनुसार फरकफरक छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानका लागि २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। प्रत्यक्षतर्फ १२ दलका प्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन्। प्रत्यक्षतर्फको पछिल्लो परिणामबाट नेपाली कांग्रेस ५७ सिटसहित पहिलो दल बनेको छ। एमाले ४४, माओवादी केन्द्र १८ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १० सिट जितेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले ७/७ सिट जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, नागरिक उन्मुक्तिले ३, स्वतन्त्र उम्मेदवारले ५ तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन्। तर समानुपतिकतर्फ भने सात दलले मत्र सिट पाएका छन्। जसमा एमालेले ३४, कांग्रेसको ३२, माओवादी केन्द्रले १४, रास्वपाको १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाउनेछन्।

सातै प्रदेश गरी ३३० सदस्यका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ ३ हजार २२४ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा कांग्रेसले १११ स्थान जितेको छ। चारवटा प्रदेशमा कांग्रेस पहिलो दल बने पनि प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा भने एमाले ठुलो बन्न पुगेको छ। एमालेले प्रदेशसभातर्फ ९१ स्थानको परिणाम आफ्नो पक्षमा पारेको छ। ११ राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको प्रदेशसभामा माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा रहेको छ। उसले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ५३ सिट जितेको छ। नेकपा एसले १६, राप्रपाले ११, लोसपाले ९, जसपा र नागरिक उन्मुक्ति पार्टीले ७/७ का साथै हाम्रो नेपाली पार्टी र नेमकिपाले १÷१ सिट जितेका छन्। पार्टीले दिएको उम्मेदवारीविरुद्ध विद्रोह गर्दै उम्मेदवार बनेकासहित विभिन्न १२ स्वतन्त्र उम्मेदवारले प्रदेशसभाको प्रत्यक्षतर्फ जित निकालेका छन्।

प्रदेशसभातर्फ भने समानुपातिकतर्फको सिट पाउने दलको संख्या १३ पुगेको छ। जसमा सबैभन्दा धेरै एमाले सातै प्रदेशमा गरी ७० सिट पाएको छ भने कांग्रेसलाई ६४ सिट प्राप्त भएको छ। त्यस्तै माओवादी केन्द्रले २९, राप्रपा १७, नेकपा एसले ९ सिट पाएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि नेकपा एस समानुपातिकका लागि आवश्यक पर्ने ३ प्रतिशत मत पाउन असफल भएको छ। तर प्रदेशसभामा भने उसले गण्डकीबाहेकका प्रदेशमा समानुपातिक सिट पाएको छ। त्यस्तै जसपा र जनमत पार्टीले ९/९ सिट पाएका छन् भने नागरिक उन्मुक्तिले ५, लोसपाले ३, नेमकिपाले ३ सिट पाएका छन्। राष्ट्रिय जनमोर्चा, हाम्रो नेपाली पार्टी र नेपाल संघीय समाजवादी पार्टीले १/१ सिट पाएका छन्।

प्रकाशित: २२ मंसिर २०७९ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App