१६ चैत्र २०८० शुक्रबार
राजनीति

कपिलवस्तुमा शक्तिशाली बन्दै एमाले

कपिलवस्तुमा एमाले झन् बलियो भएर उदाएको छ। मधेसवादी दलका नेताहरुलाई धमाधम ताने पछि एमाले जिल्लामा शक्तिशाली बनेको हो।

गत मंसिर ४ गते निर्वाचन अघि विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको परिणाम अहिलेको निर्वाचनमा देखिएको हो। जसले कपिलवस्तुमा नेकपा एमाले बलियो राजनीति शक्तिका रुपमा उदाएको छ। लामो समय वर्चस्व कायम राखेका मधेस केन्द्रित दल कमजोर बन्दा त्यसको फाइदा एमालेले उठाएको छ।

जिल्लाका प्रभावशाली नेता बृजेश कुमार गुप्ता, मंगल प्रसाद गुप्ता, दानबहादुर चौधरी, दीर्घ नारायण पाण्डेय, मधुसुदनशरण चौधरी, बरजंगी प्रसाद कुर्मी, धर्मबहादुरलाल श्रीवास्तव लगायतका नेताहरु एमाले भित्रिदा यसको फाइदा एमालेले उठाएको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यमा निर्वाचन जित्दै एमाले बलियो शक्तिका रुपमा उदाएको हो।

कम्युनिस्ट पार्टीले जिल्लामा इतिहासमै सबैभन्दा बढी सिट जित्न सफल भएको निर्वाचन नै यही भएको छ। चुनावमा एकल चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेले बलियो शक्तिको रुपमा रहेको बाम–लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्न सफल भएको हो।

नेपालमा बहुदल आए पश्चात् भएका हरेक चुनाव नियाल्दा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पटक धेरै सांसद जित्न सफल भएको छ। बहुदलीय व्यवस्था आएपछि भएका २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७० का चुनावसम्म यो जिल्ला लोकतान्त्रिक शक्तिको दबदबा भएको जिल्ला मानिन्थ्यो। २०४८ सालको निर्वाचनमा तीन निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट कमलेश शर्मा, क्षेत्र नं. २ मा कांग्रेसकै दीपकुमार उपाध्याय र क्षेत्र नं. ३ मा सद्भावना पार्टीका मिर्जा दिलसाद बेगले चुनाव जितेका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा पनि तीनै जना सांसद दोहोरिएका थिए। मिर्जाले भने ०५१ को चुनाव राप्रपाबाट जितेका थिए। २०५६ को निर्वाचनमा क्षेत्र नं. १ जित्दै एमालेले इतिहासमै पहिलो जित निकालेको थियो। तत्कालीन दानबहादुर चौधरी एमालेबाट चुनाव जित्ने पहिलो सांसद थिए। क्षेत्र नं. २ मा लगातार दुई चुनाव जित्ने उपाध्यायलाई हराउँदै राप्रपाका बृजेशकुमार गुप्ता विजयी भएका थिए।

क्षेत्र नं. ३ मा राप्रपाका अजय प्रताप शाहले चुनाव जितेका थिए। देशमा गणतन्त्र स्थापना भए पश्चात् भएको २०६४ को पहिलो संविधान सभा निर्वाचनमा जिल्लामा ५ निर्वाचन क्षेत्र कायम रह्यो। देशभर नेकपा (माओवादी) को दबदबा रहे पनि जिल्लाका कुनै क्षेत्रमा कम्युनिस्ट पार्टीले जित निकाल्न सकेनन्।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसका दीपकुमार उपाध्याय, क्षेत्र नं. २ मा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का दानबहादुर चौधरी, क्षेत्र नं. ३ मा तराई मधेस लोकतान्त्रिक पार्टीका बृजेश कुमार गुप्ता, क्षेत्र नं. ४ मा तमलोपाकै ईश्वर दयाल मिश्रा र क्षेत्र नं. ५ मा मधेसी जनअधिकार फोरम नेपालका अभिषेक प्रताप शाह निर्वाचित भएका थिए।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पछि २०७० मा दोस्रो संविधान सभाको निर्वाचन भयो। ५ निर्वाचन क्षेत्र कायम रहेकै बेला भएको निर्वाचनमा क्षेत्र नं. १ एमालेले जित्यो। बलराम अधिकारीले यहाँबाट चुनाव जितेर ०५६ पछि एमालेको दोस्रो जित निकालेका थिए।

क्षेत्र नं. २ मा कांग्रेसका छाडेर स्वतन्त्र उम्मेदवार अतहर कमालले चुनाव जिते। क्षेत्र नं. ३ मा तमलोपाका बृजेश कुमार गुप्ता, क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ५ मा सङ्घीय समाजवादी फोरम नेपालका अभिषेक प्रताप शाहले चुनाव जिते।

२०७२ को नेपालको संविधान जारी भए पश्चात् २०७४ मा भएको पहिलो संसदीय निर्वाचनमा जिल्लामा तीन प्रतिनिधि सभा र छ प्रदेश सभा निर्वाचन क्षेत्र कायम रह्यो। यो निर्वाचनमा पहिलो पटक देशमा बाम–गठबन्धन भएको थियो। एमाले–माओवादी केन्द्र गठबन्धनले जिल्लामा तीन प्रतिनिधि सभा मध्ये दुई र ६ प्रदेश सभा मध्ये चार प्रदेश सभामा जित निकाल्यो। प्रतिनिधि सभा १ मा माओवादीका चक्रपाणि खनाल बलदेवले चुनाव जिते भने क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता निर्वाचित भए।

चार प्रदेश सभामा विष्णु पन्थी, धर्मबहादुरलाल श्रीवास्तव, दीर्घ नारायण पाण्डेय, अर्जुन केसीले चुनाव जितेका थिए। यो निर्वाचनमा एक प्रतिनिधि सभा र एक प्रदेश सभा निर्वाचन क्षेत्र मात्र कांग्रेसले जित्न सफल भएको थियो। ०७४ यता दुई कम्युनिस्ट पार्टीको एकता पछि बनेको नेकपाको विभाजन, एमाले भित्रको विभाजन र देशभर बाम–लोकतान्त्रिक गठबन्धनसँग एक्लै भिडेको एमालेले अप्रत्याशित नतिजा निकाल्दै जिल्लामा एकछत्र जित निकालेको छ।

क्षेत्र नं. १ मा एमालेका बलराम अधिकारीले चुनाव जित्दा क्षेत्र नं. ३ मा मंगल प्रसाद गुप्ता गर्विलो जित निकाल्न सफल भएका छन्। ०७४ मा जितेको एउटा प्रदेश गुमाएको एमालेले प्रतिनिधि सभा १ को प्रदेश सभा दुईमा पहिलो जित निकालेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा शानदार जित निकाल्न सफल भएको एमाले समानुपातिक तर्फको निर्वाचन प्रणालीमा पनि पहिलो पार्टी बनेको छ।

प्रकाशित: २१ मंसिर २०७९ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App