१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्।

मंगलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन्। उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरेपनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुशी व्यक्त गरे।

प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको बताए। उनले मन्त्रीपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘मेलम्ची काठमाडौंका लागि अत्यन्त महत्वपूर्ण कुरा हो। आदरणीय कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्छु भन्नुभएको थियो। त्यो कुरा फुलफिल भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु। सबै मिलेर पूरा गरौँ। कसरी हुन्छ, विज्ञ क्याबिनेट राखेर त्यसमा मुख्यसचिवलाई पनि राखेर विकास समिति भन्नुभयो, त्यो आवश्यक छ भने त्यसमा आपत्ति छैन। विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ। नयाँ बनाउनुपर्ने भएपनि बनाउँला के भयो र?’

काँग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेका थिए। अवलोकनपछि उनले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराएका हुन्। ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ। 

'प्रधानमन्त्रीज्युको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको छ। काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख विकल्प श्रोत हो। यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालनन र्ग त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ। काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ। मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ। ७ महिना पानी फ्लो हुन्छ भन्नेछ। ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन। त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ। महानगरपालिका भित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले महानगर बाहिर पनि यसको उपलब्धता हुनुपर्छ।'

प्रकाशित: २० मंसिर २०७९ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App