coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयर शाहीले किन्न लगाइन् आफ्नै शोरुमबाट मोटरसाइकल

नगरपालिकाले खरिद गरेको मोटरसाइकल। तस्विर नागरिक

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही मोटरसाइकल खरिद प्रकृयामा विवादमा तानिएकी छन। उनले लम्की बजारस्थित रहेको आफ्नै शोरुमबाट नगरपालिकाका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको मोटरसाइकल खरिद गर्न ठाडो निर्देशन दिएको आरोप छ।  

मेयर शाही लम्की बजारमा रहेको जी.एस.एस. टेडर्सकी सञ्चालक हुन्। उनी मेयर भैसकेपछि सो शोरुमबाट जनप्रतिनिधिका नाममा पटक पटक गरी ७ वटा मोटरसाइकल र २ वटा स्कुटी खरिद भएको छ। ती मोटरसाइकल र स्कुटी वडाध्यक्षहरुको लागि खरिद गरिएको भनिएको छ।  

लम्कीचुहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकेन्द्र कठायतले खरिद गरिएको मोटरसाइकल नलग्ने भनेपछि मोटरसाइकल खरिदको घटना सार्वजनिक भएको हो। उनी पूरानै मोटरसाइकल चढिरहेका छन। मोटरसाइकल खरिदको विषयलाई लिएर चर्को विरोध भएपछि वडा नं. १ का वडाध्यक्ष नेत्रप्रसाद खनाल र वडा नं. २ का वडाध्यक्ष सन्तोषकुमार ओलीले मोटरसाइकल फिर्ता गरेका छन। उनीहरुले नगरपालिका कम्पाण्डमा मोटरसाइकल राख्नुका साथै जिन्सी शाखामा चाभी छोडेर हिँडेको जिन्सी शाखा प्रमुख लिलबहादुर खत्रीले जानकारी दिए।  

जिन्सी शाखा प्रमुख खत्रीले आफू कहाँ दाखिला नभएको सामान बुझ्न अस्विकार गरेका छन। उनले दाखिला नै नभएको सामान बुझ्दा समस्या हुने भएकाले त्यसो गरेको बताए। वडा नं. १ का वडाध्यक्ष खनालले आफूलाई झुक्याएर जबरजस्ती मोटरसाइकल बुझ्न लगाएको दावी गरे। ‘कसरी किनेको हो केही थाहा छैन’ उनले भने, ‘शोरुममा गएर मोटरसाइकल लैजानुस भने लगेर गयौं।’ उनले आफूले मोटरसाइकलको माग समेत नगरेको बताए।

नगरसभाले मोटरसाइकल खरिदका लागि ५० लाख रुपैयाँ छुट्याएको थियो। सोही रकमबाट मोटरसाइकल र स्कुटी खरिद गरिएको वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता लव शाहीले  जानकारी दिए। उनी समेत मोटरसाइकल बुझ्ने वडाध्यक्ष भित्र पर्छन। तर उनले आफूले भने मोटरसाइकल नलगेको दावी गरेका छन्।  

नगरपालिकाले मोटरसाइकल खरिदमा सार्वजनिक खरिद ऐनलाई मिचेको पाईएको छ। एकै पटक मोटरसाइकल खरिद गर्दा टेण्डर गर्नुपर्ने भएकाले कोटेशन मार्फत पटक पटक मोटरसाइकल खरिद गरिएको छ। कोटेशन माग गर्दा समेत नजिकका सबै शोरुमलाई सार्वजनिक सूचना मार्फत कोटेशन आह्वान गर्नुपर्नेमा त्यसो नगरेको पाईदैन। मेयर शाही सञ्चालक रहेको शोरुमले कागजात मिलाएर कोटेशन भरेको स्रोतको दावी छ।  

प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बुढाले यस बारेमा आफूलाई सबै कुराको जानकारी नभएको बताए। उनले आफूले ४ वटा मोटरसाइकलको भुक्तानी दिएको र २ वटाको भुक्तानी दिन बाँकी रहेको जानकारी दिए। ‘मलाई धेरैकुरा थाहा छैन। म भदौ २१ गते हाजिर भएको हुँ’ उनले भने, ‘केही मोटरसाइकल त्यसअघि नै खरिद भैसकेको भन्ने सुनेको छुँ।’ उनले मोटरसाइकल खरिदमा केही कमिकमजोरी भएको स्विकारेका छन। उनले नियम सबैले मान्नुपर्ने भन्दै घुमाउरो पारामा आफू दवावमा रहेको छनक दिएका छन।  

स्रोतका अनुसार नगरपालिका कर्मचारीहरुका लागि समेत सोही शोरुमबाट थप मोटरसाइकल खरिद भएको छ। ती मोटरसाइकलका बारेमा भने खाशै चर्चा हुने गरेको छैन।  अहिलेसम्म कतिवटा मोटरसाइकल खरिद भयो भन्ने बारेमा नगरपालिकाको जिन्सी शाखाका प्रमुख खत्रीले प्रष्ट जवाफ दिएनन्। उनले आफू हालै मात्र शाखा प्रमुख भएर आएकाले धेरै कुरा थाहा नभएको बताए। ‘म बरबुझारथकै क्रममा छुँ। मलाई धेरै कुरा जानकारी छैन’ उनले भने, ‘सबै कुरा थाहा पाएपछि मात्रै भन्न सक्छु ।’

नगरपालिकाले महंगो मोटरसाइकल खरिद गरेको छ। हालै बजारमा आएको यामाहा कम्पनीको ४ लाख ४० हजार रुपैयाँ पर्ने मोटरसाइकल खरिद गरिएको बताईएको छ। आफ्नो व्यवशायलाई केन्द्रमा राखेर मेयर शाहीले वडाध्यक्षका लागि महंगो मोटरसाइकल खरिद गर्न लगाएको भन्दै चर्को आलोचना भैरहेको छ।  

प्रकाशित: १६ मंसिर २०७९ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App