१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जितपछि गाउँमै फर्किए नेता

चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन गाउँ फर्केका कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा विजयी उम्मेदवार । तस्बिरः पुष्पराज जोशी/नागरिक

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन अघि गाउँमा भोट माग्न पुगेका नेता तथा कार्यकर्ताहरू निर्वाचनको मतपरिणामपछि पनि गाउँमै फर्किएका छन्। निर्वाचनमा जितेका प्रतिनिधि गाउँमा मतदातालाई धन्यावाद दिन तथा आभार व्यक्त गर्न गाउँ छिरेका छन्।

निर्वाचनको मतपरिणामपछि मतदातालाई धन्यवाद दिन आफू गाउँमै रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका वीरबहादुर बलायरले बताए। उनले भने, ‘नेताले जितेपछि गाउँ फर्किदैनन् भन्ने आम मतदाताको गुनासो चिर्न अहिले गाउँघरमै छु।’ निर्वाचनको मत परिणाम आएको दिनदेखि नै आफू कैलाली क्षेत्र नम्बर ४ को गाउँघरमै मतदातामाझ आभार प्रकट गर्न र धन्यवाद दिन गएको उनले बताए।  

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदमा विजयी डिल्लीराज पन्त पनि धनगढीका सबै वडामा छिरेका छन्। उनी लोकतान्त्रिक–वाम गठसाझा उम्मेदवारबाट प्रदेश सभा सदस्य पदमा विजयी नेकपा माओवादीका रमेश धामीलाई लिएर गाउँगाउँमा छिरेका हुन्। ‘म अहिले प्रदेशसभा सदस्य पदमा विजयी रमेश धामीजीसँगै प्रदेशसभा (क)का गाउँगाउँमा छु,’ उनले भने, ‘जितेपछि गाउँ फर्किदैनन् भन्ने गुनासो चिर्न गाउँमै फर्केको छु।’ आफूले सपथ लिएपछि पटकपटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने र यहाँका समस्या समाधान गर्न केन्द्रस्तरको योजना ल्याउने उनले बताए। उनले भने,‘यहाँका रोकिएका आयोजनाहरूमा बजेट हाल्न र नयाँ योजना कार्यान्वयन गराउन म सक्दो प्रयास गर्नेछु।’ निर्वाचनमा विजयी भएपछि आफू पनि गाउँमै रहेको कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘ख’मा विजयी प्रकाशबहादुर बमले बताए। उनले भने, ‘जसरी निर्वाचन अगाडि आम मतदाता कहाँ भोट माग्न गएको थिएँ, त्यसरी नै अहिले विजयी भएपछि आभार प्रकट गर्न र धन्यवाद दिन गइरहेको छु।’ चुनाव जितेपछि नेताहरू गाउँ फर्कदैनन् भन्ने आरोप लागेको बताउँदै उनले भने, ‘चुनावअघि भोट माग्न आउने नेताहरू चुनाव जितेपछि गाउँ फर्किदैनन् भन्ने गुनासो व्यापक पाएको थिएँ, त्यसैले म चुनाव जितेपछि पनि सबैभन्दा पहिले गाउँमै फर्केको छु।’

यसअघिका नेताहरू चुनाव अघि भोट माग्न गाउँ आउने गरे पनि जितेपछि नफर्कने गरेको गौरीगंगा नगरपालिका–७, मट्कौनाका रणबहादुर बमले बताए। चुनाव जितेपछि पाँच वर्षपछि मात्रै पुनः निर्वाचनका बेला भोट माग्न नेताहरू गाउँ फर्कने गरेको बताउँदै उनले भने,‘यसपालिका निर्वाचित प्रतिनिधिहरू भने चुनाव जित्नबित्तिकै गाउँ फर्केका छन्।’ नवनिर्वाचित प्रतिनिधिहरूले गाउँमा आम मतदातालाई आभार तथा धन्यवाद दिएको उनले बताए। ‘गाउँ टोलमा पुगेर प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदमा विजेता नेताहरूले मतदातालाई भेटेर धन्यवाद दिए,’ उनले भने, ‘यो राम्रो संस्कार हो, अब हरेक दुःख सुखमा नेताहरू समय समयमा गाउँ फर्किनु पर्छ।’

प्रकाशित: १३ मंसिर २०७९ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App