३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल

कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ। सो पार्टीले ५ प्रतिनिधि सभा मध्ये ३ र १०, प्रदेश सभा मध्ये ५ वटामा जित हात पारेको छ। पार्टीले प्रतिनिधि सभातर्फका क्षेत्र नं. १, २ र ३ मा जितेको छ।

क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भारी मतान्तरले विजयी भएकी छिन्। उनले निकटतम प्रतिस्पर्धी गठनबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ३० हजार ४०४ र चौधरीले १८,०८१ मत पाएका छन्। 

त्यस्तै क्षेत्र नं. २ मा अरुण चौधरी समेत भारी मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावल भन्दा ५ हजार ७४३ मत बढी पाएका छन्। चौधरीले २१ हजार ८७१ र रावलले १६ हजार १२८ मत पाए।  

क्षेत्र नं. ३ विजयी गंगाराम चौधरीले निकटतम प्रतिस्पर्धीलाई ५ हजार ३७१ मतान्तरले हराए। उनले गठबन्धन तर्फबाट नेकपा माओवादीका कृष्णकुमार चौधरीलाई हराएका हुन्। उनीसँग पूर्वमन्त्री नेकपा एमालेका गौरीशंकर थारु समेत पराजित भए। थारुले ९ हजार ८७४ मत पाएका थिए।

प्रदेश निर्वाचन क्षेत्रतर्फ १ र ३ को (क) (ख) मा गरी चारै ठाउँमा नागरिक उन्मुक्तिको उम्मेदवारले जितेको छ। क्षेत्र नं. १ को (क) मा कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर चौधरी विजयी भए। त्यस्तै क्षेत्र नं. ३ को (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डगौरा थारुले जितेका छन भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन्।

कैलालीमा २ सिट प्रतिनिधि सभा र ३ सिट प्रदेश सभामा जितेर नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ। काँग्रेसले क्षेत्र नं.४ र ५ मा जितेको छ। ४ बाट काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर र ५ बाट डिल्लीराज पन्त विजयी भएका छन्। त्यस्तै काँग्रेसबाट प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्र नं. २ को (क) मा कमलबहादुर शाह, क्षेत्र नं. ४ को (ख) मा प्रकाश बहादुर बम र क्षेत्र नं. ५ को (ख) मा प्रकाशबहादुर देउवा विजयी भएका छन्।

नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले क्षेत्र नं. ४ को (क) र नेकपा माओवादीका रमेशसिँह धामीले क्षेत्र नं. ५ को (क) बाट प्रदेश सभामा जितेका छन्। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा एउटा सिट पनि जित्न सकेन।

प्रकाशित: ९ मंसिर २०७९ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App