१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदातालाई उल्टै सम्मान गर्ने बिराज

प्राय: जितपछि सांसदहरु आफूलाई ठूलो ठान्ने र नागरिकसँग सम्मान लिने, किलोका किलो फूलका माला गलामा पहिरिएर छाती फुलाएर विजयी जुलुस निकाल्ने र सम्मान लिँदै रमाउने हुन्छन्। तर काठमाडौँ क्षेत्र नम्बर ८ का विजयी प्रतिनिधि सभा सदस्य सांसद बिराजभक्त श्रेष्ठ भने फरक देखिए।        

बिहीबार बिहानै क्षेत्र नम्बर ८ मा रहेको क्रिस्टल होममा घण्टी बज्यो। सबैले झ्यालबाट हेर्न थाले यति धेरै घण्टीको आवाज कुन मन्दिरबाट आयो भनेर। तर यो त घण्टी क्षेत्र नम्बर ८ का प्रतिनिधि सभा सदस्य पदका विजयी सांसद बिराजभक्त श्रेष्ठको धन्यवाद र्‍यालीको थियो। घण्टी बजाउँदै धन्यबाद दिन निकालिएको र्‍यालीमा सांसद विराजको मतदातालाई धन्यवाद दिने शैली निकै भावनात्मक बन्यो। उनलाई सम्मान गर्न आउने नागरिकलाई नै बिराजले उल्टै खादा र माला लगाइदिएर सम्मान गरेको दृश्य निकै भावनात्मक बन्यो। यसले सांसद र मतदाताबीच समानताको भावना जगाएको उपस्थित नागरिकहरुले विचार ब्यक्त गरिरहेको भेटिए। आफना क्षेत्रका नागरिकहरुले आ –आफना मत लगानी गरि उनलाई विजयी गराएको सम्मानमा बिराजले नागरिकहरुलाई उल्टै सम्मान गरिरहेको भेटिए।

४१ वर्षी बिराज विजयपछि क्षेत्र नम्बर ८ का मतदाताहरुको घर दैलोमा धन्यवाद ज्ञापन गर्न पुग्दा उनलाई नागरिकले खाँदा र माला पहिराउँदा उनले आफनो गलाको माला र खादा समेत मतदातालाई लगाइदिए। यसकारण उनको गलामा मालाको थुप्रो खासै देखिएन। खादाको चाङ पनि देखिएन। उनको यस्तो धन्यवादक शैलीले उपस्थितहरु निकै भावुक बनेका थिए। बिराजको शालिन व्यवहारको जो कोहि पनि प्रशंसा गरिरहेका थिए। बिराजले आफूसँग माला र खादा प्रशस्त राखेका थिए। उनलाई ताहाचल बडा नम्बर १३ का रामप्रसाद रौनियारले खादा ओढाउँदा उनले पनि आफूसँग झोलामा रहेको खादा निकालेर मतको कदर गर्दै रामप्रसादलाई ओढाइ दिए। यति मात्र होइन उनलाई सम्मान गर्न तिलेश्वर गुप्ताले माला लगाइ दिँदा बिराजले पनि अर्को माला तिलेश्वरलाई लगाइ दिए। यो भावनासँग जोडिएको व्यवहारले तिलेश्वर आफू भावुक बनेको सुनाए।

् ‘यो जित मेरो मात्र होइन हामी सबैको हो ,’ सांसद बिराजले भन्दै थिए ‘ क्षेत्र नम्बर ८ को जित हो। त्यही भएर म होइन सम्मान तपाईंहरुलाई मैले गर्नुपर्छ। ’उनले थपे ‘हाम्रो क्षेत्रको विकासमा हामी सबै एक जुट भई हातेमालो गरि अघि बढ्नु पर्छ।’

माला लगाइरहेको दृश्यले मन छोएको शोभा शाक्यले सुनाइन्। ् ‘बिराज निकै शालिन स्वभावका छन्। सबैसँग मिल्न सक्ने खुबी भएका युवा नेता बिराजमा आफ्नो क्षेत्र र देशको लागि काम गर्ने जोश छ ,’ बडा नम्बर १३ की शोभा शाक्य भन्छिन्, ‘विगतमा पुराना र ठूला दलका नेताहरुलाई भोट दिएकै हो। तर उहाँहरुले हाम्रो क्षेत्रको लागि खासै केहि गर्नु भएन। त्यही भएर हामीले नयाँ पुस्ताका विराजलाई रोजेका हौं।’

क्षेत्र नम्बर ८ का जनताले विगतका पार्टीका नेताहरुको आश्वासन पाउने तर जितेपछि पूरा नगर्ने शैलीदेखि आजित भएरै युवा नेता बिराजलाई चुनेको सोहि क्षेत्रका बासिन्दाहरु बताउँछन्। जनताले दिएको एक एक मतको कदर गर्ने एउटा जिम्मेवार जनप्रतिनिधिको रुपमा बिराजलाई हेरेको रामप्रसादले बताए। ८ नम्बर क्षेत्र मधेशी, पहाडी , नेवार, जनजाति, ब्राहमण, क्षेत्री ,दलितलगाएत विभिन्न जातजातिको मिश्रण भएको समुदायहरु बस्ने थलोको रुपमा परिचित छ।

बिराजले क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिइरहँदा स्वतन्त्रता, स्वाभिमान,समबृद्धि, आत्मसम्मान(समता) र विधिको शासन लगायतका सपनाहरुलाई वास्तविकतामा उतार्ने र यिनै सपनाहरुको जिवन्तताबाट आधारभूत आवश्यक्ताहरुलाई पूर्णता दिलाउने जस्ता महत्वपूर्ण प्रतिबद्धता आफ्नो घोषणपत्र द्धारा गरेका छन्। नागरिकको आवश्यक्ता अनुसार भिजन बनाउँदै अगाडि बढ्ने उनको योजना पूरा गर्न अब उनी आजैको दिनबाट लाग्नु पर्ने यस क्षेत्रका मतदाताहरुको सुझाव छ। कहिले काँग्रेस त कहिले एमालेको गढ मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराजले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई दोब्बर मतले पराजित गरेका हुन्। भने गठबन्धनका जिवनराम श्रेष्ठ तेस्रो स्थानमा रहे। एमालेका शिवसुन्दर राजबैद्य चौथो स्थानमा रहे। ‘हाम्रो क्षेत्रमा सडकजाम हुने ठूलो समस्या वर्षौदेखि कायम छ,’ताहाचलकी रन्जना श्रेष्ठले विश्वाससाथ भनिन,्‘साथै खाने पानीको अभावको समस्या पनि अब समाधान हुने विश्वास छ।’

प्रकाशित: ९ मंसिर २०७९ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App