५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अनेरास्ववियुका कार्यकर्ता खोजीखोजी पक्राउ गरेको आरोप

पक्राउका लागि घर घेराउ गर्दै प्रहरी। तस्बिर: नागरिक

विद्यार्थी नेता चेतन अयडीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न आन्दोलनरत अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रहरी पक्राउ गर्न थालेको छ। आन्दोलनलाई कमजोर पार्ने रणनीतिका साथ विद्यार्थी नेता कार्यकर्तालाई घरभित्रैबाट थुतेर समात्न बाजुरा प्रहरी सक्रिय देखिएको अनेरास्ववियुका नेताहरूको भनाइ छ।

न्यायको आन्दोलनमा लागेका युवा विद्यार्थीलाई साथ दिनको साँटो उल्टै जबरजस्त शैलीमा घरभित्रबाटै समातेर प्रहरी प्रशासन कांग्रेसको मतियार बनेको अनेरास्ववियुले आरोप लगाएको छ। तीन दिनदेखि दबाबमुलक आन्दोलनमा सरिक युवा विद्यार्थीलाई बिहानै घरमै पुगेर ताला फोडेर पक्राउ गर्ने गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य राजीव रोकायाले बताएका छन्।

विद्यार्थी नेताको निर्मम हत्या गरिएको र २२ जनाको नाममा किटानी जाहेर समेत दिइसकेको अवस्थामा प्रहरी प्रशासन हत्यारा पक्राउ गर्नुको साटो उल्टै न्यायको आन्दोलनमा लागेकाहरूलाई समात्न लागेको अनेरास्ववियुको भनाइ छ। कांग्रेसको ठाडो निर्देशनमा आन्दोलनलाई कमजोर पार्न बिहानैदेखि घरघरबाट युवा विद्यार्थी समातेर गैर कानुनी र अराजक गतिविधी प्रहरी प्रशासनबाटै गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताए।

लगातारको आन्दोलनमा सहभागी अनेरास्ववियुका विद्यार्थीले हत्यारा पक्राउमा ढिलाइ गरेको आक्रोश देखाएर चर्का नारा बाजी गरेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्था मजबुद नबनाएको र कांग्रेसलाई बुथ कब्जामा अप्रत्यक्ष सहयोग गरेको आरोपले कालोमोसो दल्ने प्रयास गरेका थिए।

आफूहरूमाथि नै आक्रमण गर्ने प्रयास गरेको भन्दै बाजुरा प्रहरी प्रशासनले आन्दोलनकारीलाई नियन्त्रणमा लिने र मुद्दा चलाउने तयारी थालेको छ। हालसम्म एक दर्जन बढी युवा विद्यार्थीका नेताहरूलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ।

अहिले नेकपा एमाले बाजुराले त्यसको जवाफी तयारीका लागि आकस्मीक बैठक समेत बोलाएको छ। तर स्थानीय प्रहरी प्रशासनले भने आन्दोलनकारीलाई पक्राउ नगरि प्रमुख जिल्ला अधिकारी सहीतको टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताएको छ। जसका कारण बाजुरा सदरमुकाम बिहानैदेखि तनावपूर्ण बनेको छ। अनेरास्ववियुले बाजुरा बन्द जारी राखेको छ।  

प्रकाशित: ९ मंसिर २०७९ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App