३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङमा एमाले ‘क्लिन स्वीप’

दाङमा पार्टीका महासचिव शंकर पोख्रेलको हारसँगै नेकपा एमालेको ‘क्लिन स्वीप’ भएको छ। जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्र तथा ६ प्रदेशसभा मध्य कुनैमा पनि जित निकाल्न सकेन। एमाले माथि वर्तमान सत्तागठबन्धन हाबी भईदिएको छ।  मूलतः एमालेले दाङको क्षेत्र नम्बर २ मा जसरी पनि आफ्नो जित निकाल्ने योजना बनाएको थियो। यो क्षेत्रमा महासचिव शंकर पोख्रेल भिडेका थिए। पोख्रेललाई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पाखा लगाइन्।

यसैगरि जिल्लाको क्षेत्र नम्बर ३ मा एमालेकी कोमल ओली पराजित भइन्। महिला मतको बलमा जित निकाल्न सक्ने ओलीमाथि लख काटिएको थियो। यसैगरि यो क्षेत्रको कांग्रेसी मतलाई तान्न सकिने विश्वासमा ओली र उनको दल नेकपा एमाले थिए।  तर कांग्रेसका दिपक गिरीले जनमत आफ्नो पक्षमा राख्न सफल भए।  

यसैगरि क्षेत्र नम्बर १ मा जित निकाल्ने एमालेको लक्ष्य माथि गठबन्धन बाधक बनिदियो। यो क्षेत्रमा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको थियो। तर सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले आफ्नो पुरानो गढमा शान्तालाई टिक्न दिएनन्। एमालेले यो क्षेत्रमा आफ्नो जीतको आधार नेकपा एसको कमजोर जनमतलाई देखिरहेको थियो। कांग्रेसको सहयोग विना मेटमणीको जित असम्भव देखिरहेको एमालेले कांग्रेसको मत पुरापुर मेटमणीको पक्षमा नखस्ने देखिरहेको थियो। यसैगरि यो क्षेत्रमा भिडेका राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ती पार्टीले मत काट्ने र त्यसको फाईदा आफूलाई पुग्नेमा एमाले ढुक्क थियो। तथापी एमालेको यो अपेक्षाले पुरै फेल खायो र आफ्नो जितबाट पछि हट्न बाध्य भयो।  

प्रतिनिधिसभामा जीत विहिन बनेको एमालेले जिल्लाका कुनै पनि प्रदेशसभामा क्षेत्रमा खाता खोल्न सकेन। क्षेत्र नम्बर १ का दुबै प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले एमालेलाई अघि बढ्न दिएनन्। दाङ १ (१) मा कांग्रेसका अनुराग खड्काले एमालेका कुलबहादुर केसीलाई पराजित गरे भने १(२) मा माओवादी केन्द्रका इन्द्रजीत चौधरीले एमालेका गंगाराम भट्टराईलाई पराजित गरे। यसैगरि क्षेत्र नम्बर २ का दुबै प्रदेशसभा क्षेत्रमा पनि एमाले जित बिहिन बन्यो। २(१) मा कांग्रेसका राजु खनालले एमालेका बलिभद्र रानालाई पाखा लगाए भने २(२) मा कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’  एमालेका गिरिराज केसीलाई पराजित गर्दै विजयी भए।  

यसैगरि दाङ क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभा क्षेत्रमा पनि एमालेले आफ्नो पकड जमाउन सकेन। ३(१) मा कांग्रेसका डिल्लीबहादुर चौधरी एमालेका घनश्याम पाण्डेलाई पराजित गर्दै विजयी माला पहिरिए भने ३(२) मा माओवादी केन्द्रका धनबहादुर मास्की एमालेका हुकुम बस्नेतलाई पराजित गर्दै निर्वाचित भए।  

मूलतः वर्तमान सत्तागठबन्धनमा बलियो सहकार्य नहुने सम्भावना देखेको एमालेले  जिल्लामा आफ्नो उपस्थिती सम्मानजनक हुने आश देखिरहेको थियो। तथापी अहिलेको निर्वाचनमा गठबन्धनको मत तितरबितर हुनबाट धेरै जोगिएका कारण पनि एमालेका लागि जित सहज नबनेको नेताहरु बताउँछन्।

प्रकाशित: ९ मंसिर २०७९ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App