४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नुवाकोट २ (क)मा गठबन्धनबाट ढुंगाना विजयी

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

विजयी हुनेमा नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुंगाना रहेका छन्। ढुंगाना ४ सय ४८ मतान्तर सहित विजयी भएका हुन्। ढुंगाना १२ हजार १ सय १० मत प्राप्त गरी विजयी भएका हुन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत प्राप्त गरेका छन्।  

उम्मेदवारी दर्ताको समयमा गठबन्धनमा रहेका दलहरुबीच सहमती हुन नसक्दा पार्टीको आधिकारिक पत्र सहित नेपाली कांग्रेसबाट गीता अमात्य र नेकपा (एकिकृत समाजवादी) बाट राजेन्द्र प्रकाश लोहनीले उम्मेदवारी दर्ता गराएका थिए। पछि लोकतान्त्रिक बाम गठबन्धनले ढुंगानालाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेर अमात्य र लोहनीको उम्मेदवारी फिर्ता गर्ने निर्णय भएको थियो। निर्वाचन आयोगले तोकेको समयसिमाभित्रमा उनीहरुको उम्मेदवारी फिर्ता हुन सकेनन्। दुवै जनाले विज्ञप्ति निकालेर आ–आफ्नो उम्मेदवारी निष्क्रिय पारे पनि निर्वाचन आयोगमा उम्मेदवारी कायम रहेको थियो।  मतपत्रमा चुनाव चिन्ह रुख र कलम रहेको कारण उनीहरुको पक्षमा पनि मतदाताले मतदान गरेका छन्। प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसकी गीता अमात्यले ४ हजार ६२ र नेकपा (एकिकृत समाजवादी) का राजेन्द्र प्रकाश लोहनी २ सय ८५ मत प्राप्त गरेका छन्।  

प्रदेश सभा सदस्यको लागि तीन स्वतन्त्र सहित १३ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपेश लामाले २ हजार ८ सय ८४, नेपाल मजदुर किसान पार्टीका श्याम लामाले ६२, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राजन विश्वकर्माले ७४, मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र तामाङले ६४, नेपाली कांग्रेस (वी.पी.) की ईश्वरी बोगटीले ६७, आमूल परिवर्तन मसिहा पार्टी नेपालका प्रेमबहादुर नेपालीले ९६ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारहरु देवेन्द्र न्यौपानेले ५ सय १७, भरत कुमालले ७५ र शम्भु प्रसाद पनेरुले १ सय १२ मत प्राप्त गरेका छन्।

यस प्रदेश निर्वाचन क्षेत्रमा ५९ हजार ४ सय ५३ मतदाता रहेको थियो। मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३३ हजार ८ सय ८९ मतदाताले मतदान गरेका थिए। कुल मत मध्ये ३० हजार ७० मत सदर भएको छ भने १ हजार ८ सय १९ मत बदर भएको छ।  

 

तस्बिरः लोकतान्त्रिक बाम गठबन्धनबाट विजयी भएका माओवादी केन्द्रका रामप्रसाद ढुंगाना।

 

 

प्रकाशित: ८ मंसिर २०७९ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App