४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

दलका शीर्ष नेता निर्वाचित

राजनीतिक दलका शीर्ष नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने केही जितनजिक पुगेका छन्। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको बुधबार घोषित परिणामअनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जित्ने निश्चित भएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जितनजिक पुगेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मतगणनामा अग्रता लिइरहेका छन्। कांग्रेस र एमालेका दोस्रो तहका केही नेतालाई भने परिणाम पक्षमा पार्न सकस देखिएको छ।

कांग्रेस सभापति देउवा डडेलधुराबाट २५ हजार ५३४ मत पाएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए। मुलुकमा २०४८ सालयता संसद् र संविधानसभा सदस्यका लागि भएका सबै निर्वाचनमा देउवा गृहजिल्ला डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्। उनको पछिल्लो जित सातौं हो। देउवा अहिले पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। कांग्रेसका रामचन्द्र पौडेल तनहुँ १ मा अग्रस्थानमा छन्। देउवासहित बुधबार कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा १, अजयकुमार चौरसिया पर्सा २, रमेश रिजाल पर्सा ४, रामहरि खतिवडा ओखलढुंगा, राजेन्द्रकुमार केसी काठमाडौं १०, उदयशमशेर राणा ललितपुर १, शंकर भण्डारी तनहुँ २, हृदयराम थानी सुर्खेत २, दिलेन्द्रप्रसाद बडु दार्चुला र रमेश लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन्।

यसैगरी झापा ५ बाट ५२ हजार ३१९ मत पाएर एमाले अध्यक्ष ओली निर्वाचित भएका छन्। ओलीले २८ हजार ७४३ मतान्तरले कांग्रेसका खगेन्द्र अधिकारीलाई पछि पारे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४३ मत पाए। २०७४ सालको निर्वाचनमा पनि ओलीले कांग्रेसका अधिकारीलाई पछि पार्दै झापा ५ बाट जित निकालेका थिए।

त्यतिबेला एमाले–माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार बनेका ओलीले ५७ हजार १ सय ३९ मत ल्याएका थिए। अधिकारीले त्यतिबेला २८ हजार २९७ मत पाए । ओलीले २०४८ सालयता संविधानसभा सदस्य निर्वाचन २०६४ बाहेक हार बेहोरेका छैनन्। यस अवधिमा मुलुकमा संसद् र संविधानसभा सदस्यका गरी सातवटा निर्वाचन भएका छन्। ओली दुईपटक प्रधानमन्त्री भइसकेका छन्।

ओलीसहित बुधबार एमाले सचिव गोकर्ण विष्ट गुल्मी २, योगेश भट्टराई ताप्लेजुङ, अमरबहादुर रायमाझी उदयपुर २ र देवराज घिमिरे झापा २ बाट निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले गोरखा २ बाट जित्ने पक्का भइसकेको छ। माओवादी केन्द्रका पूर्णबहादुर घर्ती रुकुम पूर्व, देवेन्द्र पौडेल बागलुङ २ र लेखनाथ दाहाल सिन्धुली २ बाट बुधबार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

नेकपा एसका अध्यक्ष नेपाल रौतहट १ बाट निर्वाचित हुने निश्चित भएको छ। एमाले उम्मेदवारभन्दा नेपाल ५ हजार बढी मतले अघि छन्। आयोगका अनुसार बुधबार नेकपा एसका कृष्णकुमार श्रेष्ठ बारा ४ र शेरबहादुर कुँवर अछाम १ बाट निर्वाचित भएका छन्। राष्ट्रिय जनमत पार्टीका अध्यक्ष राउत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै निर्वाचित भएका हुन्।

राउत ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा जसपा अध्यक्ष यादव १६ हजार ९ सय ७९ मा सीमित भए। राष्ट्रिय जनमोर्चाका केसी २१ हजार चार सय ५१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८ सय २५ मत पाए। महोत्तरी ३ बाट उम्मेदवार भएका लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार साँझसम्म अग्रता कायम गरेका छन्। चितवन २ बाट प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पनि जित नजिक पुगेका छन्। कैलाली १ बाट उम्मेदवार बनेकी नागरिक उनमुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि जित निकट छिन्।

निर्वाचन आयोगका अनुसार बुधबार राप्रपाका महामन्त्री धवलशमशेर राणा बाँके २ र नेता ज्ञानेन्द्र शाही जुम्ला, लोसपाका नेता सर्वेन्द्रनाथ शुक्ला रूपन्देही ४, जसपा नेता प्रदीप यादव पर्सा १, स्वतन्त्र उम्मेदवार लालवीर चौधरी बर्दिया २, राष्ट्रि स्वतन्त्र पार्टीका सोविता गौतम काठमाडौं २, शिशिर खनाल काठमाडौं ६, गणेश पराजुली काठमाडौं ७ र विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित भएका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र पराजित भएका छन् भने कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव शंकर पोखरेल, नेकपा एसका नेता झलनाथ खनालसहितका नेता मतगणनामा निकै पछि छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App