१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागलुङको प्रदेश सभामा काँग्रेसको क्लीन स्वीप

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत बागलुङका चार वटै प्रदेश सभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। बागलुङमा राम्रो जनमत भएको नेपाली काँग्रेसले प्रतिनिधिसभाका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ राजमो र क्षेत्र नम्बर २ माओवादी केन्द्रलाई जिम्मा लगाएर चार वटै प्रदेश सभा सदस्यमा उम्मेदवार उठाएको थियो। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका चारै जना काँग्रेस नेताहरुले प्रदेश सभा सदस्यमा निर्वाचन जितेका छन्। बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति दीपेन्द्रबहादुर थापा विजयी भएका छन्।

क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसकै महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदी निर्वाचित भए। नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति जीतबहादुर शेरचनले क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित हुँदा प्रदेश सभा २ बाट काँग्रेसकै महाधिवेसन प्रतिनिधि दोर्णकुमार कुँवर निर्वाचित भए। बागलुङ क्षेत्र नम्बर १ मा उनले एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई  १४७८ मतान्तरले पछि पारे। थापाले  १३ हजार ८ सय ८४ मत  र खत्रीले १२ हजार ४ सय ५ मत पाएका छन्। २०७४ को प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवार तत्कालीन एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटासंग पराजित थापाले दोस्रो पटकमा जित निकाल्दै वर्तमान जिल्ला अध्यक्षसंग हारको हिसाब बराबरी गरे।

संविधान सभा निर्वाचन २०७० काँग्रेसका तत्कालिन जिल्ला सचिव स्वर्गीय हरिबहादुर खड्कासंग पराजित खत्रीले अहिले पुनः काँग्रेसकै निवर्तमान जिल्ला सभापतिसंग पराजय व्यहोरे। बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा २ मा नेपाली काँग्रेसका महाधिवेसन दिल्लीराम सुवेदीले एमाले उम्मेदवार नवराज पौडेललाई ६०६७ मतान्तरले पराजित गरेका हुन्। सुवेदीले १३ हजार ३२० मत ल्याउँदा पौडेलले ७ हजार २५३ मत पाएका छन्। नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सचीव पौडेल स्थानीय निर्वाचनपछि एमाले प्रवेश गरि उम्मेदवार बनेका थिए। बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन्।  

उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई ३१ सय मतान्तरले पराजित गरे। शेरचनले १५ हजार १०८ र घर्तीले १२ हजार ८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार घर्तीलाई एमालेले सघाएको थियोे। २०७४ को आम निर्वाचनबाट क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट तत्कालिन राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसंग पराजय व्यहोरेका जितबहादुरले २०७६ को उपनिर्वाच पुनः राजमोकै खिमविक्रम शाहीसंग पराजित भएका थिए। तेस्रो पटकको प्रयासमा उनी सफल भएका छन्। क्षेत्र नम्बर २ प्रदेश सभा २ मा काँग्रेसका दोर्णकुमार कुँवले एमालेका लक्ष्मण पुनलाई तीन हजार ६३७ मतान्तरले पराजित गरे। कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६ सय ७१ मत मात्र ल्याए।

स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत ल्याउँदा नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २७७ मत, मंगोल नेश्नल अर्गनाईजेसनका  ताराबहादुर घर्तीमगरले २३७ मत पाए। चार वटै प्रदेश सभा सदस्य निर्वाचन जितेपछि बागलुङको प्रदेश सभामा काँग्रेसले क्लीन स्वीप गरेको छ। मतगणना जारी रहेको बागलुङको दुई वटै प्रतिनिधि सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि छन्। क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अग्रता बनाईरहेका छन्। बुधबार बिहानसम्म केसीले १३ हजार ६१४ मत ल्याएका छन्। उनलाई १२ हजार ७१६ मत ल्याएर एमालेका सूर्य पाठकले पछ्याईरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका ५ हजार ६४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ४५०, स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १४३ र नेपाली काँग्रेस वीपीका शिवलाल सापकोटाले ५६ मत ल्याएका छन्। बिहानसम्मको परिणाम अनुसार क्षेत्र नम्बर २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं माओवादी केन्द्रका सचिव देबेन्द्र पौडेलले अग्रता कायम गरेका छन्। पौडेलले १३ हजार ४१३ मत पाएका छन्। नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ११ हजार १५२ मत ल्याएर उनलाई पछ्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले एक हजार २२२, नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १४८, स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले ८७ र जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ७८, स्वन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २२ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App