७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अन्यथा निर्वाचन प्रक्रिया अघि बढ्न नदिइने एमाले अडान

हत्यामा संलग्नमाथि कारबाही र कब्जा बुथमा पुनः मतदानको माग

नेकपा एमालेका संघ र प्रदेश उम्मेदवारहरूले गरेको पत्रकार सम्मेलन। तस्बिर : नागरिक

नेकपा एमालेले चेतन अयडी हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही अघि नबढाए र कब्जा गरिएका मतदान केन्द्रमा पुनः मतदान मिति घोषणा नगरिएसम्म निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढाउन नदिइने बताएको छ। हत्याराको कारबाही र कब्जा बुथमा पुनः मतदान हुनुपर्ने अडानमा नेकपा एमाले देखिएको छ।

नेकपा एमालेका तर्फबाट संघ र प्रदेशसभाका उम्मेदवारले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमार्फत ज्यान सुरक्षाका लागि खाटमुनि लुकिरहेको व्यक्तिलाई तानेर वीभत्स तरिकाले हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने बताएको छ।

प्रहरी प्रशासनको चरम लापरबाही र नेपाली कांग्रेसको पूर्वयोजनाअनुसार नै विद्यार्थी नेता चेतन अयडीको हत्या भएको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी गराएका छन्। प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका थापाले सत्ता र शक्ति प्रयोग गरी जसरी पनि जित्ने मनसायका साथ हत्या भएको र १७ मतदान केन्द्रको बुथ नै कब्जा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी आधारभूत विद्यालयको मतदानस्थलमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जीव अयडीको मृत्युको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी आवश्यक क्षतिपूर्ति दिनुपर्ने एमालेतर्फका पाँचैजना उम्मेदवारले माग गरेका छन्।

बुुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः मतदान गर्नुपर्ने एमालेको अडान छ। एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १६ वटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो।

‘धाँधली र बुुथ कब्जा भइरहेका मतदान केन्द्रहरूको मतदान प्रक्रिया स्थगित गर्न हामीले दिउँसै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिसकेका थियौं तर वास्तै गरिएन। मतदान स्थगित भएको भए त्रिवेणीका दुुईजना युवाको ज्यान जाने नै थिएन’, पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य थापाले भने।

विद्यार्थी नेता अयडीलाई घरबाट निकालेर कुटीकुटी हत्या गरिएको घटनाको सम्पूर्ण जिम्मेवारी कांग्रेस बाजुरा र उसका उम्मेदवारहरूले लिनुपर्ने थापाको भनाइ छ। हत्यामा संलग्न रहेको भन्दै २२ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको छ।

घाइते व्यक्तिलाई लछारपछार गर्दै घरबाहिर निकालेर क्रूर ढंगले कुटपिट गर्नु हत्या हो। किटानी जाहेरी गरिएका २२ जनालाई तत्काल पक्राउ गरी कानुुनी कारबाही गर्नुपर्छ। त्यसो भएन भने बाजुराको निर्वाचनमा बाँकी रहेका कुनै पनि प्रक्रिया अगाडि नबढाउने र घटनाले अर्को रूप लिन सक्ने संकेत थापाले गरेका छन्।

प्रहरी प्रशासनले एमाले उम्मेदवार र सिंगो पार्टीले उठाएको विषयमा गम्भीर नभए त्यसपछि हुने घटनाको सम्पूर्ण जिम्मेवारी कांग्रेस र प्रहरी प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिएका छन्। एमालेका उम्मेदवारहरूले १६ मतदान केन्द्रमा पुनः मतदान मिति तोकिनुपर्ने जनाएको छ।

नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा प्रदेशसभा २ उम्मेदवार लालबहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव तथा प्रदेशसभा १ उम्मेदवार बलदेव रेग्मी, बाजुरा जिल्ला पार्टी कार्यालय सचिव तथा प्रदेशसभा समानुपातिक उम्मेदवार काशी विकले संयुक्त पत्रकार सम्मेलन गरेका हुन्।

नेकपा एमालेले कांग्रेसबाट बुथ कब्जा गरिएका त्रिवेणी नगरपालिका २, ३, ७ र ८; खप्तड छेडेदह गाउँपालिका २ र ४; बुढीगंगा नगरपालिका ४, ७ र ८; बुढीनन्दा नगरपालिका ५, ७ र ९; हिमाली गाउँपालिका ५ र ६; स्वामिकात्र्तिक खापर गाउँपालिका ३; जगन्नाथ गाउँपालिका २ र ४ गरी १७ वटा वडाको सिंगो मतदान प्रक्रिया रद्द गरी पुनः मतदान मिति तोक्न माग गरेको छ; अन्यथा कुनै प्रक्रिया अघि नबढ्ने चेतावनी दिएको छ।

नेकपा एमालेले बुढीगंगा नगरपालिका ८ को गिरीखेल्ने आधारभूत विद्यालयको मतदान केन्द्रमा एमालेका जिल्ला कमिटी सदस्य तथा नगर प्रमुख रामबहादुर बानियाँलाई ज्यान मार्ने उद्देश्यले नेविसंघका कार्यकर्ता योगेन्द्र रावलले टाउकोमा छुरी प्रहार गरेको घटनाको छानबिनसहित प्रक्रिया अघि बढाउन माग गरेको छ।

यस्तै त्रिवेणी नगरपालिका ८ को मतदान केन्द्रमा कांग्रेस कार्यकर्ता नरेश थापा, चक्र थापा, तिलक रावल, सुरेश थापा र आकाश थापाले एमालेका मतदाता प्रभु गिरीमाथि खुकुरी प्रहार गरिएको घटनाका दोषीलाई पक्राउ गरी कारबाहीको माग गरेको छ।

 

प्रकाशित: ७ मंसिर २०७९ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App