१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘नेतासँग मतदाता ‘फ्रस्टेट’ हुँदा राजनीतिले सम्मान पाएको छैन’

योगेश गौचन, प्रतिनिधिसभा सदस्य, मुस्ताङ

प्रतिनिधिसभाका लागि विजयी हुने उम्मेदवारमध्ये मुस्ताङका योगेश गौचन सबैभन्दा कम उमेरका उम्मेदवार हुन्। २९ वर्षीय कांग्रेस उम्मेदवार गौचनलाई निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा धेरैलाई उनको विजयप्रति शंका थियो। हुन त योगेश सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका व्यक्ति हुन्, तर देशको जनमतले युवाको खोजी गरिरहँदा गौचनका अघिल्तिर ठूलै चुनौती थिए किनकि पाको उमेरका एमाले उम्मेदवार प्रेम तुलाचनका अघि गौचनको जोर चल्दैन भन्ने धेरैको अनुमान थियो।पछिल्लो पुस्ताको परिवर्तन खोज्ने चाहना अनुसार नै गौचन निर्वाचित भएका छन्।

मुस्ताङको राजनीतिमा लामो अनुभव बटुलेका कांग्रेस नेता रोमी गौचन थकालीका छोरा योगेश गौचनले खसेको ७ हजार २ सय ३० मतमध्ये ३ हजार ९ सय ९२ मत पाएका छन्। उनले ६९ वर्षीय एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका छन्। यसै सेरोफेरोमा गौचनसँग नागरिककर्मी सन्तोष पोखरेलले गरेको कुराकानीको सार:

देशैभर निर्वाचनको मतगणना हुँदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङले २९ वर्षीय युवालाई विजयी गराउन सकेको छ; कस्तो अनुभव गर्नुभएको छ?

-विजयी हुँदै गर्दा यो मेरो अनुभव व्यक्तिगत रूपमा मात्र सीमित गर्न चाहन्न। युवा पिँढीभन्दा पनि नेपालको राजनीतिक वातावरणमा सक्षम युवा, महिला, दलित, भोटे वा जोकोही पनि हुन सक्छन्; उनीहरूले क्षमता र दक्षताले भ्याएसम्म राजनीति गर्ने वातावरण बन्नुपर्छ भन्ने मेरो मान्यता छ। त्यो संस्कार राजनीतिमा भित्र्याउनुपर्छ भनेर सानै उमेरमा पार्टीलाई माध्यम बनाएर मैले राजनीतिक चेतनाको जागरण चलाएको थिएँ। त्यहीअनुसार मैले उम्मेदवारी दिएको थिएँ। मेरो चुनावी नारा पनि राजनीतिक संस्कारबारे थियो। दक्षता र क्षमताले भ्याएसम्म राजनीति गर्ने माहोल सबैका लागि हुनुपर्छ भन्ने मेरो पहिलेदेखिको सोच हो।

मुस्ताङका मतदाताले के फरक क्षमता देखेर तपाईंलाई मत दिएजस्तो लाग्छ?

-म सानो उमेरमा राजनीतिक घर/परिवारमा जन्मेको र बुबाको प्रत्यक्ष राजनीतिक क्रियाकलाप बुझेर हुर्किने मौका पाएको व्यक्ति हुँ। यो बीचमा मैले जनताको कुरा बुझ्ने मौका पाएँ। मैले यो पटक पहिलो राजनीतिक प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिएको भए पनि राजनीतिक क्षेत्रमा मेरो आगमन नौलो भने होइन। हिजो मैले आफ्नै किसिमले समाजसेवाको काम गरेको थिएँ। अब जनप्रतिनिधिका रूपमा भूमिका खेल्ने जिम्मा पाएको छु। अहिलेको माग अनुसार भएको ट्रेन्डलाई थोरै भए पनि ब्रेक गरेर भोलि सबैका लागि वातावरण बनाउनका लागि अठोट लिएकाले मेरो नारा मन पराएर धेरै मतदाताले मत दिएका छन्।

मुस्ताङका मतदाताले तपाईंबाट के अपेक्षा राखेका छन्?

-मुस्ताङका जनतामाझ मैले इमानदारीका साथ भन्नुपर्छ-दलका नेतासँग मतदाता धेरै नै ‘फ्रस्टेड’ छन्। त्यसैले आजको दिनसम्म राजनीतिलाई सम्मान दिइएको छैन। तर अब हामीजस्ता युवा आगमनले राजनीतिलाई आशाको किरण र सम्मानित ढंगले हेर्ने अपेक्षा छ। त्यही भएर युवा उमेरमा जिम्मा पाएको हुँ। पार्टीले पनि मलाई जिम्मा दिएको हो। म पछाडि हटिनँ। भौतिक पूर्वाधारको विकासलाई मात्र विकासको मानक मान्नु भएन। त्यसो भन्दै गर्दा विकास पनि आवश्यक नभएको होइन तर मानव संसाधन पनि आवश्यक छ। त्यसैले जोकोहीले पनि राजनीति गर्ने माहोल बनाउनुपर्छ भनेर युवा जागरण अभियान चलाएर अघि बढेको थिएँ। त्यसैमा मलाई सफलता मिलेको छ।

निर्वाचित जनप्रतिनिधिको हिसाबले तपाईंले मुस्ताङलाई कसरी बुुझ्नुभएको छ?

-मुस्ताङ सबैभन्दा विकसित हिमाली जिल्ला बनेको छ। मुस्ताङको पूर्वाधार विकास र यहाँका जनताको चेतनाको विन्दुमा कुरा गर्ने हो भने अरू हिमाली र दुर्गम जिल्लाभन्दा फरक छ र मुस्ताङले फट्को मारेको छ। यो क्रममा हिजोआज बुझ्दा मान्छेलाई भौतिक पूर्वाधार विकासभन्दा पनि उनीहरूको मागका आधारमा चाहनाबमोजिम नीति निर्माण गरेर योजना बनाउने हो। राजनीतिले गर्दा जनता आजित भएका छन्। आगामी दिनमा जनप्रतिनिधिसँगको सामीप्यमा रहेर विकासका योजना खाका कोर्ने हो। उनीहरूसँग सँगैसँगै हिँड्ने हो।

मुस्ताङका जनताले जनप्रतिनिधिसँग कस्ता माग राखेका छन्?

-बाटोघाटोको कुराबाहेक मुस्ताङको हकमा माथिल्लो क्षेत्रमा युवा पलायन डरलाग्दो छ। उपल्लो मुस्ताङका काम गर्न सक्ने क्षमता भएका युवा आकर्षण विदेश पलायनमा छ। उपल्लो मुस्ताङका बासिन्दाको मूल चिन्ता नै बिदेसिएका छोराछोरीलाई आफ्नै गाउँमा बस्ने वातावरण बनाउन सकिन्छ भन्ने छ। त्यसका लागि अहिलेका जनप्रतिनिधिले योजना बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा जनप्रतिनिधिले राखेका छन्।

पाको उमेरका प्रतिस्पर्धीलाई पराजित गर्न कत्तिको गाह्रो हुने रहेछ?

-राजनीति एउटा संस्कार हो। राजनीति कला हो र राजनीति मिसन पनि हो। कसैलाई हराउन र कसैको विरुद्धमा, बर्खिलापमा उपयोग गर्नु हुँदैन भनेर म हुर्केको हुँ। मतदाता राजनीतिक रूपमा डिभाइडेड छन्। हामी जस्ता युवाले पनि पुरानै राजनीतिक संस्कार बोक्ने हो भने भोलि युवा आएर के गर्ने भन्ने हुन्छ। त्यसैले मैले राजनीति माध्यम बनाएको हुँ। राजनीतिक दल माध्यम हो। युवा पिँढीलाई मौका दिनुस् भनेको हुँ। मुस्ताङको यो तहको नेतृत्व युवा पिँढीले पाएको छ। हामीमा भएको नयाँ सोच रचनात्मक कार्यसम्पादन शैली मतदातासामु पस्कनका लागि एकपटक मौका दिनुस् भनेको थिएँ। मेरो कुराप्रतिको आकर्षण नै विजयोत्सवको कारण हो।

बुबाको लामो राजनीतिक अनुभवले चुनाव जित्न कत्तिको सहज हुने रहेछ?

-पक्कै पनि बुबाको राजनीतिक सम्बन्धमा कतै न कतै प्रत्यक्ष र परोक्ष ढंगले सकारात्मक प्रभाव त पारिहाल्छ। सकारात्मक रूपमा काम गर्दाेरहेछ। घर/परिवारको सदस्य भएकाले प्रत्यक्ष सहयोग त हुने नै रहेछ। तर बुबाको राजनीति र सहयात्री मात्र नभई आफू पनि भ्रातृ संगठनमा रहेर राजनीतिमा भूमिका निभाएको थिएँ। भ्रातृ संगठनमा रहँदै जिल्ला कार्य समिति सदस्य हुँदै राजनीतिमा अघि बढेको छु। म महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र प्रदेश कार्य समिति सदस्य एवं कार्य सम्पादन समिति सदस्य पनि हुँ।

देशभर मतदाताले पछिल्लो समय युवा नेतृत्व खोजेका छन्। तपाईंचाहिँ युवाको चाहना कसरी बुझ्नुहुन्छ?

-युवाको परिभाषा उमेरसँग मात्र जोडिनु हुँदैन। सोचमा तरुण छ भने उसलाई युवा मान्ने कि नमान्ने भन्ने हो। त्यही अनुसार युवाको सोचाइलाई कसरी लिने भन्ने नै महत्वपूर्ण रहन्छ।

प्रकाशित: ६ मंसिर २०७९ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App