आइतबार सम्पन्न आम निर्वाचनका क्रममा बाजुरामा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना सर्वसाधारण र एकजना सुरक्षाकर्मी छन्। बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जीव अएडीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने सुरक्षाकर्मीको भने आइतबार अबेरसम्म परिचय खुल्न सकेको छैन। विवादका कारण बाजुराका ६ वटा केन्द्रमा मतदान स्थगित भएको छ। बाजुरासहित २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा झडप र विवाद भएको छ।
जसका कारण मतदान प्रक्रिया प्रभावित भएको छ। नेपाल प्रहरीका निमित्त प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुुसार झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ जिल्लाको २४ स्थानमा गोली चलाएको थियो।
‘विवाद भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो,’ एसएसपी कार्कीले भने। प्रहरीका अनुसार रौतहट, मोरङ, सिरहा, चितवन, दोलखा, बाजुरा, हुम्ला, डोटी, ताप्लेजुङ, डोल्पा लगायत जिल्लाका विभिन्न मतदानस्थल र केन्द्रमा झडप र विवाद भएको थियो। प्रहरीका अनुसार सबैतिर गरी करिब १०० राउन्ड गोली चलेको छ।
दोलखामा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले सत्ता गठबन्धनबाट बुथ कब्जा गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका छन्। उनले पाँच स्थानमा बुथ कब्जा भएको भन्दै उजुरी गरेका हुन्। दोलखाको तामाकोसी गाउँपालिका–२ जफेको कालापनी र जामुने मतदान केन्द्रमा सत्ता गठबन्धनका नेता–कार्यकर्ताले विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको उजुरीमा भनिएको छ।
त्यस्तै वडा नम्बर ४ को मालु मतदान केन्द्र पनि सत्ता गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएको भन्दै विवाद भएपछि १३ राउन्ड हवाई फायर गरिएको छ। त्यहाँ एमालेका बुथ प्रतिनिधिमाथि आक्रमण भएको थियो। आक्रमणमा परेका ती प्रतिनिधि घाइते भएका छन्। जिरी नगरपालिकाको ठुलोपातालमा पनि बुथ कब्जाको प्रयास भएपछि प्रहरीले हवाई फायर भएको थियो।
सिरहाको कर्जन्हा नगरपालिका–६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा पनि प्रहरीको गोली चल्यो। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। रौतहटका दुई मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले गोली चलाएको जनाइएको छ। रौतहटको गुजरा नगरपालिका र गरुडामा पनि गोली चल्यो। गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउन्ड र गरुडाको प्रावि भवन अमरपट्टी मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको प्रहरीको भनाइ छ।
प्रकाशित: ५ मंसिर २०७९ ०२:१४ सोमबार