५ माघ २०८१ शनिबार
image/svg+xml
कला

ध्यान सारा समस्याको समाधान

साधना

मध्य पुसको एक दिन मध्यान्हतिर फाँटको छेउछाउमा पराल ओछ्याएर पारिलो घाम ताप्दै ध्यानस्थ हुन पुगेको थिएँ। ध्यानबाट बाहिर आउँदा अलिक पर एकजना युवक बसिरहेको देखें। मुसुमुसु हाँस्दै प्रणाम मुद्रामा नजिकै आएर उनले सोधे, ‘प्रायः म तपाईंलाई यही अवस्थामा देख्छु नि ?’

‘हो, तपाईंले सही देख्नुभएको हो। म पारिलो घाम ताप्नका लागि यहाँ आउँछु। पारिलो घामको आनन्द लिनका लागि पनि ध्यानस्थ हुन मन लाग्छ।’

फाँटमा वरपर बसिरहेका मानिस देखाउँदै उनले फेरि सोधे, ‘यहाँ आउने सबैजसो गफिइरहेका छन्, तर तपाईं एक्लै मौन रहनुहुन्छ नि?’ ‘हेर्नुस्, उनीहरूले यहाँ बसेर जति कुराकानी गर्छन्, तीमध्ये ९० प्रतिशत फाल्तु हुन्छन्। उनीहरू मात्र होइन, तपाईं र म दिनभरि यहाँ बसेर गफ गर्‍यौं भने बढी त फाल्तु नै हुन्छन्। बरु एक्लै बस्दा घामको आनन्द सबैभन्दा बढी मिल्छ, योचाहिँ पक्का हो,’ मेरो जवाफ सुनेर उनी मुस्कुराइरहे।

‘दुई साता यता म जीवन विज्ञान प्रयोगशाला आइरहेको छु। तपाईंले योगक्रिया गराउँदा पटकपटक आनन्द भावका साथ गरौं भन्नुहुन्छ, यसको कारण बताइदिनुस् न,’ उनको प्रश्नको जवाफ दिँदै मैले भनें, ‘आनन्द भावमा गरिएको योगक्रियाबाट बढी लाभ मिल्ने भएकाले पनि मैले यसमा जोड दिएको हुँ।’ ‘तपाईंले भनेअनुसार म पनि घरमा ध्यान बस्न थालें, तर बस्नै सक्दिनँ। बस्यो कि मनमा अनेक कुरा खेल्न थालिहाल्छ, आनन्द भाव त आउँदै आउँदैन किन?’

‘तपाईंले जुन कुरा बताउनुभयो, त्यसबाट के बुझिन्छ भने शारीरिक या मानसिक या दुवै रूपमा तपाईंमा समस्या छ। जहाँ समस्या हुन्छ त्यहाँ आनन्द कसरी मिल्ला र?’ उनले मन खोलेर भने, ‘तपाईंले ठिक भन्नुभयो। मलाई युरिक एसिड छ। सुगर पनि देखिएको छ। केही दिनयता तनाव हुन थालेपछि एक दिन मेडिकलमा जाँच गराएँ। कोठामा फर्कंदै गर्दा साथीसँग भेट भयो। उनले यतै योगशाला छ, नियमित जाने गर्नुभएमा तपाईंका समस्या हल हुँदै जान्छन् भन्ने सल्लाह दिनुुभएपछि म योगशाला आउन थालेको हुँ।’

‘पहिलेभन्दा केही सुधार भएको छ त ?’, मैले सोध्दा उनले जवाफ दिए, ‘धेरै सुधार भएको छ। सामान्य समस्या अझै छ। पन्ध्र दिनअघिको अप्ठ्यारो अवस्थाबाट भने म मुक्त भएको छु। नियमित योगशाला आउँदा समस्याहरूबाट मुक्त हुन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।’

 ‘के अब तपाईं नियमित योगशाला आउनुहुन्छ त?’, यसको जवाफ बाँकी नै राखेर उनले प्रतिप्रश्न गरे, ‘तपाईं योगक्रिया गराइसकेपछि अन्त्यमा ध्यान पनि गराउनुहुन्छ, ध्यान त योगीहरूले गर्छन् हैन र ?’ मैले हो भनें।

उनले तत्काल जवाफ दिए, ‘त्यसो हो भने त म भोलिदेखि ध्यानमा बस्दिनँ।’ मैले किन भनेर सोध्दा उनले यस्तो जवाफ दिए, ‘परिवार र समाजमा बस्ने मानिसका लागि ध्यान चाहिँदैन। काम गरेर खाने वर्गका मानिसले ध्यान गरेको कतै पनि देखिँदैन। यो त बुढेसकालमा गर्ने काम हो। त्यसकारण म पनि ध्यान गर्दिनँ।’

यतिखेर तपाईंका दृष्टिमा तपाईंको भनाइ सही होला, तर मेरो दृष्टिमा यो अल्पज्ञान हो। अब प्रत्येक व्यक्तिका लागि ध्यान अनिवार्य भइसकेको छ। सुरुमा तपाईंले जुन आफ्ना समस्या बताउनुभएको थियो, ती योग र ध्यानको अभावले भएका हुन्। फेरि सोधें, ‘केही महिनाअगाडिदेखि नियमित योगशालामा आउने गर्नुभएको भए तपाईंमा के यी समस्या आउँथे होलान्?’

‘विगत १५ दिनको अनुभवले नआउने रहेछन्’, मेरो प्रश्नको जवाफ दिएपछि उनलाई फेरि सोधें, ‘तपाईं बिहान यहाँ आउन थालेको १५ दिन भयो, यस बीचमा दैनिक जीवनयापनका लागि गरिने कर्ममा कुनै व्यवधान आयो त ?’ उनले जवाफ दिए, ‘अहँ आएन। बरु सहज रूपमा काम गर्न सकें। काम गर्दा पहिलेजस्तो दिक्क लाग्न छाडेको छ।’ हामीजस्ता काम गरी खानेहरूका लागि सुतेर बिताइने डेढ घन्टाको समय योगशालामा लगानी गर्दा राम्रै हुने रहेछ।’

पहिलापहिला मलाई दुईतीन महिनाको फरकमा खोकी लागिरहन्थ्यो। खोकी निको हुनका लागि कडा औषधि खानुपथ्र्यो। योगशाला आउन थालेपछि ६ महिना, वर्ष दिनमा एकाधपटक सामान्य खोकी मात्र लाग्छ। विगतका आफ्ना अनुभव सुनाएपछि मैले सोधें, ‘भाइ, अस्पतालहरूमा उपचार गर्न आउने सबैजसो मानिस तपाईंहामीजस्ता छन्, योगी र जोगी आएको देख्नुभएको छ ?’

उनले अहिलेसम्म नदेखेको जवाफ दिए। उनले फेरि भने, ‘म काठमाडौं र बाहिरका ठुलाठुला अस्पतालहरूमा आफैं उपचार गर्न र बिरामी भेटघाट गर्न पुगेको छु। ती अस्पतालमा जहिले जाँदा पनि बिरामी र कुरुवाको भिड देखिन्छ तर योगी र जोगीहरूलाई देखिँदैन।’ मैले भनें, ‘यसको एउटै कारण योग र ध्यानले हो। उनीहरू दैनिक योग, प्राणायाम र ध्यान गरेर स्वस्थ छन्। त्यसैले उनीहरूलाई अस्पताल र औषधि नै चाहिँदैन। कहिलेकाहीं बिरामी भए भने सामान्य जडिबुटीले नै ठिक हुन्छ। यसबाट के स्पष्ट हुन्छ भने अब तपाईंहामी स्वस्थ रहन बुढेसकालमा होइन, आजैदेखि युवावस्थामै सबैले योग र ध्यान अनिवार्य गर्नुपर्छ। तपाईंले ध्यानले जोगी बनाउँछ भन्नुभएको थियो, बरु ध्यानले जोगी हुनबाट बचाउँछ।

उनले सोधिहाले, ‘कसरी ?’ उनको प्रश्नको जवाफ दिँदै मैले फेरि भनें, ‘जाँड र रक्सी पिएर बाटोमा जोकोहीसँग अपशब्द बोल्ने, गाली गर्ने, घरमा पुगेर श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने, कुलतमा लागेर अभिभावक रुवाउने, सिंगो घरपरिवारलाई आँसुको पोखरीमा डुबाउने र शारीरिक तथा मानसिक रूपमा अरूलाई तनाव दिनेहरू को हुन् ? जुवातास खेलेर धनसम्पत्ति स्वाहा पारी सिंगो परिवारलाई हरितन्नम बनाइदिनेहरू पनि उत्तिकै छन्। बरु उनीहरूचाहिँ जोगी होइनन् ?’

तपाईंले पनि यस्ता घटना देख्नुभएको होला। मेरो जवाफमा उनले भने, ‘छ। किन नहुनु ? कति छन् कति ? कतिपयका घरमा सासू–बुहारीबीच भनाभन र छेडछाड गरेको देख्छु। म बसेको छिमेकी घरमा सधैंजसो लोग्ने–स्वास्नीबीच भनाभन र कुटाकुट हुन्छ। बा–आमाको झगडा देखेर वाक्क भई उनीहरूको एउटा छोरा घर छाडेर हिँड्यो, वर्ष दिन भयो, घर फर्किएको छैन। मेरो घरबेटीको भाइबुहारी एउटै युवा छोरा कुलतमा लागेर बिग्रियो भनेर तनावमा छन्। उनीहरूका आँखामा हरेक दिन आँसु देख्छु।’

भाइ, नियमित रूपमा योगशाला आउन थालेपछि शारीरिक रोगका साथै मानसिक तनाव पनि कम हुँदै गएको तपाईं आफैंले प्रत्यक्ष महसुस गर्नुभयो। चिकित्सकले सिफारिस गरेको औषधी सेवनले रोग निको त हुन सक्ला, तर पूर्ण स्वस्थचाहिँ हुन्छ भन्न सकिन्न। यहाँ आएर नियमित गरिएको योगाभ्यासले तत्कालीन रोग त निको हुँदै जान्छ नै, नदेखिने रोगहरू पनि निको हुन्छन्। दिनभरको दौडधुप र परिश्रमका लागि चाहिने ऊर्जा पनि प्राप्त हुन्छ। थकानको महसुस कम हुन्छ। बुढेसकालमा ऐया ! उफ् ! हँहँहँ...! गर्नुभन्दा आजैदेखि स्वस्थ जीवन बाँच्नु राम्रो होइन र?

तपाईंलाई कस्तो परिवार र समाज होस् भन्नुहुन्छ भनेर सोध्दा उनको जवाफ थियो, ‘शान्त, हाँसीखुसी, मिलेर बसेको उन्नत समाज। के यस्तो समाज देख्न पाइन्छ होला?’ मैले उनलाई विश्वस्त पार्दै बताएँ, ‘योग र ध्यानले मात्र तपाईंले भनेजस्तै व्यक्ति, परिवार र समाज बनाइदिन्छ। शान्त र निरोगी बनाइदिन्छ।

सबैले योग र ध्यानलाई जीवनको अंग बनाएको अवस्थामा घरपरिवार र समाजमा झगडा, विवाद, कुटपिट, जुवातास, कुलत जस्ता घटना विरलै होलान्।’ जीवन विकास विशेषज्ञ रमेश नेपाल भन्छन्, ‘प्रत्येक व्यक्तिलाई जगाइदिने, ब्युँझाइदिने काम योग, प्राणायाम र ध्यानले मात्र गर्न सक्छ।’

भाइ, यो योगशाला तपाईंहाम्रा लागि स्थापित भएका हो। समाजका आम मानिस स्वस्थ र निरोगी हुन सकून् भन्ने उद्देश्य राखेर जीवन विज्ञानले ठाउँठाउँमा योगशाला सञ्चालन गरेको हो। यो कहिल्यै बन्द हुँदैन। आफू बसेको वरिपरि योगशाला पाउनुभएको छ, यो तपाईंका लागि सौभाग्य हो। यसको पूर्ण सदुपयोग गर्न सकेमा तपाईंलाई सोचेभन्दा सुन्दर जीवन पाउनु हुनेछ। योग र ध्यानमा यस्तो शक्ति छ। जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा भन्छन्, ‘ध्यानको गहिराइमा सारा समस्याको समाधान भेट्न सकिन्छ।’

‘तपाईं आफ्नो जीवन कस्तो होस् भन्ने चाहनुहुन्छ ?’ मेरो प्रश्नको जवाफ दिँदै ती साधकले भने, ‘जीवनभर स्वस्थ र निरोगी भएर बाँच्ने मन छ।’ मैले विश्वस्त तुल्याउँदै भनेँ, ‘तपाईं नियमित योगशाला आउनुस्, तपाईंको यो इच्छा पूर्ण हुन्छ। तपाईं परिवार, छोराछोरी र समाजका साथमा बसेर कर्मशील, सिर्जनशील, स्वस्थ र आनन्दमय जीवन जिउने सामाजिक व्यक्ति बन्नुहुन्छ।’ जीवन विकास विशेषज्ञ नेपाल फेरि भन्छन्, ‘मानव जीवनका लागि स्वस्थ भएर बाँच्नुजस्तो ठुलो अर्को धर्म छैन।’

प्रकाशित: ५ माघ २०८१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App