१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौँ,भक्तपुर र ललितपुरमा मतगणना सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ। भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो।  

आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो। निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।  

जसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए।  

भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा ९एमाले०कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ।  

भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ। कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिए। चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो।  

निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन्। प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो।  

भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

ललितपुर ३ मा मतगणना सुरु

ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो।  

ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ। अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ।  

सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।  

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।  

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए। काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ। 

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।  

यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।  

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।

प्रकाशित: ५ मंसिर २०७९ ००:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App