१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

पोखरा भित्रका विभिन्न मतदानस्थलको तयारी गर्दै कर्मचारी। तस्बिरः उमेश पुन/नागरिक

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन्। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ। 

आईतबार हुने निर्वाचनका लागि कास्कीमा १५० मतदान स्थल रहेका छन। जसमध्ये ५० वटा मतदान स्थल सामान्य, ५० वटा मतदान स्थल संवेदनशील र अन्य ५० वटा मतदान स्थल अति संवेदनशील रहेको श्रोतको दाबी छ।

सामान्यतया सहरमा रहेका मतदान स्थलहरुलाई सामान्य, सहर उन्मुख क्षेत्रमा रहेका मतदान स्थलहरुलाई संवेदनशील र ग्रामिण र अति ग्रामिण (दुर्गम) क्षेत्रमा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील भनेर सुरक्षा निकायले मतदान स्थलहरुको वर्गिकरण गरेको छ। त्यसबाहेक विगतका निर्वाचनमा समस्या आएका मतदान स्थललाई पनि अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको छ। सुरक्षा मापदण्डका आधारमा मतदान स्थलको वर्गिकरण गरेपनि कास्कीमा खासै सुरक्षा चुनौति नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। 

कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छरे गाउँपालिकाका ग्रामिण क्षेत्रका मतदान स्थलहरु अति संवेदनशील मतदान स्थलका रुपमा हेरिन्छ। सुरक्षा निकायको नियमित निगरानीमा नरहेका, सवारी साधनको सहज पहुँच नभएका क्षेत्रमा रहेका मतदान स्थल तथा विगतका निर्वाचनमा समस्या देखिएका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको प्रहरी श्रोत बताउँछ। 

कास्की प्रहरीले कास्कीमा सुरक्षा थ्रेट नरहेको बताएको छ। यद्दपी कास्कीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतलाई प्रमुख चुनौतिका रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। तर अहिलेसम्म उनीहरुपनि शान्तिपूर्णबाहेक अन्य गतिविधिमा नरहेको उनको दाबी छ। तैपनि सुरक्षा निकायले उनीहरुको गतिविधिलाई निगरानीमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको उनको भनाई छ। त्यसबाहेक चुनावमा भाग लिएका पार्टीहरुबीच हुनसक्ने झडप, पार्टी भित्रको गुटको अस्वस्थ प्रतिस्पर्धा पनि सुरक्षा चुनौतिका रुपमा आउनसक्ने भएकाले त्यसलाईपनि मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाएको सिडिओ केसीले बताए।

कास्कीमा सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था कायम गरिएको छ। कास्कीमा एउटा मतदान स्थलमा ८ देखि ३२ जनासम्म सुरक्षाकर्मी खटाईएको छ। जस अनुसार पहिलो घेरामा प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछन्। 

कास्कीमा प्रतिनिधि सभाका ३ निर्वाचन क्षेत्र र प्रदेशका ६ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ १५० मतदान स्थलमा ३४४ मतदान केन्द्र रहेका छन्। प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाइएको छ भने कुल २ हजार ७ सय ५८ कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना सहयोगी हुन्छन्। २ अस्थायी मतदान केन्द्रमा भने ३–३ जनाका दरले कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ। कास्कीमा प्रतिनिधि सभाका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App