१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अपराधीको हातमा हतियार बोकाएर देशलाई चुनावमा होम्ने षड्यन्त्र हुँदैछ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रहरीका १२ सय थान हतियार र करिब एक लाख गोली अपराधीहरूको हातमा पुगेको दाबी गर्दै यस्तो अवस्थामा सरकारले चुनावको बहाना गरिरहेको आरोप लगाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले देशको सुरक्षा अवस्था अत्यन्तै भयावह रहेको सुनाए।

‘यो सामान्य कुरा होइन, प्रहरीका १२ सय हतियार लुटिएका छन्,’ अध्यक्ष ओलीले भने, ‘अपराधीको हातमा आज १२ सय हतियार छ, मजाक होइन यो।’

साथै, साढे पाँच हजार कैदीबन्दीहरूलाई अदालतले अपराधी ठहर गरिसकेको अवस्थामा जेलबाट भगाइएको र उनीहरू अहिले खुला रूपमा बाहिर रहेको उनको भनाइ छ।

यस्तो गम्भीर सुरक्षा चुनौतीका बीच सरकारले राजनीतिक दलहरूलाई चुनावमा जान नदिने र आफैँ मात्रै सहभागी भएर चुनावको नाटक मञ्चन गर्न खोजेको ओलीले आरोप लगाए।

उनले भने, ‘हतियार बोकेर चुनाव गराउने ? राजनीतिक दलहरूलाई चुनावमा जान नदिने ?’ उनले यस्ता गतिविधि जनतालाई झुक्याउने र ठग्ने प्रयास मात्र भएको टिप्पणी गरे।

ओलीले आफूलाई घर जलाइएको ठाउँमा समेत जान नदिइएको र काठमाडौँ उपत्यकाभित्रै भक्तपुरमा बैठक गर्न रोक लगाइएको भन्दै सरकारको अधिनायकवादी शैलीको आलोचना गरे। उनले भने, ‘मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कट्ने होइन, नेपालको सरहदभित्र जहाँ पनि पुग्न जानेछु।’

उनले वर्तमान सरकार असंवैधानिक भएको जिकिर गर्दै यस्तो सरकारलाई देश जिम्मा लगाएर आफूहरु विदेश नभाग्ने स्पष्ट पारे। ‘हामी त देश भित्र बसेर, जेलमा बसेर होस् कि भूमिगत बसेर होस् कि जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका हौँ,’ उनले भने।

ओलीले फागुन २१ मा चुनाव गराउने हल्ला चलाएर सरकारले दुनियाँलाई ढाँटिरहेको बताउँदै विघटित संसद्को पुनर्स्थापना नै एकमात्र विकल्प भएको दोहोर्याए।

प्रकाशित: १ कार्तिक २०८२ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App