२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर)

तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ पर्व सुरु भएसँगै  विराटनगरका घाटहरू सजाउन  थालिएको छ। छठ पर्वका लागि विराटनगरका खोला, नहर तथा पोखरी किनारमा रहेका घाटहरू सजाउन थालिएको हो। 

पर्वलाई व्यवस्थित र भव्य बनाउन स्थानीयवासी तथा विभिन्न छठ पूजा समितिहरू तयारीमा जुटेका छन्। छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ। 

घाटलाई आकर्षक बनाउन सरसफाइसँगै विद्युत् बत्ती, पण्डाल र अन्य सजावटका सामग्री राख्न थालिएको छ। पर्वका बेला श्रद्धालुहरूको भीड लाग्ने भएकाले घाटमा आवश्यक व्यवस्थापन मिलाउन स्थानीयवासी सक्रिय भएका छन्। विराटनगरका घाट जाने सडकहरूमासमेत स्वागतद्वारहरू बनाउन थालिएको छ। 

सूर्यदेव र छठी माताको उपासना गरिने छठ पर्व धार्मिक आस्था, शुद्धता, अनुशासन र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो।  यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ।  परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरू छठको व्रत बस्ने गर्छन्। 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय-खायबाट विधिवत् सुरुवात हुन्छ।  दोस्रो दिन खरना गरिन्छ भने तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ। 

छठमा व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ व्रत बस्ने गर्छन्।  ठेकुवा, फलफूल, उखु, नरिवललगायतका प्रसाद सूर्यदेवलाई अर्पण गर्ने चलन छ। छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यलाई पनि बलियो बनाउँदै आएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App