२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

मकवानपुरको चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय हाइस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका १३ जनाको सामूहिक दाहसंस्कार गरिने तयारी भएको छ।

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

मधेस प्रदेशसभा सदस्य एवं पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवले मृतक सबैको शव बुझेर गाउँमा लैजाँदै छौँ। दुर्घटनामा ज्यान गुमाएकाहरूको एकै स्थानमा शुक्रबार राति नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिने उनले बताए।

दुर्घटनामा ज्यान गुमाएका पीडित परिवारले उचित राहत र क्षतिपूर्तिको ग्यारेन्टी नहुन्जेलसम्म शव नबुझ्ने अडान लिएर केही समय धर्नासमेत दिएका थिए।

पीडित पक्षले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था तथा दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको थियो।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले पीडित पक्ष र छानबिन समितिबीच कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले आवश्यक पहल गर्ने सहमति भएको बताए।

दुवै पक्ष बसेको वार्तामा थप राहत र क्षतिपूर्तिको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति भएको बताए।

प्रकाशित: २७ कार्तिक २०८३ १७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App