
धुलिखेल-खावा सडक : चार वर्षमा पनि अपुरै, यात्रुलाई सास्ती (तस्बिरमा हेर्नुस्)
निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि धुलिखेल-खावा सडक निर्माण सम्पन्न हुन नसक्दा चाडपर्वको बेला पनि यात्रुले सास्ती पाइरहेका छन्।
सुख्खा पहिरोका कारण घण्टौं जाममा पर्नुपर्ने अवस्था आए पनि अरनिको राजमार्गअन्तर्गतको यो सडकखण्डमा यात्रा गर्ने यात्रु थप मारमा पर्ने गरेका छन्। काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको यो सडकखण्डबाट दैनिक हजारौं यात्रु दोलखा, सिन्धुपाल्चोक र तातोपानी जाने आउने गर्छन्।
१२ मिटर चौडा र मालबाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडक मजबुत बनाउन नयाँ प्रविधि प्रयोग गर्ने योजनासहितको यो ४ किलोमिटर सडकखण्ड चार वर्षमा पनि बन्न सकेको छैन।
सरकारको योजनाअनुसार यो सडकमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने बताइएको थियो।
तर निर्माण व्यवसायीको लापरबाहीले धुलिखेल-खावा खण्डको ४ किलोमिटर सडक ४ वर्षसम्म पनि निर्माण हुन सकेन। जसका कारण ३ मनसुन भोगेको यो सडकले वर्षाका अलावा अरू समयमा पनि यात्रुलाई सास्ती दिने गरेको छ।























