सिन्धुपाल्चोकः टेन्टबाट ब्यारेक सरे प्रहरी
सुरुका दिन खुला आकाशमुनि रात बिताए, आधा पेट खाएर अहोरात्र ड्यूटीमै खटिए।
जेठ लागेपछि उनको ब्यारेक टेन्ट भयो। थकित शरीरले टेन्टभित्र राहत दिन्छ कि भन्ने उनले सोँचेका थिए। उल्टो सास्ती दियो। घामले टेन्ट तात्दा छिर्नै सकेनन्। बर्खे भलबाढी छि¥यो, मुसलधारे पानी चुहियो। झरीमा जुझ्दै भलबाढी सोहोरे। जाडो सुरु भएपछि शीत चुहियो, स्याँठले कक्रक्कै पार्दा निद परेन। हिउँदमा हावाहुरीले टेन्ट नै उडाउन खोज्थ्यो, उनी टेन्ट अठ्याउँथे।
वर्ष दिन यसैगरी गुजारेर बुधबार नयाँ ब्यारेकमा छिर्दा उनी फुरुङ्ग देखिन्थे। बिहानीको खाना खाइवरी उनले टेन्टबाट खाट, ओड्ने–ओछ्याउने, लत्ताकपडा ब्यारेकमा सारे। र, ओछ्यान मिलाइवरी खाटमा पल्टेर सन्तोषको सुस्केरा छोडे। 'ढुक्कले निदाउन पाइने भइयो। ड्यूटीले थाक्ने शरीरले आराम पाउने भयो', अनुहारमा खुशीको भाव उतार्दै हवल्दार नविनकुमारले भने।
टेन्टको कहालीलाग्दो बसाईँ अन्त्य गरेर नयाँ ब्यारेक छिर्दा उनी जस्तै ४० जना कनिष्ठ प्रहरी कर्मचारी (जवान, हबल्दार) औधी रमाए। आपसमा गफिँदै, ठट्टा गर्दै सबै मिलेर सामान सारे, ब्यारेक मिलाए। 'टन्न खाएर, आनन्दले निदाएपछि नागरिकलाई दिने सेवा टेन्टको भन्दा दोब्बर हुनुपर्ने हाकिम'सापको निर्देशन छ है', उनीहरु सहकर्मीलाई सुझाउँदै थिए।
जिविस र चौतारा नगरपालिकाको २ लाख ७५ हजार आर्थिक सहयोगमा ब्यारेक भवन बनेको हो। संगठन भित्रकै जनशक्ति परिचालन गरेर बनाइएको भवनको प्राविधिक लागत भने १२ लाख रुपैयाँको छ। झण्डै ५० जना अट्ने भवनको बाग्मती अञ्चल प्रमुख एसएसपी केदारमानसिँह भण्डारीले उद्घाटन गरेपछि प्रहरी ब्यारेक छिर्ने बाटो खुल्यो। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले चौविसै घण्टा नागरिक सुरक्षामा खटिनुपर्ने प्रहरीको कन्तबिजोग देखेपछि सहयोग गरेको बताए।
टेन्टमा प्रहरी
नागरिकको सुरक्षा जिम्मेवारी बोकेका जिल्लाका प्रहरीको बसाईँ भने असुरक्षित नै छ। घाम, पानी, हिउँद, बर्खा, गर्मी, ठण्डी, हावाहुरी सहेर उनीहरु टेन्टमा बसिरहेका छन्। जिल्लाका अधिकांश प्रहरी युनिट अझै टेन्टमा सञ्चालित छ। टेन्टमै कार्यालय, टेन्टमै मेस र टेन्टकै ब्यारेक।
'आफैँ असुरक्षित रहेर जिल्लाको शान्ति सुरक्षा र पुनर्निर्माणमा जुटिरहेका छौं,' जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले टेन्टमा सञ्चालित सीमा नाकाको बोक्चेन अस्थायी चौकी उडाएको प्रसंग सुनाउँदै नागरिकन्युजसँग भने। माघमा हावाहुरीले उक्त चौकी उडाउँदा प्रहरीको बिजोग भएको थियो। उनकाअनुसार भूकम्पले जिल्ला प्रहरी, इलाकासमेत सबै युनिट क्षतिग्रस्त भएको थियो। अधिकांश युनिट अझै टेन्टमा सञ्चालित छन्।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला प्रहरी, चार इलाका, १८ चौकी, तीन अस्थायी चौकीसमेत प्रहरीका ३१ युनिट छन्। जिल्ला, चार इलाका र पिस्कर प्रहरी चौकीको मात्र भवन थियो। २५ युनिट भाडाको घरमा थिए। ती सबैघर भूकम्पले ध्वस्त भए। जिल्ला प्रहरी कार्यालयको प्रशासनिक भवनबाहेक कुनै बाँकी रहेनन्। प्रहरी प्रमुख डिएसपी अधिकारी नै झण्डै आठ महिना टेन्टमा सुते।
आन्तरिक स्रोतबाट आवास भवन बनाएपछि दुई महिनादेखि मात्र उनले टेन्टको बास छोडेका हुन्। इलाका प्रहरी कार्यालय मेलम्ची मात्र भूकम्पमा जोगियो। भवन चर्के पनि प्रशासनिक कार्य यहीँबाट सञ्चालित छ। पिस्कर चौकीमा चिराचिरा परेर क्षति पुगे पनि प्रहरी त्यहीँ छन्। जिल्ला प्रहरीका कर्मचारी ब्यारेकमा छिरेपछि २३ युनिट अझै टेन्टमा छन्।
भूकम्पबाट बचेखुचेका पाँच युनिटमात्र भाडाको घरमा सञ्चालनमा रहेको डिएसपी अधिकारीले बताए। उनकाअनुसार ६ प्रहरी युनिटको अस्थायी संरचना बनाउने तयारी छ। जिल्ला प्रहरी र बाह्रबिसे इलाकासहित युनिटका तीन अस्थायी संरचना बनेका छन्। प्रिफेभको भवन बनेको बाह्रविसे प्रहरीले त्यहाँकाट कार्यालय सञ्चालन गर्दै आएको छ। प्रहरी भने टेन्टमै सुत्छन्। जाइकाले १ करोड ५० लाख रुपैयाँमा बाह्रबिसे प्रहरीको पक्की भवन बनाउने तयारी थालेको छ।
डिएसपी अधिकारीले भूकम्पपछि नियमित कामसँगै थपिएको कार्यबोझ सम्पन्न गर्न दैनिक ४ सय २५ प्रहरी परिचालन भइरहेको बताए। 'भूकम्पपछि हालसम्म राहत, उद्दार, सरकारले पीडितलाई दिने विभिन्न सामग्री वितरणमा १ लाखभन्दा बढी प्रहरी परिचालन भइसकेका छन्', उनले भने। वर्ष दिनमा ९८ पटक भिआइपी/भिभिआइपी सुरक्षामा साढे १६ सय प्रहरी परिचालन भइसकेका छन्।
हेराैं फोटोहरू