१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

राजधानीमा गाईजात्रा पर्व मनाइँदै

सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गएराति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ। विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु भएकाले धेरैले गाईजात्रा निकाल्ने भएपछि बिहानैदेखि सुरु भएको छ।

काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ। 'गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय' भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ।एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर वैतर्णी तर्दै स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाइन्छ। हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने गरेकामा मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि खुल्ने गर्छ। त्यस दिन मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी ओम धौभडेल बताए।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले 'जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू' भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक भनाइ छ। गाईजात्रा पर्व विक्रमको १४औँ शताब्दीभन्दा अगाडि सुरु भएको अनुमान गरिएको छ।

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछेँ र खौमाको परिक्रमा गराउने गरिन्छ। जात्रामा विभिन्न हास्यव्यङ्ग्य चित्रसमेत हात हातमा बोकेर प्रदर्शन गरिएको छ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरि खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी धौभडेलको भनाइ छ। यस दिन पाप गरे मृत्युपछि पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ छ। त्यस दिन दिवङ्गत आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ।

जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ। तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि आजको जात्रा सम्पन्न हुने गर्छ।

Gaijatra 15

Gaijatra 14

Gaijatra 13

Gaijatra 12

Gaijatra 11

Gaijatra 10

Gaijatra 09

Gaijatra 08

Gaijatra 07

Gaijatra 06

Gaijatra 05

Gaijatra 04

Gaijatra 03

Gaijatra 02

Gaijatra 01

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App