तीनकुने सडकमा पानीजात्रा (फोटो-भिडियो)
काठमाडौं— नयाँ वानेश्वरतिरबाट हुत्तिदै आएको ट्रकको पांग्राले उछिट्याएको फोहोर पानीले तीनकुने चोकमा स्कुटी चालक सविना मानन्धरलाई निथ्रुक्कै भिजायो। उनी झन्डै स्कुटरबाट लडिन्। ढलपलाउँदै स्कुटी छेउमा लगेर अडाएपछि चिच्याइन्– हेल्प... त्यो ट्रकलाई रोक्नुस्।
ट्रक कोटेश्वरतिर पुगिसकेको थियो। पानीको फोहराले छोपिदा ट्रक नम्बर उनले ठम्याउन सकिनन्।
राजधानीको तीनकुनेमा सडकमा जमेको पानी यात्रुका लागि हैरानी बनेको छ। अझ पैदल यात्रु यसबाट पीडित छन्। आकाशबाट पानी परेपछि तीनकुने सडक क्षेत्र जलमग्न हुन्छ। घाम लागेर पानी नसुक्दासम्म पानीले निकास पाउँदैन।
सडकको दुईतिहाइ भागमा पानी जमेपछि सवारी एउटा कुनो च्यापेर गुड्दा दुर्घटनाको जोखिम हुने त्यहाँ खटिएका ट्राफिक प्रहरी दिनेश घिमिरे बताउँछन्। 'छ्यापेर भिजेका यात्रुहरु गुनासो गर्न आउनुहुन्छ,' उनी भन्छन् 'बाटो नै त्यस्तै छ, थोरै स्पिडमा पनि पानी उछिटिन्छ।'
अधिक सवारी चाप हुने उक्त सडक खण्डमा जम्ने पानीको निकासका लागि ढलको व्यवस्था गर्न स्थानीयको माग छ। 'पानी उछिट्टिएर पसलसम्म आउँछ,' एक हार्डवेयर व्यवसायी भन्छन् 'धेरैपटक गुनासो गरियो तर सुनुवाइ भएन।'
भिडियो
सबै तस्विर: टेकनारायण