१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

सस्तो–बलियो घर बनाउँदै इन्जिनियरिङका विद्यार्थी

काठमाडौं-केही दिन अघिसम्म रोबोटको नमूना तयार गरिरहेका हात हिजोआज महाभूकम्प पीडितका लागि सस्तो र सुरक्षित घर निर्माणमा जुटेका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल र आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थी आआफ्नै ढंगले नमूना घर तयार गरिरहेका छन् । एउटा समूहले ‘छरितो’ र अर्को समूहले ‘आश्रय’ नाममा नमूना तयार गरिरहेका छन्।

charito ghar 1

‘पहिला रोबोट डिजाइन गरिरहेका केटाहरु अहिले घर डिजाइन गरेर बसिरहेका छन्,’ छरितो घर निर्माणमा जुटेका मेकानिकल इन्जिनियर रमेश चौधरीले भने । क्याम्पसका मेकानिकल र आर्किटेक्ट इन्जिनियरले दुई समूह बनाएर छुट्टाछुट्टै घरको नमूना तयार गरेका छन् ।

Aashraya ghar 5

उनीहरुले पाँच हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म खर्च हुने अस्थायी घरको नमूना बनाएका छन् । यी नमूना घरलाई गाउँगाउँ पु¥याउन पनि त्यत्तिकै पहल गरिरहेका छन् । गैर नाफामूलक र सेवाका लागि मात्र यी विद्यार्थीले काम गरिरहेका छन् ।
पुल्चोक क्याम्पस परिसरमा छुट्टाछुट्टै स्थानमा ती नमूना घर प्रदर्शन गरिएको छ । ‘यो हाम्रो व्यापार होइन, सेवा हो,’ चौधरी भन्छन् । क्याम्पस प्राध्यापकको सुपरभिजनमा विद्यार्थी घर बनाउन जुटेका हुन् ।

Aashraya ghar 11 
‘साधनस्रोत पाएसम्म र समयले भ्याएसम्म यहीँका उपकरण प्रयोग गरेर घर बनाइरहेका छौं । कसैले नमूना लगेर आफ्नै तरिकाले बनाउन चाहे उनीहरुलाई निःशुल्क रुपमा प्राविधिक ज्ञान पनि दिइरहेका छौं,’ उनले भने ।

Aashraya ghar 7
चौधरीका अनुसार क्याम्पसभित्रका उपकरण प्रयोग गरेर घर तयार पारिन्छ । तिनलाई जुनसुकै ठाउँ लगेर फिट गर्न सकिन्छ । छरितो घरको आयु जस्तापाताको आयुमा निर्भर गर्छ । ‘यो घर ७ देखि १० वर्षसम्म टिक्छ,’ उनले भने, ‘तर पनि तत्कालका लागि यो निकै उपयोगी मानिएको छ ।’
छरितो घर निर्माणका लागि चौधरीको समूहले जस्तापाता, रड, इँटा, कालो म्याटलगायत सामग्री प्रयोग गरिरहेको छ । १२ फिट चौडाइ र २२ फिट लम्बाइसम्मको घर बनाउन सकिने चौधरीले जानकारी दिए । उनका अनुसार १२ फिट चौडाइ ११ फिट लम्बाइको घरलाई ३२ हजार ४ सय ११ रुपैयाँ पर्छ भने १२ फिट चौडाइ र १५ फिटको घरलाई ३६ हजार रुपैयाँ पर्छ । सकभर सानो आकारको घरमा जोड दिएको उनले बताए । 

Aashraya ghar 8
छरितो घरमा जस्तापाता काटेर झ्याल बनाइएको छ । एउटा ढोका राखिएको छ । १० किलोवाटको सोलर सिस्टम जडिएको छ । आकाशे पानी संकलन, घामको ताप छेक्ने प्रविधि, भेन्टिलेसन सुविधासमेत राखिएको छ । ‘यो घर चट्याङ र भूकम्प प्रतिरोधी पनि हो,’ चौधरी भन्छन् ।
उनले आफूहरुले तयार पारेको नमूनाको माग एकदमै बढी भएको बताए । ‘हामीले मागअनुसार काम गर्न सकेका छैनौं,’ उनले भने, ‘बजारमा जस्तापाताको समेत अभाव हुन थालेको छ । थोरै संख्यामा माग भए क्याम्पसभित्रै बनाएर आपूर्ति गर्ने उद्देश्य छ ।’ उनले निर्धारित मूल्यअनुसार यी घर निर्माणमा आफूहरुलाई घाटा भएको पनि बताए ।
‘हामीले केही कम्पनी र समूहलाई यसको नमूना दिएर पठाएका छौं । उनीहरुले पनि आफ्नो कम्पनीमा यस्ता घर बनाउन थालेका छन् । सर्वसाधारणले त्यहाँबाट किन्दा हामीले तोकेभन्दा धेरै पैसा तिर्नु हुँदैन,’ चौधरीले भने, ‘यो व्यापार गर्ने बेला होइन । सेवा गर्ने बेला हो ।’

charito ghar 2
उनले यस्ता तयारी घर गाउँघरमा पुर्‍याउन पनि सजिलो भएको बताए । करिब १३० देखि १४० किलो वजन हुने यस्ता घर छचक्के गाडीमा एकैचोटि ४० वटासम्म लैजान सकिन्छ । एउटा क्याबिन भएको जिपमा १० देखि १३ वटासम्म अटाउन सक्छ । यसलाई जडान गर्न ३० देखि ६० मिनेट लाग्न सक्छ । ‘यी घर जुनसुकै स्थानमा लगेर फिट गर्न सक्छौं,’ चौधरीले भने ।  
यसैगरी क्याम्पस परिसरकै अर्को स्थानमा आर्किटेक्ट इन्जिनियरहरुले ‘आश्रय’ नामको घर प्रदर्शनीमा राखेका छन् । बुधबार नागरिककर्मी त्यहाँ पुग्दा विद्यार्थीले इँटाको गारोमा माटो पोतिरहेका थिए भने केहीले घरभित्र माटाको चुलो जडान गर्दै थिए । 

charito ghar 3
छरितो घरको तुलनामा यी घरका मूल्य भने निकै कम छ । भत्किएका घरका इँटा, माटो र जस्ता प्रयोग गरियो भने यो घर तयार गर्न ५ हजार रुपैयाँ मात्र लाग्ने आर्किटेक्ट इन्जिनियर सुगन्ध सुवेदीले बताए ।
‘हामीले नाफाका लागि यो काम गरेकै होइन । विपतका बेला सर्वसाधारणलाई सहयोग गर्न यो काम गरेका हौं,’ उनले भने, ‘गाँउसम्म पुगेर घर बनाइदिने, प्रविधि सिकाउने र स्थानीयलाई नै यसको निर्माणमा सहभागी गराएर काम गरिरहेका छौं । सबै सेवा निःशुल्क हुन् ।’  
न्यौपानेले अहिलेसम्म ३ सय वटा यस्ता घर निर्माणको काम भइरहेको जानकारी दिए । ती घर धादिङ, सिन्धुपाल्चोक, गोरखा र खोकनामा निर्माण भइरहेको उनले जनाए । ‘तत्काल ठूलो घर बनाउन नसक्ने पीडितका लागि यो नमूना उपयुक्त छ । सात वर्षसम्म केही नहुने भए पनि दुई वर्षसम्मलाई ढुक्कसँग प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘पछि आफ्नो आर्थिक अवस्था सुध्रियो भने अर्को घर बनाए हुन्छ ।’ 

charito ghar 8
यो घर निर्माणमा इँटा, माटो, ढुंगा, बाँस, पराल, छ्वाली, भत्किएको घरको ढोका र झ्याल प्रयोग गर्न सकिन्छ । ‘जस्तापाता किन्नुपर्‍यो भने यो घर बनाउन १३ हजार रुपैयाँ पर्छ । भत्किएको घरकै जस्तापाता प्रयोग गरियो भने पाँच हजार रुपैयाँमा बन्छ,’ न्यौपानेले भने । उनले अबका दिनमा भूकम्प प्रतिरोधी र सुरक्षित घर कसरी बनाउन सकिन्छ भनेर गाउँघरका स्थानीयलाई परामर्श पनि दिइरहेको बताए ।

charito ghar 7
न्यौपानेका अनुसार यो नमूना घरको गारोमा माटो र इँटा प्रयोग गरिएको छ । छाना जस्तापाताकै हुन्छ । जस्तापातामाथि सेतो प्लास्टिक ओछ्याइन्छ र माथिबाट सेउला हालिन्छ, तापक्रम नियन्त्रण गर्नका लागि । झ्यालढोका भत्किएकै घरको प्रयोग गर्न सकिन्छ । घरभित्रको चुलो माटोको हुन्छ ।
तर छरितो घरभन्दा आश्रयको आकार सानो छ । लम्बाइ १२ फिट र चौडाइ ९ फिटको घरको नमूना तयार गरिएको छ । दुई वटै नमूना घरको छानो गोलाकारको छ । भिरालो छाना भएको आश्रय घर बनाउने तयारी भइरहेको न्यौपानेले बताए । छरितो घरको माथि पनि जस्ता नतातोस् भन्नका लागि हरियो सेउला हालिएको छ ।
‘हामीले इच्छुक भूकम्प पीडितसँग कहीँ कतै पैसा मागेका छैनांै । हामीसँग २५–३० जनाको समूह छ । कसैलाई सहयोग चाहियो भने हामी निःशुल्क दिन्छौं,’ उनले भने । न्यौपानेले नमूना घर निर्माण क्रममा स्थानीय समुदाय र आफूहरुको ज्ञान आदानप्रदान भइरहेको बताए ।
‘गाउँका स्थानीयले पनि हामीलाई धेरै कुरा सिकाइरहनुभएको छ । गारो लगाउने तरिका र बाँस प्रयोग गर्ने तरिका हामीले सिकेका छांै र हामीले तातोचिसोबाट बच्ने तरिका सिकाइरहेका छौं, यो अध्ययनका लागि पनि निकै उपयोगी भएको छ,’ उनले भने ।
नागरिककर्मी प्रदर्शनीस्थल पुग्दा सर्वसाधारणको भीड त्यत्तिकै थियो । काभ्रे  र्‍याले गाविस–१ का केशव सापकोटा १४ वटा घरको अर्डर गरिरहेका थिए । उनले आफ्नो गाउँमा यी घर लैजान खोजेका थिए ।

charito ghar 4
‘मलाई तत्काल १४ वटा घर चाहिएको छ । तर जस्तापाता अभाव छ,’ उनले नागरिकसँग भने । यसैगरी अनन्तेश्वर नगरपालिका–९ का कृष्णबोल न्यौपाने पनि दातासँगै घर हेर्न आएका थिए । उनलाई तीन वटा घरको आवश्यकता रहेछ । ‘हेर्दैछौं कुरा मिल्यो भने लगेर हाल्छौं,’ उनले भने ।
यसैगरी अर्माक एसिया प्यासिफिकको समूह पनि घर हेर्न आएको थियो । यो समूहले सामुदायिक रेडियोका लागि आवास खोज्दै यहाँ आएको थियो । ‘हामीलाई अलि ठूलो आकारको घर चाहिएको छ । कम्तीमा तीनदेखि चार वटा कोठा चाहिएको छ,’ अर्माक एसिया प्यासिफिकका कार्यक्रम अधिकृत सगुनराज लामाले भने ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App