१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

भीषण वर्षापछिको भेलले भासियो पोखरा महेन्द्रपुलको सडक (फोटो फिचर)

पोखरा महेन्द्रपुलमा भासिएको क्षेत्र। तस्बिरः उमेश पुन/नागरिक

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा ठूला ठूला खाल्डा परेको छ। आइतबार राती नै महेन्द्रपुलमा खाल्डाे परेको थियो। सडक किनारमा खाल्डाे परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ।  

पोखरामा आइतबार बेलुकी ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म (१४ घण्टा) को अवधिमा २६० मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी सातबजेदेखि भीषण वर्षा सुरु भएको थियो। रातभर वर्षा हुँदा पोखरा सहरमा छताछुल्ल हुनेगरि भेलबाढी निम्तिएको उनले बताए।  

उनका अनुसार छोटो अवधिमा परेको यो भीषण वर्षा हो। उनका अनुसार यो पटकको मनसुनमा छोटो समयमा परेको यो नै सबैभन्दा बढी वर्षा हो। यसअघि असार २३ गते पोखरामा ९ घन्टामा २५८ मिलिमिटर वर्षा भएको थियो। मंगलबारसम्म भीषण वर्षाको सम्भावना रहेकोले थप जोखिम निम्तिन सक्ने उनले बताए।  

पोखराको महेन्द्रपुल क्षेत्रमा अघिल्ला वर्षमा समेत बेलाबेला भासिदै आएका थिए। तर यो पटकको क्षति बढि रहेको पोखरा महानगरपालिकाका प्राविधिकहरुको भनाई छ। पोखरा महानगरपालिकाका सव इन्जिनियर नेत्र तिमिल्सेनाका अनुसार वर्षा बढी हुँदा आइतबार राती नौबजेतिर त्यहाँ भासिन थालेको थियो। रातभरको भीषण वर्षापछिको भेलले त्यहाँ खोतल्दै जाँदा झनै ठुलो आकार लिएको तिमिल्सेनाले बताए। ‘बेलुकी भ्वाङ परेको जानकारी पाएपछि मध्यरातसम्म हामी त्यही रहेर केही प्रयास गरेका हौ। भेल पनि तर्काएका थियौ। तर, बिहानपख त झनै बढी क्षति भएछ,’ उनले भने ।  

उनका अनुसार खानेपानी बिस्तारको क्रममा त्यो क्षेत्रमा पाइप बिच्छ्याउँदा खनिएको थियो। पाइप बिच्छाएपछि खाडल परेको ठाउँको १० मिटर दुरी ढलान हुन बाँकी थियो। दोहोरो पार्किङ रहेकोले त्यहाँ बेलैमा ढलान हुन पाएको थिएन। तल र माथि ढलान भएपनि १० मिटर जति बाँकी रहेकोमा त्यही ठाउँमा भेलले खोतल्दा भासिएकाे तिमिल्सेनाले बताए। पोखरामा अहिले खानेपानीको पाइप बिच्छ्याउने काम भईरहेको छ। पोखराभित्र एकसय किलोमिटर दुरीको खानेपानी पाइप बिच्छ्याउने काम तीब्रगतिमा भईरहेको छ। महेन्द्रपुल क्षेत्रमा पनि यो काम चलिरहेको छ।

‘पार्किङको दोहोरो समस्या भएकोले त्यही क्षेत्र ढलान हुन बाँकी थियो। त्यसैमा खोतल्दा खाडल पर्न गयो,’ उनले भने। कमजोर ठाउँ फेला पारेपछि भित्रभित्र खोक्रो बनाएको उनले बताए। सडकमा खाडल परेसँगै नजिकैका घरको पेटी पनि भासिएको छ। उनका अनुसार त्यहाँको माटो कमजोर छ। जहाँँ नदीपुरदेखि सोहोरिएर आएको भेलबाढी मिसिन्छ। भीषण वर्षा हुँदा पालिखेचोक क्षेत्रमा त सडक वारपार गर्न पनि सकस हुन्छ। त्यही भेलले खोतल्दा क्षति भएको उनले बताए।  

उनका अनुसार त्यहाँ नाली पनि छ। नालीबाट पानी नबगेर बाटोबाट बग्दा क्षति भएको उनले बताए। ‘खाडलको समस्या समाधान गर्नका लागि महानगर, खानेपानी संस्थान, सडक लगायतको निकायको सहकार्य भईरहेको छ। अहिले अस्थायी रुपमा त्यहाँ काम गरेपनि दीर्घकालिन समस्या समाधान गर्न भित्रसम्म खोतल्नुपर्ने हुन्छ,’ तिमिल्सेनाले भने।  

भूगर्वविद पनि छोटो समयमा आएको भीषण वर्षापछिको भेलले खोतल्दा महेन्द्रपुल क्षेत्रमा खाडल पर्ने गरेको बताउँछन्। भूगर्वविद श्रीकमल द्विवेदी भन्छन, ‘यसै त पोखरामा बढी पानी परेको छ। पानीको भेलको निकास सही नहुँदा भित्रभित्र पसेर खोतल्दा खाडल पर्ने गरेको छ। कमजोर भू बनोटका कारण भेलबाडीले सडक खोतल्न सहयोग पुगेको उनले बताए। 

‘व्यवस्थित तरिकाले ढलको निकास भएको भए यो अवस्था नआउन सक्थ्यो। पोखरामा जमिनको संरचना कमजोर छ। पानीको निकासले खोतल्दै जाँदा सुरुङ बनेको छ,’ उनले भने, ‘पानीको ढलको व्यवस्थापन उचित नभएकै हो। ढलबाट बग्नुपर्ने पानी सडकमै बगेपछि कमजोर ठाउँ पाउनासाथ खोतल्न थाल्छ।’  

उनका अनुसार पोखराको चुनयुक्त भित्री भूगोललाइै भेलको पानीले कमजोर बनाउँछ र प्वाल पर्दै जान्छ। ढलको पानीले चुनलाई खियाउँछ।  त्यसले गर्दा भित्रिभाग भ्वाङ पर्ने जोखिम हुन्छ। ‘सडकसँगै ती आसपासका घरको अवस्था बारे पनि अध्ययन गर्नुपर्छ। सुरुङमाथि नै घर पनि छन्। तर, माथिको संरचना कमजोर भएमा जोखिम हुनसक्छ,’ उनले भने।  

प्रकाशित: ७ भाद्र २०७८ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App