विद्यार्थी फेल हुँदा विद्यार्थी, अभिभावक र विद्यालय मात्र होइन, काठमाडौं महानगरपालिकालाई पनि निद्रा लाग्दैन।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा महानगरका ७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए। २८ प्रतिशत विद्यार्थी असफल हुँदा महानगर यसवर्ष थप संवेदनशील बनेको छ।
यसैका लागि महानगरले यसपटकको एसइईलाई विशेष ध्यानमा राख्दै सुधारात्मक र प्रभावकारी रणनीति अपनाएको छ। शिक्षण सिकाईको सम्पूर्ण अभिभावकत्व महानगरले आफैंले लिएको छ। अभिभावकले थप कक्षा वा टिउसन पढाउने चिन्ता लिनु नपर्ने भएको छ।
महानगरले आगामी चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षामा कोही पनि विद्यार्थीले एनजी (ननग्रेड) नल्याउन् भन्ने उद्देश्यसहित माघ ३ गतेदेखि शिक्षक तालिम सुरु गरेको छ।
महानगरले विषयगत शिक्षणमा सुधार ल्याउन गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका कक्षा १० का शिक्षकलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको हो।
भानु माध्यमिक विद्यालयमा आयोजित तालिममा सहभागी पद्यमोदय माविका विज्ञान शिक्षक प्रकाश सिमखडाले भने, ‘विदाको समयमा तालिमको व्यवस्था गरिएकोले कक्षाकोठाको पढाइ प्रभावित भएन। नयाँ पाठ्यक्रमअनुसार प्रभावकारी शिक्षण विधि र प्रश्नपत्र निर्माणको ज्ञान हासिल भयो। यसले हाम्रो शिक्षणलाई अझ स्तरीय बनाउनेछ।’
महानगरले कक्षा १० का विद्यार्थीलाई थप तयारी गराउन उपचारात्मक कक्षा (कोचिङ) पनि सुरु गरेको छ। महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले भने, ‘यसपटक ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने हाम्रो लक्ष्य हो। शिक्षकको दक्षता अभिवृद्धिका लागि हामीले तीन तहमा तालिम सञ्चालन गरेका छौं। यद्यपि, लक्षित ७ सय शिक्षकमध्ये ४५० जना मात्रै सहभागी भएका छन्, जसमा सामुदायिक विद्यालयका १५ प्रतिशत शिक्षक पनि छन्।’
महानगरले कक्षा १ देखि ३ का शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम पद्यमोदय माविमा र प्रारम्भिक बाल विकासका शिक्षकका लागि तालिम पद्यमकन्या माविमा सञ्चालन गरिरहेको छ। कक्षा १० का शिक्षकका लागि विषयगत तालिम रानीपोखरीस्थित भानु माविमा भइरहेको छ।
तालिमका लागि १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। काठमाडौं विश्वविद्यालयका विज्ञहरूले तालिम दिएका हुन्। तालिममा प्रश्नपत्र निर्माण, सूचना प्रविधिको उपयोग, र व्यवहारिक शिक्षण विधिहरूमा केन्द्रित प्रशिक्षण दिइएको छ।
पद्यमोदय माविकी प्रअ रीता तिवारीले महानगरको पहललाई प्रशंसा गर्दै भनिन्, ‘विदाको सदुपयोग गर्दै गरिएको तालिम उपलब्धिमूलक हुनेछ। यसले शिक्षकको दक्षता बढाउन मद्दत गर्छ।’
भानु माविकी प्रअ शारदा पौडेलले भनिन्, ‘महानगरले सुधारात्मक कक्षा सञ्चालन गरी र नयाँ पाठ्यक्रमअनुसार तालिम प्रदान गरेर शिक्षामा अपनत्व देखाएको छ। शिक्षक तालिमले कक्षाकोठामा शिक्षणको स्तर उकास्नेछ।’
महानगरको यो पहलले नतिजा सुधार्न मात्र होइन, शिक्षामा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास गरिएको छ। यस पटकको एसइईमा विद्यार्थीहरूको सफलता महानगरको शिक्षामा जिम्मेवारीपूर्ण दृष्टिकोणको प्रमाण बन्ने बताइएको छ।
प्रकाशित: ५ माघ २०८१ २०:३४ शनिबार