११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

आज बाइसधारा मेला

काठमाडौं - आजदेखि बैशाख स्नान सुरु भएपछि काठमाडौं बालाजुको बाइसधारामा मेला लागेको छ । बाइसधारा अर्थात् ल्हुतिपुन्हि क्षेत्र पनि एक प्राचीन धार्मिक तीर्थस्थलको रूपमा मानिन्छ । हरेक चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्ने गर्छ। यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन्।

यस पूणिर्मामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन्। यसै दिन 'मन्नादी' देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरेमा उनीहरूलाई बढी फलिफाप हुने विश्वास रहिआएको छ। त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

बालाजु काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्दछ। यस स्थानलाई नेवारहरू ल्हुति भन्ने गर्दछन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ। किनभने त्यस फलमा रोगसँग लड्न सक्ने क्षमता छ भन्ने जनविश्वास रहिआएको छ। सर्वप्रथम बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। यो धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ। त्यस्तै अर्को एक यस क्षेत्रका शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ। यही विश्वासमा यहाँ यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

यस्तै देशका अरु विभिन्न पवित्र जलाशयमा स्नान गरी भगवान विष्णुको पूजा गर्नेहरुको घुँईचो छ । बाइसधारा मेला चार दिनसम्म सञ्चालन हुन्छ । बाइसधारामा लागेका कारण बिहीबार बालाजु बाईसधारा भएर चल्ने गाडीलाई बालाजु चोक र बाईपास चोकबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस रुटमा चल्ने गाडीलाई माछापोखरी चोक हुँदै आवतजावतको व्यवस्था मिलाइएको छ ।

सबै तस्बिरहरु केशव थोकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App