२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्य

परेवालाई चारा खुवाउने महिलालाई तीन लाख बढी जरिवाना

सिंगापुरमा एक महिलाले परेवालाई दिएको चारो महंगो परेको छ। 

सिंगापुरमा भारतीय मूलकी ७१ वर्षीया सन्मुगमनाथन शामलालाई परेवालाई (अन्न र रोटी) छरेर खुवाएको आरोपमा गत बुधबार अदालतले ३२ सय सिंगापुर डलर (झन्डै तीन लाख ६७ हजारभन्दा धेरै नेपाली रुपैयाँ) जरिवाना तोकेको थियो। 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो उनीमाथि भएको दोस्रो जरिवाना हो। 

उनले वन्यजन्तु ऐनअन्तर्गत चार आरोप स्वीकार गरिन्। शामलाले कुल नौ पटक (जुलाई २०२५ देखि जनवरी २०२६ सम्म) उनले तोआ पायोहको ब्लक ६२बी लोरोङ ४ वरिपरि परेवालाई चारो छरेको देखियो। कहिलेकाहीँ अबेर रातिसम्म पनि यो काम भएको थियो।

अदालतमा चार भिडियो क्लिप देखाइयो, जसमा उनी परेवाको भीडमा उभिएर भुइँमा खाना फाल्दै गरेको र हिँड्दा पछ्याउँदै गरेको स्पष्ट देखिन्छ।

अभियोजकले अदालतलाई भने, ‘यो मुद्दाले जिद्दी व्यवहार र कानूनको निरन्तर अवहेलनाको ढाँचा देखाउँछ। आरोपी दोहोरिने अपराधीको रूपमा उभिएकी छिन्।’

पहिले मे २०२५ मा उनलाई जंगली चरालाई खुवाएको र राष्ट्रिय निकुञ्ज बोर्डको परेवा पासोमा हस्तक्षेप गरेकोमा १२ सय सिंगापुर डलर जरिवाना भएको थियो। त्यसबेला उनले अपराध नदोहोर्‍याउने वाचा गरेकी थिइन्, सांसदलाई पनि सम्पर्क गरेकी थिइन्। उनले ‘गहिरो पछुतो’ भएको बताएकी थिइन्। तर त्यसको केही समयपछि नै उनी फेरि त्यही काममा लागिन्।

वकिलबिना अदालत पुगेकी उनले आफू बेरोजगार भएको, बिमा नभएको भन्दै जरिवाना एकदेखि दुई हजार सिंगापुर डलरसम्म हुन सक्छ कि भनेर अनुरोध गरेकी थिइन्।

‘म बाँकी रकम सामुदायिक सेवाबाट चुक्ता गर्छु,’ उनले भनिन्। तर अदालतले कुल जरिवाना घोषणा गरेपछि सोही दिन पूरै तिर्न लगायो।

सिंगापुरको वन्यजन्तु ऐनअनुसार अनुमतिबिना जंगली चरालाई चारा खुवाउनु गैरकानुनी हो। बारम्बार घटना दोहोर्‍याउँदा प्रति घटना १० हजार सिंगापुर डलरसम्म जरिवाना हुन सक्छ। यो नियम सरसफाइ र कीट नियन्त्रणका लागि राखिएको छ। एजेन्सी

प्रकाशित: २८ माघ २०८२ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App