जाडो मौसम सुरु भएसँगै धेरै मानिसका लागि दैनिक नुहाउने तालिका नै एउटा द्विविधा बन्ने गर्छ। चिसोका कारण तातो पानीले नुहाउन मन लाग्नु स्वाभाविक हो। तर छाला विशेषज्ञ तथा डाक्टरहरूले अत्यधिक तातो वा अत्यधिक चिसो पानी दुवैले शरीरलाई हानि पुर्याउन सक्ने चेतावनी दिएका छन्।
सन् २०२२ मा ‘इन्टरनेशनल जर्नल अफ साइन्टिफिक रिसर्च एण्ड इन्जिनियरिङ डेभलपमेन्ट’ मा प्रकाशित एक अनुसन्धानले अत्यधिक तातो पानीले छालाको बाहिरी सुरक्षात्मक तह (केराटिन कोषहरू) लाई क्षति पुर्याउने उल्लेख गरेको छ। तातो पानीले छालाको प्राकृतिक तेलको तहलाई हटाउँछ। जसले गर्दा छाला सुख्खा हुने, चिलाउने र जलन बढ्ने हुन्छ। यसले एक्जिमा जस्ता छालाका अवस्थाहरूलाई थप बिगार गर्न सक्छ।
साथै धेरै तातो पानीले नुहाउँदा रक्तनलीहरू फैलिएर रक्तचाप कम हुने र चक्कर लाग्ने वा कमजोरी महसुस हुने बताइन्छ। पोलिसिथेमिया भेरा भएका मानिसहरूका लागि यसले रातोपन र संवेदनशीलता बढाउँछ भने साना केटाकेटीहरू र वृद्धवृद्धाहरूमा छाला पहिले नै संवेदनशील हुने हुँदा उनीहरूले तातो पानीले नुहाउँदा अझ बढी जोखिमको सामना गर्नुपर्छ।
जाडोमा अत्यधिक चिसो पानीले नुहाउँदा विशेषगरी मुटुको समस्या हुने र रक्तनलीहरूमा तुरुन्तै साँघुरोपन आउने हुन्छ। डाक्टरहरूका अनुसार रक्तनलीमा आउने साँघुरोपनले हृदयघात वा स्ट्रोकको जोखिम बढाउँछ। यो जोखिम मुटु रोग, उच्च रक्तचाप, वा अवरुद्ध रक्तनली भएका मानिसहरूका लागि विशेष गरी बढी हुन्छ।
अत्यधिक चिसो पानीले चिलब्लेनको सम्भावना पनि बढाउँछ। यो अवस्थामा रक्तसञ्चारमा आएको गडबडीका कारण छाला सुन्निने, जल्ने र नीलो हुने हुँदा जाडोमा चिसो पानीले नुहाउनुभन्दा हल्का मनतातो पानी प्रयोगमा ल्याउनुपर्ने सुझाव डाक्टरहरूको रहेको छ।
प्रकाशित: २९ कार्तिक २०८२ १२:३४ शनिबार





