बागलुङमा करिब आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना स्तरोन्नति भइरहेका छन्। सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोड रुपैयाँसम्मका योजनाहरू सञ्चालनमा छन्।
२०७९ मा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर–मल्म–पाण्डवखानी–रमुवा–भिमगिठे–निसीखोला सडक २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। यो सबैभन्दा ठूलो योजना हो र यसको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता भएका हुन्।
जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत ४९ करोड ५४ लाख रुपैयाँका ११ सडक स्तरोन्नति भइरहेका छन्। कार्यालय प्रमुख हरी सुवेदीका अनुसार अन्य योजना पछिल्लो सम्झौतामा भए पनि हरिचौर–मल्म–पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ।
पाखुते–बायोखोला–झिम्पा–निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा स्तरोन्नतिको काम भइरहेको छ। १ करोड ५८ लाख लागतमा ठेक्का भई काम भइरहेको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत छ।
गलकोट नगरपालिका–१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा १ करोड ३२ लाख लागतमा २०८२ मंसिरमा ठेक्का सम्झौता भई स्तरोन्नति सुरु गरिएको छ।
अछेते–मुल्ठाना–सिम सडक स्तरोन्नतिका लागि २ करोड ११ लाखमा ठेक्का भई काम अघि बढेको छ। हाल यसको प्रगति ५५ प्रतिशत पुगेको छ। फलेवास नगरपालिकाको दुल्लेबेँसी–अमरपुरी–दरौदी–सुन्तलाचौर सडक सुधारका लागि करिब २ करोड ४३ लाख लागतमा काम भइरहेको छ र प्रगति ६० प्रतिशत पुगेको छ। यो सडक २०८३ असारमा हस्तान्तरण गर्ने लक्ष्य छ।
आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा २ करोड १७ लाख लागतमा स्तरोन्नति भइरहेको छ र ५४ प्रतिशत काम सम्पन्न भएको छ। मङ्गलीखोला–धाम्जा–बेलढुङ्गा–म्याग्दी सडकमा २ करोड २९ लाखमा २०८२ पुसमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको छ।
बाङ्गेचौर–उपल्लाचौर सडक ६ करोड ७२ लाख लागतमा २०८१ माघमा सम्झौता भई कालोपत्रको चरणमा पुगेको छ र ग्राभेल गर्ने तयारी भइरहेको छ। बागलुङ नगरपालिका–३ रात्माटा–कोलको–घुम्ती–रिठाबोट–पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा २ करोड २५ लाख लागतमा ५५ प्रतिशत काम सम्पन्न भएको छ।
डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा ५ करोड ५० लाख लागतमा स्तरोन्नति भइरहेको छ।
प्रकाशित: ५ चैत्र २०८२ १०:५३ बिहीबार





