विश्व इतिहासमा आज डिसेम्बर २० को दिनलाई विशेष रूपमा सम्झना गर्ने गरिन्छ। आजको दिनमा विश्वमा राजनीतिक घटनाक्रमदेखि साहित्यका क्षेत्रका स्मरण गर्न योग्य घटनाहरू घटेका छन्।
आजकै दिनमा सन् १९७१ को बंगलादेश मुक्ति युद्ध तथा भारत र पाकिस्तान युद्धको समाप्तिपछि पाकिस्तानका राष्ट्रपति आगा मोहम्मद याह्या खानले सत्ता जुल्फिकार अली भुट्टोलाई सत्ता हस्तान्तरण गरेका थिए। भुट्टोले सत्ता सम्हालेपछि याह्या खानलाई घरमै नजरबन्दमा राखेका थिए।
भुट्टोले पाकिस्तानको सत्ता सम्हालेपछि देश ठूलो संकटबाट गुज्रिरहेको थियो। पूर्वी पाकिस्तान अलग भई बंगलादेश बनेको, ९० हजारभन्दा बढी सैनिक युद्धबन्दी बनेका र अर्थतन्त्र ध्वस्त भएको अवस्था थियो। सन् १९७७ मा चुनावमा धाँधलीको आरोप लाग्यो, विरोध प्रदर्शन भए र जनरल जिया-उल-हकले सैनिक 'कू' गरी सत्ता कब्जा गरे। उनले भुट्टोलाई गिरफ्तार गरी हत्या आरोपमा मुद्दा चलाएर सन् १९७९ अप्रिल ४ मा मृत्युदण्ड दिएका थिए।
त्यसैगरी, सन् १८१२ मा आजकै दिन ज्याकब र विल्हेल्म ग्रिम दाजुभाइले ग्रिमका परी कथाहरूको पहिलो खण्ड प्रकाशित गरेका थिए। सो संग्रहमा ह्यान्सेल एन्ड ग्रेटेल, स्नो ह्वाइट, लिटिल रेड राइडिङ हुड र स्लीपिङ ब्यूटी लगायतका कथाहरू समावेश छन्। जुन कथाहरू बालबालिकाको लागि विशेष हुने गरेको छ।
साहित्य क्षेत्रमा अमेरिकी उपन्यासकार जोन स्टेनबेकको आज विशेष स्मरण गरिन्छ। फेब्रुअरी २७, १९०२ मा क्यालिफोर्नियाको सालिनासमा जन्मिएका उनको डिसेम्बर २०, १९६८ मा ६६ वर्षको उमेरमा न्यूयोर्क सहरमा निधन भएको थियो। स्टेनबेक विश्व साहित्यका प्रभावशाली लेखक मानिन्छन्।
सन् १९२७ मा आजकै दिन जर्मन शान्तिवादी लुडविग क्विडेसँग संयुक्त रूपमा शिक्षाविद् फर्डिनान्ड एडुअर्ड बुइसनलाई शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो। पेरिसमा जन्मिएका बुइसन मानव अधिकार र शान्ति आन्दोलनका प्रमुख प्रवर्तक मानिन्छन्।
प्रकाशित: ५ पुस २०८२ ०९:४२ शनिबार





