विश्व इतिहासमा नोभेम्बर १८ अर्थात आजको दिनमा त्रासदी, प्रविधि र कूटनीतिक रुपमा सफलताको दिन मानिन्छ। आजभन्दा करिब ६ सय वर्ष अगाडी नोभेम्बर १८, १४२१ मा उत्तरी सागरको एक भीषण बाढीले हालको नेदरल्यान्ड्समा ठूलो विनाश गरेको थियो। युरोपेली इतिहासको सबैभन्दा घातक बाढीमध्ये एक मानिने यो प्राकृतिक प्रकोपले धेरै गाउँहरूलाई नष्ट गरेको थियो।
साथै १८ नोभेम्बर १९०३ मा पानामा र संयुक्त राज्य अमेरिकाबीच हे बुनाउ भरिला सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिले अमेरिकालाई पानामा नहर क्षेत्रमा स्थायी अधिकार दिनुको साथै विश्व व्यापारलाई नयाँ दिशा दिने पानामा नहर को निर्माण कार्य काम अगाडि बढेको थियो।
प्रथम विश्वयुद्धको सबैभन्दा बढी रक्तपातपूर्ण युद्धहरूमध्ये एक सोमेको युद्ध चार महिनाभन्दा बढीको भयानक संघर्षपछि नोभेम्बर १८, १९१६ मा समाप्त भएको थियो। उक्त युद्धमा सबै पक्षबाट लाखौंको संख्यामा ठूलो क्षति भएको थियो।
नोभेम्बर १८, १९९१ मा लेबनानमा चार वर्षभन्दा बढी समयदेखि बन्धक रहेका बेलायती वार्ताकार टेरी वाइट र अमेरिकी प्राध्यापक थोमस सदरल्याण्ड संयुक्त राष्ट्रसंघको पहलमा रिहा भएका थिए।
नोभेम्बर १८, १९२८ मा विश्वको सबैभन्दा प्रिय कार्टुन चरित्र मिकी माउसले वाल्ट डिज्नीको एनिमेटेड छोटो फिल्म स्टिमबोट विली मार्फत औपचारिक रूपमा पर्दापण गरेको थियो। यसैले गर्दा आजको दिनलाई मिकी माउस दिवस को रूपमा पनि मनाइन्छ। एजेन्सी
प्रकाशित: २ मंसिर २०८२ ०९:४५ मंगलबार





