३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्य

काइलीले लगाइन् विश्वकै महँगो हीराको ब्रा : मूल्य र विशेषता थाहा पाउँदा सबै चकित

अमेरिकी मोडल तथा सौन्दर्य व्यवसायी काइली जेनरले पाँच करोड डलर मूल्यको हीराको ब्रा लगाएर भिक्टोरियाज सेक्रेटको फेसन शोमा सबैको ध्यान खिचेकी छन्। आइतबार आयोजित शोमा उनले लगाएको उक्त ब्रा ब्रान्डको इतिहासकै महँगो ‘फ्यान्टेसी ब्रा’ हो।

ज्याकब एन्ड कम्पनीले तयार पारेको उक्त ब्राको मूल्य पाँच करोड अमेरिकी डलर अर्थात् करिब सात अर्ब ६० करोड रुपैयाँ पर्छ। यसमा १८ क्यारेट सुन र चार हजार ४१० वटा प्राकृतिक हीरा प्रयोग गरिएको छ। हीराको कुल तौल एक हजार ३७३.३९ क्यारेट रहेको छ। ब्राको बिचमा ७५.५४ क्यारेटको पहेँलो हीरा जडान गरिएको छ।

यस ब्राको विशेषता यसमा कपडाको आधार प्रयोग नगरिनु हो। सुन र हीराबाट तयार गरिएको डिजाइनमा तीन हजार २१८ वटा छुट्टाछुट्टै भाग छन्। यसलाई बनाउन १५ जना कालीगढले एक हजार घण्टाभन्दा बढी समय लगाएका थिए।

भिक्टोरियाज सेक्रेटले सन् १९९६ देखि विशेष डिजाइनका हीराजडित ‘फ्यान्टेसी ब्रा’ सार्वजनिक गर्दै आएको छ। सन् २०१८ मा मोडल एल्सा होस्कले १० लाख डलर मूल्यको यस्तो ब्रा लगाएर रनवेमा प्रस्तुति दिएकी थिइन्। यस वर्षको ब्राको मूल्य अघिल्लो संस्करणको तुलनामा निकै बढी छ।

यस वर्षको शोमा काइली पहिलोपटक भिक्टोरियाज सेक्रेटको रनवेमा देखिएकी हुन्। कार्यक्रममा टिमोथी चालमेट, क्रिस जेनर, निकोल किडम्यान र डिलन स्प्राउससहितका चर्चित व्यक्तित्व उपस्थित थिए। बेला हदीद, एड्रियाना लिमा, जोन स्मल्स र क्यान्डिस स्वानेपोएललगायत मोडलले पनि क्याटवाक गरेका थिए। क्याट्से, मेगन दी स्टालियन र टेट म्याकरेले सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा ‘एन्जेल्स एमंग अस’ नामक रियालिटी शोकी विजेता सोलान्ज ओमोनलाई पनि घोषणा गरिएको थियो। नयाँ मोडल छनोट गर्ने उद्देश्यले सुरु गरिएको उक्त शोको पहिलो एपिसोडले युट्युबमा दुई सातामै ५० लाखभन्दा बढी भ्युज पाएको बताइएको छ।

पछिल्ला वर्षमा आलोचना सामना गरेको भिक्टोरियाज सेक्रेटले आफ्नो छवि सुधार्ने प्रयास गर्दै आएको छ। सन् २०२४ को रनवे शोमा पहिलोपटक प्लस-साइज र ट्रान्सजेन्डर मोडललाई समावेश गरिएको थियो। यस वर्ष पनि ब्रान्डले परम्परागत ग्ल्यामर र आधुनिक फेसन शैलीलाई एकसाथ प्रस्तुत गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८३ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App