इटालीमा ५६ वर्षीय छोराले तीन वर्षअघि मृत्यु भएकी ८५ वर्षीया आमा ग्राजिएला डाल'ओग्लियोको पेन्सन लिन अपनाएको तरिका चर्चामा छ। उनले शव घरमै तन्ना र स्लीपिङ ब्यागमा बेरेर लुकाए र उनकै भेषमा हिँडेर पेन्सन बुझ्दै आएका थिए।
उनले १९७० को शैलीको ब्लाउज, लामो स्कर्ट, लिपस्टिक, नेलपालिस, मोतीको हार र झुम्का लगाएर आमाको पूरा रूप बनाउँथे। परिचयपत्र नवीकरण गर्न रजिस्ट्री कार्यालय जाँदा पनि यही भेषमा पुग्थे। तीन वर्षसम्म कसैले चाल पाएनन्।
हालै एक कर्मचारीले घाँटी बाक्लो देखे, हातको छाला र चाउरी ८५ वर्षीया महिलाको जस्तो नभएको र कहिले पुरुषजस्तो आवाज आएको शंका गरे। पुरानो तस्बिरसँग दाँज्दा सत्य बाहिरियो।
अधिकारीले फेरि ‘आमा’लाई कार्यालय बोलाए। छोरा फेरि त्यही भेषमा आइपुगेपछि उनलाई तुरुन्तै पक्राउ गरियो। सोधपुछमा उनले सबै कुरा स्वीकार गरे। प्रहरीले घर खानतलासी गर्दा शव फेला पार्यो।
यो तरिकाले उनले ९३ हजार अमेरिकी डलरभन्दा बढी अर्थात् एक करोड ३२ लाख ११ हजार रुपैयाँ ठगी गरेका थिए। प्रहरीका अनुसार आमाको मृत्यु प्राकृतिक कारणले भएको देखिन्छ। पोस्टमार्टमपछि पुष्टि हुनेछ।
प्रहरीले छोराको पहिचान सार्वजनिक गरेको छैन। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जानकारी गराएको छ।
प्रकाशित: १० मंसिर २०८२ १४:१८ बुधबार





