मेक्सिकोको मेरिडास्थित नगरपालिका बजारमा एउटा खाना स्टलमा सुँगुरको मासु बिस्तारै पोल्दै धुवाँ, मसला र अनानासको सुगन्धले हावालाई भरिदिएको दृश्य आज विश्वका सयौं शहरमा देख्न सकिन्छ। तर यसको कथा हजारौं वर्ष पुरानो छ।
लस एन्जलसका प्रसिद्ध टाको मास्टर राउल मोरालेस जसलाई ग्राहकहरूले शेफ अल पास्टर भन्छन्, ‘मेरो रेसिपी पुरानो हो, परिवारको परम्पराबाट आएको। तर यसको स्वाद सधैं नयाँ लाग्छ।’ मेक्सिको सिटीमा जन्मिएका मोरालेस आफ्नो परिवारको तेस्रो पुस्ता हुन् जसले अल पास्टर टाको बनाउँछन्। सुँगुरको मासु, मसला, र टोर्टिलामा भरिएको परिकार, जसको जरा मध्यपूर्वसम्म पुग्छ।
इतिहासकार केन अल्बालाका अनुसार मासु पोल्नु मानव सभ्यताको सबैभन्दा पुरानो पाक प्रविधिहरूमध्ये एक हो।‘जब मानिसहरूले आगो नियन्त्रण गर्न सिके उनीहरूले मासु पोल्न थाले,’ अल्बाला भन्छन्। ‘यो केवल खानाको कुरा होइन । यो विजय, उत्सव र समाजको प्रतीक थियो।’ ओटोमन साम्राज्यका भान्छेहरूले यस प्रविधिलाई नयाँ स्तरमा पु-याए ।
पातलो मासु तह तहमा थुपार्ने, घुमाउँदै पोल्ने तरिका। यसैबाट जन्म भयो सेभिर्मे। पछि टर्कीमा ‘डोनर’ भनेर चिनिने परिकार बनेको छ। १७ औं शताब्दीका पाण्डुलिपीहरूमा यो परिकार राजदरबारका पिकनिकमा परोसिएको देखिन्छ । उच्च वर्गको विलासी खानाको रूपमा परिचित रहेको छ।
लेबनानी आप्रवासीहरूले यसलाई १९ औं शताब्दीमा मेक्सिको पु-याए। जहाँ स्थानीय स्वादले यसलाई नयाँ रूप दियो। भेडाको सट्टा सुँगुर, र अचियोट, चिली र अनानासको प्रयोगबाट जन्म भयो। इतिहासकार जेफ्री पिल्चरका अनुसार, १९६० को दशकमा मेक्सिको सिटीका युवाहरूले यस परिकारलाई आफ्नै बनाएका थिए।
लस एन्जलसमा, शेफ मोरालेसको टक्वेरिया ‘विस्ता हर्मोसा’ मा ग्राहकहरूको भीड कहिल्यै घट्दैन। उनले खुर्सानी, लसुन, जीरा, र अनानास रसमा २४ घण्टा म्यारिनेट गरिएको सुँगुर प्रयोग गर्छन्। २००३ मा लस एन्जलस टाइम्सले उनको टाकोलाई शहरकै उत्कृष्ट घोषित ग-यो। अल पास्टर टाको अर्जेन्टिना, अष्ट्रेलिया, लन्डन, र फिनल्याण्डको आर्कटिक सर्कल सम्म पुगेको छ।
पोलिएको मासु केवल खाना होइन। यो मानव यात्राको प्रतीक बनेको छ। प्राचीन ग्रीक योद्धाहरूको भोजदेखि ओटोमन सुल्तानको पिकनिक र लस एन्जलसका सडकहरूमा परोसिने टाकोसम्म यो स्वादले सधैं यात्रा गरिरहेको छ। एजेन्सी
प्रकाशित: २३ कार्तिक २०८२ ०८:४४ आइतबार





