५ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

नयाँ राजनीतिक क्षितिजको उदय

फैलिँदो युद्ध र डगमगाएका गठबन्धनहरू आजको कठोर राजनीतिक यथार्थका नयाँ पहिचान हुन्। यसलाई एक दशकअघिसम्म कल्पना पनि गरिएको थिएन तर हाल भइरहेको भूराजनीतिक विखण्डन कुनै आकस्मिक भएको ऐतिहासिक घटना होइन, न त यो केवल शक्तिशाली नेता, कमजोर संस्था वा संयममा आएको अचानक ह्रासको परिणाम मात्र हो। यसले झन् गहिरो कुरा प्रतिविम्बित गर्छ, त्यो हो– हाम्रो समाजको सामाजिक धरातल। स्पष्ट छ, राजनीति शून्यतामा हुँदैन। यो मानिसहरूको अनुभूत जीवनबाट जन्मिन्छ। उनीहरू आफूलाई सुरक्षित, सम्मानित र साझा भविष्यप्रति आशावादी महसुस गर्छन् कि गर्दैनन् भन्ने कुराको प्रतिविम्ब नै राजनीति हो।

त्यसो त, वर्षौंसम्म राजनीतिक अस्थिरतालाई बाह्य झट्काहरूको शृंखलाका रूपमा हेरिँदै आएको थियो तर आजको यथार्थले भन्छ, यो दशकौंदेखि गरिएका निर्णयहरूको परिणाम हो।

हरेक राजनीतिक परिवर्तनझैं यसका पनि ‘आपूर्ति’ र ‘माग’सहित दुवै पक्ष छन् तर नयाँ विश्व अव्यवस्थाबारेका अधिकांश टिप्पणी आपूर्ति पक्षमा अत्यधिक केन्द्रित छन्, जसमा अधिनायकवादी नेता र नयाँ सिद्धान्त, गुट र भूराजनीतिक संरचना समावेश छन्। यिनले उदार लोकतन्त्र र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको स्थान लिन सक्छन् भनेर मानिन्छ। यी महत्त्वपूर्ण पक्ष भए पनि यो दृष्टिकोणले वर्तमान प्रवृत्तिलाई प्रश्रय दिइरहेको र अघि बढाइरहेको मागको पक्षलाई बेवास्ता गर्छ।

किन यति धेरै मानिस अधिनायकवादी विचार र नेतालाई समर्थन गर्न तयार छन्? सर्वेक्षणहरूले देखाउँछन् कि यो मुख्यतः वैचारिक परिवर्तनको विषय मात्र होइन। आठ युरोपेली संघीय देशहरूमा गरिएको डेटाप्राक्सिसको अध्ययनअनुसार पपुलिस्ट दलतर्फ फर्किएका मतदातामध्ये केवल २३ प्रतिशतले ती दलका नीतिहरू उत्कृष्ट भएकाले समर्थन गरेको बताएका थिए। उनीहरूको यो रुझानको प्रमुख कारण चाहिँ आधारभूत हिसाबमा ‘परिवर्तनको चाहना’ थियो।

त्यस्तै ओइसिडीले गरेको पछिल्लो विश्वास सर्वेक्षण (ट्रस्ट सर्भे) ले ३० सदस्य राष्ट्रहरूमा केवल ३९ प्रतिशत नागरिकले आफ्नो राष्ट्रिय सरकारमाथि विश्वास गर्ने देखाउँछ। यसैगरी पिउ रिसर्च सेन्टरको २४ देशमा गरिएको अध्ययनले ५९ प्रतिशत उत्तरदाता लोकतन्त्रको कार्यप्रणालीप्रति असन्तुष्ट रहेको देखाएको छ।

यी तथ्यांकले लोकतान्त्रिक मूल्यप्रतिको समर्थन घटेको वा चरम विचारतर्फ अचानक मोडिएको संकेत गर्दैनन्, बरु लोकतान्त्रिक संस्थाहरूले सुखद जीवनको विश्वसनीय मार्ग प्रदान गर्न सक्छन् भन्ने विश्वास क्रमशः कमजोर हुँदै गएको देखाउँछन्। बिर्सन नहुने कुरा के हो भने हामीले असमानतालाई जरा गाड्न दियौं, सामाजिक गतिशीलतालाई रोक्यौं र विश्वासलाई क्षय हुन दियौं । यी सबै कारणले सामाजिक एकतालाई कमजोर बनायो।

यही हो ‘माग पक्ष’। यही परिवर्तनप्रतिका व्याकुलतालाई अधिनायकवादले उपयोग गर्छ। जब मानिसहरूले लोकतान्त्रिक संस्थाहरूले आफ्नो जीवन सुधार्न सक्छन् भन्ने विश्वास गुमाउँछन्, उनीहरूले विचार राम्रो छ कि छैन भन्नेभन्दा पनि ‘के कसैले हाम्रो कुरा सुन्दै छ?’ भन्ने प्रश्न सोध्न थाल्छन्।

यहीं गहिरो जोखिम लुकेको छ। जब जटिलतम लक्षणहरूको मिश्रणमा समस्याको मूल कारण छोपिन्छ, त्यतिबेला ध्रुवीकरण, लोकतान्त्रिक अवनति र अधिनायकवादप्रतिको समर्थनलाई छुट्टाछुट्टै समस्या जस्तो गरेर व्यवहार गरिन्छ। यसलाई अपूरा सामाजिक आवश्यकताहरूको अभिव्यक्तिका रूपमा लिइँदैन।

नागरिकहरूको वैध माग पूरा गर्न संस्थाहरूलाई पुनर्जीवित गर्नु वर्तमान समयको मुख्य चुनौती हो। लोकतान्त्रिक पुनर्जागरण संविधान वा सम्मेलनबाट होइन, एउटा आधारभूत प्रश्नबाट सुरु हुन्छ– के हाम्रो लोकतन्त्रले व्यापक समृद्धि सिर्जना गरिरहेको छ? के यसले सामाजिक गतिशीलता प्रवर्धन गरिरहेको छ? के यसले सबैलाई समाजमा हिस्सेदारी दिइरहेको छ? यदि उत्तर ‘होइन’ हो भने लोकतन्त्र केवल खोक्रो कर्मकाण्डमा सीमित हुन सक्छ।

लोकतान्त्रिक पुनर्जागरण कुनै अमूर्त अवधारणा होइन। यो परिणाम दिने संस्थाहरूको विषय हो– जसले दुरी सिर्जना गर्ने होइन, सहभागितालाई आमन्त्रण गर्छ। यसले आवाजबाट प्रभाव, संलग्नताबाट नेतृत्व र प्रयासबाट जीवनमा सुधारका अवसरसम्मको मार्ग प्रशस्त गर्छ। वैचारिक छोटो बाटो अवलम्बन नगरी संरचनात्मक समस्यासँग जुध्ने गम्भीर प्रतिबद्धता अहिले हामीलाई चाहिएको छ। खुला समाजहरू आर्थिक रूपमा गतिशील र सामाजिक रूपमा एकताबद्ध दुवै हुनुपर्छ। यसैगरी, यिनीहरू विश्वसँग जोडिएका र घरेलु रूपमा जरा गाडिएका, सिद्धान्तमा अडिग र व्यवहारमा व्यावहारिक हुनुपर्छ।

सुधार केवल राजनीतिमा मात्र सीमित रहनुहुँदैन। व्यवसायहरूले अवसर निर्माणमा अग्रणी भूमिका खेल्ने भएकाले उनीहरू पनि खुला, लोकतान्त्रिक र संस्थागत रूपमा स्थिर समाजका संरक्षक बन्नुपर्छ। परोपकारी संस्थाहरूले बजार र सरकारले सम्बोधन गर्न नसक्ने आवश्यकताहरूमा बढी प्रयोग र लगानी गर्नुपर्छ। नागरिक समाजले मानिसहरूलाई आवाज दिन र विश्वास निर्माण गर्न सक्छ।

यी सबै शक्तिलाई एक विश्वसनीय सामाजिक सम्झौतामा समेट्नुपर्छ। सान्दर्भिक, प्रतिनिधिमूलक र नागरिकका आवश्यकतामा केन्द्रित संस्थाहरू व्यापक नागरिक सहभागिता र नयाँ वैचारिक विधिहरूको आधारमा निर्माण हुनुपर्छ, जसले जनता र राजनीतिज्ञबिचको दुरी घटाउँछ।

यो चुनौती पुस्तागत हो। जब धेरै मानिसले लोकतन्त्र अब आफ्नोजस्तो लाग्दैन भन्ने महसुस गर्छन्, त्यतिबेला यो कमजोर बन्छ। टियुआई–स्टिप्टुङका अनुसार १६ देखि २६ वर्षका युरोपेलीमध्ये मात्र ५७ प्रतिशतले बिनासर्त लोकतन्त्र रोज्छन्, जबकि पाँचमध्ये एकले विशेष परिस्थितिमा अधिनायकवादी शासन स्वीकार्न तयार रहेको बताएका छन्।

यस सन्दर्भमा सावधानीपूर्ण आशावादको एउटा कारण भनेको बढ्दो स्पष्टता र यथार्थवाद नै हो। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले हालै भनेझैं ‘अतीतप्रतिको मोह कुनै रणनीति होइन’। सैन्य तनाव, दीर्घकालीन सहयोगीबिचको खटपट र अमेरिकी सहरहरूमा राज्य हिंसाको सामना गरिरहँदा हामी पुरानो व्यवस्था फर्किन्छ भन्ने भ्रम पाल्न अब सक्दैनौं। वैधता एक पटक गुमेपछि केवल भाषणले मात्र त्यसलाई पुनःस्थापित गर्न सकिँदैन।

आगामी कार्य सुस्त, कम नाटकीय र अझ बढी चुनौतीपूर्ण हुने देखिन्छ। त्यसो त खुला समाजका आधारस्तम्भहरू पुनर्निर्माण गर्नैपर्छ। हामीलाई यस्तो शिक्षा प्रणाली चाहिन्छ जसले वास्तविक अवसरहरू खोलोस्, यस्तो आर्थिक मोडल चाहिन्छ जसले गतिशीलता र व्यापक समृद्धि दुवै सुनिश्चित गरोस्, त्यस्ता संस्था चाहिन्छ जसले नागरिकलाई समस्या होइन, सहभागीका रूपमा व्यवहार गरून् र त्यस्ता नेता चाहिन्छ जसले असहज भए पनि सत्य बोलून्।

यो अर्को समाचार चक्रलाई जित्ने वा भव्य संरचनागत ढाँचा घोषणा गर्ने विषय होइन। यो लोकतान्त्रिक जीवनका आधारभूत सर्तहरू पुनस्र्थापित गर्ने, निराशालाई सक्रियतामा र विरोधलाई सम्भावनामा रूपान्तरण गर्ने विषय हो। यो नागरिक ऊर्जा र सार्वजनिक अधिकारबिचको टुटेको सेतु मर्मत गर्ने विषय हो।

वर्तमान समयले सिकाएको पाठ हो– खुला समाजहरू आफैं टिकिरहँदैनन्। तिनीहरूलाई धैर्यपूर्वक, सामूहिक रूपमा र विनम्रतासाथ निर्माण गर्नुपर्छ। हामी सबै त्यही सामाजिक धरातलमा छौं, जहाँ नयाँ राजनीतिक यथार्थले जरा गाडेको छ। परिवर्तन तिनै मानिसबाट आउनेछ, जो अनुमति कुर्न होइन, काम गर्न अघि सर्नेछन्। त्यसैले जिम्मेवारी केवल राजनीतिज्ञहरूको होइन, हामी सबैको हो। सन्तुष्टिलाई त्यागेर फरक यथार्थको मागलाई धैर्यपूर्वक निर्माण गर्ने समय अहिल्यै हो। भविष्य त्यसैमा निर्भर हुनेछ, जतिबेला हामीमध्ये कति जनाले ‘के हुन्छ’ भनेर चिन्ता गर्न छोडेर ‘के बनाउने’ भन्नेमा काम सुरु गर्छौं।

- साक्स पी क्यापिटल पाटनर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ५ चैत्र २०८२ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %