भारतको दिल्ली विश्वविद्यालयका महिला विद्यार्थीहरूले महिला हिंसा, पितृसत्ता र सुरक्षाका नाममा महिलामाथि लगाइने प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा ‘एक कचोरी, दो समोसा, मर्दों का क्या भरोसा’ लगायतका व्यंग्यात्मक नारा लगाइएको थियो। महिला सुरक्षाको विषयमा सामाजिक सञ्जालमा समेत ध्यान खिचेको यो नारासँगै विद्यार्थीहरूले ‘हम औरतें आजाद हैं’, ‘पितृसत्ता मुर्दावाद’ र ‘आजादी, आजादी’ जस्ता नारा लगाएका थिए।
दिल्लीको कालकाजी क्षेत्रमा १७ वर्षीया बालिकामाथि भएको कथित सामूहिक बलात्कारपछि विद्यार्थीहरूले श्रृंखलाबद्ध प्रदर्शन थालेका हुन्। लेडी श्री राम कलेज, गार्गी कलेज, मिरांडा हाउस र कमला नेहरु कलेजलगायतका विद्यार्थी प्रदर्शनमा सहभागी भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
विद्यार्थीहरूले सुरक्षाको नाममा महिलाको आवागमनमा प्रतिबन्ध लगाउनुको सट्टा सार्वजनिक स्थान सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सडकमा पर्याप्त बत्ती, सार्वजनिक यातायातमा सहज पहुँच र सुरक्षा व्यवस्था बलियो बनाउन माग गरेका छन्।
प्रदर्शनमा ‘मुन्ना करें, कुछ भी कांड, हर बार होगी मुन्नी बदनाम’, ‘नहीं किसी के बाप की, नारी अपने आप की’, ‘शर्म नहीं है मर्दों में, औरत क्यों है पर्दों में’ र ‘क्यूटी नहीं, क्रांति हूं’ जस्ता नारा पनि लगाइएको थियो। यी नाराहरू सामाजिक सञ्जालमा समेत चर्चामा आएका छन्।
त्यस्तै, ‘बलात्कारी को भीतर करो, लड़कियों को नहीं’ र ‘पिंजरा तोड्न नहीं छोडेंगे’ जस्ता नारा पनि लगाइएको थियो। उनीहरूले महिलालाई सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिनुपर्ने बताएका छन्।
महिला हिंसाविरुद्धको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘महिलाहरूको अवस्था महिलाहरूले नै परिवर्तन गर्नेछन्’ भन्दै सुरक्षित सार्वजनिक स्थान र महिलाको स्वतन्त्रताको माग गरेका छन्।
प्रकाशित: १४ आश्विन २०८३ १३:१५ बुधबार





-600x400.jpg)