सुख, शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ।
लुमधी भद्रकाली महिला समूह (निशा पुचः)को आयोजनामा टेबहालस्थित संकटा मन्दिर परिसरमा आश्विन कृष्ण तृतीयाका दिन हिजो वसुन्धरा देवीको व्रत एवं पूजा आराधना गरियो। वसुन्धरा र स्वयम्भूमा समेत गरिने उक्त व्रत, पूजापछि आज बिहान सुन्धारामा विधिपूर्वक स्नान गरेसँगै समापन गरिएको हो।
तीनै स्थानमा सामूहिक रूपमा उक्त व्रत एवं पूजा गर्ने परम्परा छ। त्यस व्रत एवं पूजामा वसुन्धरा देवीको विशेष आराधना गरिने परम्परा छ।
आश्विन कृष्ण तृतीयाका दिन राजधानीको विभिन्न स्थानमा व्रत बसी पूजा आराधना गरेका बर्तालुले आश्विन कृष्ण चौथीका दिन बिहान भने सुन्धारामा जम्मा भएर स्नान गर्ने व्रत विधि रहेको सबलबहालका गुरु सिद्धिमुनि बज्राचार्यले जानकारी दिए।
उक्त व्रत एवं पूजासँग एउटा किंवदन्ती पनि जोडिएको छ। प्राचीनकालमा सुदर्शन नामका राजा थिए। राजाका दुई श्रीमती थिए। कान्छी श्रीमतीको खराब भावना थियो। राजा कान्छी श्रीमतीको पक्षमा लागेर भोगविलासमा केन्द्रित हुँदा देशमा अनावृष्टि भयो। अनि जनतामा हाहाकार भयो। राज्यभरका जनताले खान नपाउने अवस्था बन्यो।
जेठी रानीले वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि वृष्टि भयो। त्यसपछिदेखि नै प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेर यो कथा सुन्ने परम्परा सुरु भएको हो भन्ने धार्मिक मान्यता छ।
पछिल्लो सुन्धारामा सहज रुपमा स्नान गर्ने सम्भावना नभएकाले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले दुःखेसो गरे।
भूकम्पपछि सुन्धरा पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवाला सरकारी निकायमा सुन्धारामा पानी आउनेगरी पुनर्निर्माण गर्न अनुरोध गरे तापनि त्यसको नतिजा हालसम्म प्राप्त हुन नसकेको उनको भनाइ छ।
प्रकाशित: १४ आश्विन २०८३ १३:१६ बुधबार





-600x400.jpg)