१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्य

फोनमा आफ्नै मान्छेको आवाज सुनिए पनि नहतारिनुहोस्, यस्तो छ ठगीको नयाँ तरिका

मान्नुस्, तपाईंकी छोरी पहिलो पटक एक्लै विदेश घुम्न गएकी छन्। एक दिन अचानक उनको फोन आउँछ। उनी रुँदै आफू लुटिएको र सबै सामान हराएकाले तत्काल पैसा चाहिएको बताउँछिन्।

फोनमा सुनिएको आवाज पनि छोरीकै जस्तो लाग्छ। यस्तो अवस्थामा तपाईंले उनको कुरा पत्याएर तुरुन्तै पैसा पठाउन सक्नुहुन्छ। तर, फोन गर्ने व्यक्ति तपाईंकी छोरी नभएर उनको आवाज नक्कल गर्ने एआई प्रविधि प्रयोग गर्ने ठग पनि हुन सक्छ।

यही जोखिमबारे अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। भिडियोले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर आफन्त र साथीभाइको आवाज नक्कल गरी मानिसलाई झुक्याउन सकिने देखाएको छ।

भिडियोमा सोफी नामकी युवती एक्लै विदेश यात्रा गरिरहेको देखिन्छिन्। यात्राको ३०औं दिनमा उनले सामाजिक सञ्जालमा सुझाव माग्दै भिडियो बनाउँछिन्। त्यसपछि उनको आवाज प्रयोग गरेर नक्कली आवाज तयार पारिन्छ। केही समयपछि सोफीकी आमालाई अपरिचित नम्बरबाट फोन आउँछ। फोन गर्ने व्यक्तिले आफू सोफी भएको बताउँछिन्। आफ्नो झोला चोरी भएको र त्यसमा पासपोर्ट, फोन तथा बैंक कार्डसमेत रहेको भन्दै उनले आमासँग सहयोग माग्छिन्।

आमालाई फोनमा सुनिएको आवाज आफ्नै छोरीको जस्तै लाग्छ। तर, त्यो आवाज एआईको सहायताले तयार पारिएको नक्कली आवाज हुन्छ। भिडियोमा केही सेकेन्डको वास्तविक आवाजकै आधारमा एआईले मानिसको आवाज नक्कल गर्न सक्ने र यस्तो नक्कली आवाज चिन्न झन् कठिन हुँदै गएको उल्लेख छ।

एआईको प्रयोगबाट ठगहरूले आफन्त वा साथीभाइको आवाज नक्कल गरेर फोन गर्न सक्छन्। उनीहरूले सामान हराएको, दुर्घटना भएको वा तत्काल आर्थिक सहयोग चाहिएको जस्ता कुरा सुनाएर मानिसलाई भावनात्मक दबाबमा पार्न सक्छन्। यस्तो अवस्थामा फोन उठाउने व्यक्तिले आवाज चिनेको भरमा विश्वास गर्न सक्छन्। ठगहरूले यही विश्वासको फाइदा उठाउँदै हतारमा पैसा पठाउन लगाउन सक्छन्।

इन्टरपोलको जनचेतनामूलक भिडियोमा पनि नक्कली आवाज सुनेपछि बैंक खाताबाट एक हजार ५०० अमेरिकी डलर पठाउन खोजिएको दृश्य देखाइएको छ। भिडियोले परिचित व्यक्तिको आवाज सुनिएकै आधारमा विश्वास गरेर पैसा पठाउँदा ठगीमा पर्न सकिने जोखिम देखाएको छ।

यस्तो ठगीबाट जोगिन अपरिचित वा शंकास्पद फोन आएमा हतारमा निर्णय नगर्न र प्राप्त जानकारी दोहोरो जाँच गर्नुपर्छ। आफन्तले आपत्कालीन अवस्थाको कुरा गर्दै पैसा मागेमा उनीसँग पहिल्यै थाहा भएको अर्को नम्बरमा सम्पर्क गरेर वास्तविकता पुष्टि गर्न सकिन्छ। परिवारका सदस्यबिच पहिले नै तय गरिएको गोप्य संकेत शब्द प्रयोग गर्नु पनि उपयोगी हुन सक्छ।

त्यस्तै, बैंक खाता र अन्य महत्त्वपूर्ण अनलाइन सेवामा दुई-चरण प्रमाणीकरण प्रयोग गर्नु पनि सुरक्षाका लागि उपयोगी हुन्छ। फोन गर्ने व्यक्तिको आवाज परिचित भए पनि उसको पहिचान पुष्टि नगरी पैसा पठाउनु हुँदैन।

अनलाइन ठगी गर्नेहरूले एआईबाट आवाज नक्कल गर्ने मात्र होइन, सामाजिक सञ्जालका आइडी ह्याक गरेर वा उस्तै नाम र तस्बिर राखेर नक्कली प्रोफाइल बनाएर पनि पैसा माग्ने गर्छन्। यस्ता प्रोफाइलबाट साथीभाइ वा आफन्तलाई आफू समस्यामा परेको, उपचार गर्नुपर्ने वा तत्काल पैसा आवश्यक भएको भन्दै म्यासेज पठाउन सक्छन्। 

त्यस्तै, चिट्ठा परेको वा आकर्षक उपहार जितेको भन्दै त्यसलाई प्राप्त गर्न कर, भन्सार वा अन्य शुल्क तिर्नुपर्ने बताएर पनि ठगी हुन सक्छ। त्यसैले सामाजिक सञ्जालमा चिनेकै व्यक्तिको आइडीबाट पैसा माग्ने म्यासेज आए पनि फोन गरेर छुट्टै पुष्टि गर्नुपर्छ। चिट्ठा वा उपहार प्राप्त गर्न अग्रिम रकम मागिएमा शंका गर्नुपर्छ।

अपरिचित लिंक नखोल्ने, पासवर्ड र ओटीपी कसैलाई नदिने तथा सामाजिक सञ्जालमा दुई-चरण प्रमाणीकरण सक्रिय राख्ने गर्नाले यस्ता ठगीबाट जोगिन मद्दत मिल्छ।

प्रकाशित: १० कार्तिक २०८३ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App