नेपालीहरूको महान् चाड दसैं भर्खरै सकियो भने तिहार दैलोमा आइसकेको छ। पारिवारिक मिलन, मित्र भेट अनि खानपिनको सेरोफेरोमा रुमलिने रमझमले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्यो भन्ने गुनासो सुनिन्छ। दसैं र तिहारमा पालना गर्नुपर्ने खानपिनका संहिताले सामाजिक सञ्जालमा निकै महत्व पाएको देखिन्छ तर के विज्ञले सोचेझैं चाडबाडले व्यक्तिको समष्टिगत स्वास्थ्यमा नकारात्मक असर नै पार्छ त ? सांस्कृतिक चाडपर्वले पार्ने स्वास्थ्य असरको समष्टिगत मूल्यांकन यो आलेखको उद्देश्य रह्यो।
विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेको सिद्धान्तले केवल रोग नलाग्नुलाई मात्र स्वस्थ मान्दैन, बरु ‘हेल्दी’ कहलिन शारीरिक र मानसिक तन्दुरुस्तीका अतिरिक्त सामाजिक रूपले समेत व्यक्ति ठिकठाक हुनुपर्ने ठान्छ। सामाजिक प्राणी भएकाले भौतिक र दिमागी रूपले निरोगी भए पनि समाजमा घुलमिल नहुने अनि एकांकी जीवन व्यतीत गर्ने व्यक्तिलाई पूर्ण स्वस्थ मान्दैन डब्लुएचओको विधानले। त्यस्तै, धर्मग्रन्थ र सनातन मान्यताले शरीर, मस्तिष्क र आत्मालाई पृथक् ठान्दैन, बरु एकीकृत तत्व मान्छ अनि ‘बडी, माइन्ड र स्पिरिट’को समष्टिगत ताजगीको परिकल्पना गर्छ। शरीर र दिमाग ठिकठाक भए पनि आत्मा बेचैनी भएको व्यक्तिलाई स्वस्थ मानवको दर्जा दिँदैन सनातन सोचले। उल्लिखित दुवै अवस्थालाई संश्लेषण गर्दा शरीर, दिमाग र मनोभाव सबै दुरुस्त भएर समाजमा आफ्नो स्थान कायम गर्न सक्ने नै यथार्थमा स्वस्थ मानिस हो भन्दा अत्युक्ति नहोला।
दसैं, तिहार, छठ, बुद्ध जयन्ती, ल्होसारलगायतका सबै चाडहरूमा परिवार, वंश अनि समुदाय एकीकृत हुन्छन्, ठुलो जमातले आफ्नो सहभागिता जनाउँछ। परम्परादेखि चल्दै आएका पर्वमा भाग लिने व्यक्तिहरू डब्लुएचओको परिभाषाअनुसार सामाजिक रूपले स्वस्थ भन्नैपर्ने हुन्छ। चाडहरूले समुदायलाई एकीकृत गर्ने भएकाले व्यक्तिले एकांकी महसुस गर्दैन। एक्लै बस्ने आदतले व्यक्तिलाई मानसिक थकानमा धकेल्न सक्ने भएकाले शताब्दीयौंदेखि गाउँटोलमा मनाइने जात्रा र मेलाहरू आफैंमा एक उपचार विधिका रूपमा स्थापित भए।
उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छन्। अध्ययनले मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक्तिलाई थकानबाट मुक्त गर्ने देखायो।
हिन्दुहरूको महान् चाड दीपावलीमा हुने सामाजिक सहभागिताले कसरी व्यक्तिलाई स्वास्थ्य र सामाजिक लाभ दिएको छ भन्ने विषयलाई केन्द्रमा राख्दै न्युजिल्यान्डको भिक्टोरिया विश्वविद्यालयका प्राध्यापक रोनाल्ड फिसरलगायतका अनुसन्धानकर्ताहरूले सन् २०२० मा जर्नल ‘फिलोसफिकल ट्रान्ज्याक्सन्स अफ द रोयल सोसाइटी’मा एक अन्वेषण प्रकाशित गरे। दुई भारतीय समूहले दिवालीका समयमा सँगै व्यतीत गरेको केवल दुई हप्ता लामो सहकार्यले मात्र पनि सहभागीहरूबिच दीर्घकालीन भरोसा र स्वास्थ्यमा सकारात्मक असर पारेको देखायो उक्त अध्ययनले। अनुसन्धानले भारतीय समुदायलाई केन्द्रमा राखेको भए पनि समान रूपले नेपालमा मनाइने यमपञ्चकले गोर्खालीलाई स्वास्थ्यलाभ नदिने प्रश्नै भएन।
धार्मिक कार्यक्रमको सहभागिताले व्यक्तिको मृत्युको सम्भाव्यतालाई कसरी प्रभावित पार्छ भन्ने सम्बन्धमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थले सन् २०१६ मा ‘जामा इन्टरनल मेडिसिन’ मा एक नतिजा प्रकाशित गर्यो। आस्थावान् ७५ हजार महिलालाई केन्द्रमा राखिएको उक्त अध्ययनले कम्तीमा हप्तामा एक पटक धार्मिक समारोहमा सहभागिता जनाउने महिलामा मृत्युको सम्भाव्यता ३३ प्रतिशत कम हुने देखायो। त्यसका अतिरिक्त धर्मसँगको लगावले क्यान्सर र मुटुरोगको सम्भाव्यतालाई मात्र न्यून नगर्ने, बरु महिलाहरू मानसिक रूपले समेत सबल हुने उक्त आलेखको निष्कर्ष थियो। त्यस्तै, हार्वर्ड विश्वविद्यालयबाटै सन् २०१६ मा जर्नल ‘जामा साइकियाट्री’मा प्रकाशित एक फरक अध्ययनले धार्मिक पर्वको सहभागिताले महिलाको आत्महत्या दर घटाउने बेहोरासमेत देखायो। उल्लिखित दुई अध्ययनहरूले धार्मिक कार्यक्रमको सहभागिताले महिलाको भौतिक र मानसिक स्वास्थ्यलाई फाइदा पुर्याउने देखियो। अध्ययनले केवल स्त्रीवर्गलाई समेटेको भए पनि धार्मिक सहभागिताका कारण महिलाले पाउने प्रतिफल पुरुषले नपाउने भन्ने प्रश्न रहेन।
मान्यजनसँग दसैंमा टीका ग्रहण गर्ने अनि दिदीले भाइलाई तिहारमा टीका लगाइदिने रीत परापूर्वदेखि कायम छन्। परम्परालाई भत्काउनुपर्ने मान्यतासहित नेपालमा आन्दोलन पनि भए। परिपाटीलाई निरन्तरता दिने कि तहसनहस पार्ने भन्ने प्रश्नको जवाफका लागि सन् २०१८ मा क्यानडाको युनिभर्सिटी अफ टोरन्टोका प्राध्यापक निकोलस हब्सनले एक अध्ययन प्रकाशित गरे। परम्परालाई पछ्याउँदा मानसिक रूपले व्यक्तिले सबल महसुस गर्ने उक्त अन्वेषणको निष्कर्ष थियो। सामाजिक रीतसँगको विच्छेदले व्यक्ति मनोवैज्ञानिक रूपले कमजोर महसुस गर्ने अनि मानसिक रोगको सिकार बन्न सक्ने बेहोरासमेत उक्त अध्ययनले देखिएकाले परम्परागत अभ्यास छोड्नु बुद्धिमानी देखिएन।
अमेरिकाको ड्युक विश्वविद्यालयका डा. हेराल्ड कोनिगले धर्म, आध्यात्म र स्वास्थ्यबिचको अन्तर्सम्बन्ध स्थापनाका खातिर पछिल्लो १४० वर्षको अवधिमा प्रकाशित दर्जनौं अन्वेषणात्मक आलेखहरू संश्लेषण गरी एक समीक्षात्मक निष्कर्ष सन् २०१२ मा प्रकाशित गरे। कुल धर्मको पालना र अध्यात्मप्रतिको लगावले व्यक्ति मानसिक रूपले सबल बन्छ अनि रोगसँग लड्ने तागत हासिल गर्छ भन्ने निष्कर्ष रह्यो उक्त ‘रिभ्यु आर्टिकल’को। धर्म र आत्माप्रतिको विश्वासले मनोवैज्ञानिक शक्ति दिने अनि उक्त ऊर्जाले व्यक्तिलाई शारीरिक र मानसिक रूपले सबल बनाउने देखियो।
सन् २०२१ मा ‘जर्नल पिएलओएस वान’मा प्रकाशित एक आलेखले नियमित प्रार्थनामा सहभागी क्रिस्चियन धर्मावलम्बीको स्वास्थ्यावस्थाबारे चर्चा गरेको छ। उक्त अध्ययनले प्रार्थनामा नियमित सहभागी हुने समूहले सकारात्मक ऊर्जा महसुस गर्ने अनि नकारात्मक सोचमा कमी आउने देखायो। समूहमा प्रार्थना गर्दा भक्तहरूबिचको सामाजिक सम्बन्ध थप सबल भएको देखियो अनि मानसिक स्वास्थ्यमा समेत सुधार भएको पाइयो। सामूहिक प्रार्थनामार्फत अन्य धर्मावलम्बीले हासिल गरेको स्वास्थ्यलाभ हिन्दुले नपाउने भन्ने हुँदैन नै।
उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, बरु गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छ। सामूहिक भजनकीर्तनले पार्ने स्वास्थ्य असरलाई समेत अस्ट्रेलियाका मनोवैज्ञानिक समूहले चिरफार गरेर सन् २०२४ मा ‘जर्नल अफ रिलिजन एन्ड हेल्थ’ मा प्रकाशित गरे। मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक्तिलाई थकानबाट मुक्त गर्ने देखायो उक्त लेखले।
कुल–धर्मको पालना र अध्यात्मप्रतिको लगावले व्यक्ति मानसिक रूपले सबल बन्छ अनि रोगसँग लड्ने तागत हासिल गर्छ। धर्म र आत्माप्रतिको विश्वासले मनोवैज्ञानिक शक्ति दिने अनि उक्त ऊर्जाले व्यक्तिलाई शारीरिक र मानसिक रूपले सबल बनाउने देखियो।
विभिन्न धर्म, वर्ण र समुदायलाई केन्द्रमा राखी गरिएका उपर्युक्त अन्वेषण र त्यस विषयमा प्रकाशित अन्य सयौं अध्ययनले पुर्खादेखि चलिआएका रिवाज अनि धार्मिक अनुष्ठान र परम्पराले व्यक्तिलाई शारीरिक तथा मानसिक स्वास्थ्यलाभ अनि आत्मीय आनन्द दिने देखाएका छन्। तर, धार्मिक रीतिको पालनाले दिने स्वास्थ्यलाभ ज्वरो आएको व्यक्तिलाई सिटामोलले देखाउने असरजस्तो हुँदैन, बरु सूक्ष्म तर क्रमिक सुधार हो भन्ने बिर्सनुहुँदैन।
भजनकीर्तन, दसैंतिहारजस्ता चाडपर्व मनाउँदा व्यक्तिले प्रसन्नता हासिल गर्छ। खुसीपछि व्यक्तिका मस्तिष्कका कोषहरू क्रियाशील हुन्छन्। दिमागले शरीरका प्रत्येक अंगप्रत्यंगलाई नियन्त्रण गर्ने भएकाले एकै पटक धेरै प्रकृतिका जैविक परिवर्तन हुन्छन्। परिणामस्वरूप विभिन्न किसिमका हर्मोनहरू उत्पादन हुन्छन्। ती रासायनिक तत्वले शारीरिक जैविक प्रक्रियामा देखाउने असर माकुराको जालोभन्दा पनि अत्यधिक जटिल हुन्छ। उदाहरणका लागि, खुसीको अनुभूतिपछि व्यक्तिको आनुवंशिक तत्वमा खराबी नआओस् भन्नका लागि ‘डिएनए’ मर्मत गर्ने इन्जाइमहरू थप क्रियाशील हुन्छन् अनि क्यान्सरको सम्भाव्यता कम हुन्छ। त्यस्तै, प्रसन्नतासँगै प्रतिरक्षा प्रणाली थप मजबुत बन्ने भएकाले बाह्य सूक्ष्मजीवको संक्रमणको गुन्जायस हुँदैन। अनि खुसीसम्बन्धी हर्मोनले आन्तरिक दुःख कम गरी ‘बायोलोजिकल’ उमेर घटाउनसमेत मद्दत गर्ने भएकाले व्यक्तिको आयु बढ्छ।
परम्परादेखि चलिआएका रीतिरिवाज तथा धार्मिक चाडपर्वले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले कुनै पनि बहानामा सनातन अभ्यास छोड्नुहुँदैन। प्रचलन धान्ने नाममा विकृति र विसंगतिलाई भने हौस्याउनु हुँदैन, बरु समयानुकूल सुधारको वकालत गर्नुपर्छ। अन्य रीतिलाई दखल नगरी दसैंमा खाइने मासुको मात्रा अनि तिहारमा खपत हुने मिठाइको परिमाणलाई घटाउँदा के बिग्रन्छ र ? त्यस्तै, चाडपर्व मनाउन आर्थिक अवस्था नै धर्मराउने गरी भड्किलो शैली किन अपनाउनुपर्यो ? परम्परादेखि चलिआएका अभ्यास नेपाली पहिचानसमेत भएकाले त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य हो।
प्रकाशित: १० कार्तिक २०८३ ११:२७ मंगलबार

