"यो औषधि र रगत छिट्टै लिएर आउनु।" डाक्टरले विश्वराजलाई एउटा चिर्कटाे थमाउँदै भन्यो।
माइली राति अचानक विमार भएपछि उनकाे तुरून्तै अप्रेसन गर्नैपर्ने भयो। सबै तैयारी विश्वराजले गर्दै थिए।
माइली सिरियस थिइन्। उनकाे शरीरमा कुनै नसा चुँडिएर रगत भित्र पेटमा फैलिएको डाक्टरले बतायो। त्यो सुनेपछि सबै चिन्तामा थिए। बाँच्ने मर्ने अनिश्चित नै थियो।
"यो फौम फटाफट सही छाप गर? ढिला नगर। अब बचाउने त प्रयास मात्र हो। मर्ने सम्भावना नै बढी छ।" डाक्टरको आवाजले आङ्ग सिरिङ्ङ भयो। आत्तिएर माइलालाई यताउता हेर्याे तर देखेन। उफ! अब कसलाई सही गराऊ! विश्वराज सोचमा पर्याे।
"के सोच्नुभाको? काँधमा हात राखेर सिमाले सोधिन्।
ऊ झसङ्ग भयो।
विश्वराजले सिमातिर फौम टकार्दै भन्यो,"यो फौममा फटाफट सही गर त।"
उनले सहीछाप गरिन् र त्यो फौम जम्मा गराएपछि ढिला नगरी डाक्टरले अप्रेशन ठेटरमा पुराए। विश्वराज पनि त्यो ठेटरमा सँगै प्रवेश गरेको थियो।
डाक्टरले आदेश दियो, "खै त औषधि र रगत ढिला नगर्नु, भित्रै दिएर जानुहोला।"
विश्वराज बाहिर अझै रगत आइपुगेको थिएन उनीहरू ब्लैड बैंकमा रगत लिन उतिबेला नै पठाएको आइपुगेका थिएनन्।
ऊ दौड्दै गेटबाहिर गयो उनीहरू आउँदै थिए। हातबाटै औषधिको पोका र रगतको थैलीहरू तानेर अप्रेशन ठेटरमा पुग्यो। विश्वराजले भित्रको दृश्य देखेर ऊ थरथर काँप्यो। यस्तो उसले कहिल्यै देखेको थिएन।
माइलीको पेट बाहिर निकालेर धोइरहेका थिए। तल फर्श रक्तम्मै थियो। डाक्टरले ऊतिर कोखे नजरले हेर्याे र सहयोगीलाई केही इसारा गर्याे।
उसको हातबाट औषधि र रगतका पोका एकजनाले छोप्यो र उसलाई हातको इसाराले बाहिर जान भन्यो।
"उफ राक्षसहरू!" विश्वराजले बाहिर थरथर काँप्दै भन्यो। "के भयो ?" सिमाले सोधिन्।
उसले अँध्यारो अनुहार बनाउँदै भन्यो, "खै बचाउन भनेर पठाएको त!"
करिव तीन घन्टापछि डाक्टर बाहिर आयो र मुस्कुराउँदै भन्यो,"बधाई छ, सर्जरी सफल भयो।"
प्रकाशित: १९ चैत्र २०८२ ०९:२४ बिहीबार





