२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्य

कमिला तस्करी गर्न खोजेको आरोपमा चिनियाँ नागरिक पक्राउ

केन्याको राजधानी नैरोबी स्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार बढी रानी कमिला देश बाहिर तस्करी गर्न लागेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन्। 

अधिकारीहरूका अनुसार झाङ केकुन नामका ती व्यक्तिलाई सुरक्षा जाँचका क्रममा चीनतर्फ लैजान लागेको सामानमा ठूलो संख्यामा जीवित कमिला भेटिएपछि नियन्त्रणमा लिइएको हो। सामानभित्र विशेष टेस्ट ट्युबमा राखिएका कमिला तथा टिस्यु पेपरका रोलभित्र लुकाइएका थप कमिलाहरू बरामद गरिएको बताइएको छ।  

अदालतमा सरकारी अभियोजक एलेन मुलामा ले दिएको जानकारी अनुसार झाङको व्यक्तिगत सामानबाट एक हजार ९४८ वटा बगैंचाका रानी कमिला विशेष टेस्ट ट्युबमा प्याक गरिएको अवस्थामा भेटिएका थिए। त्यस्तै झोलाभित्र टिस्यु पेपरका तीन रोलमा लुकाइएका झन्डै ३०० जीवित कमिला समेत बरामद गरिएको उनले बताए। 

घटनापछि केन्या वन्यजन्तु सेवा का अधिकारीहरूले यो तस्करी अन्तर्राष्ट्रिय नेटवर्कसँग जोडिएको हुनसक्ने आशंका गरेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार युरोप र एसियामा विदेशी घरपालुवा जनावर बजारमा बगैंचाका रानी कमिलाको माग बढ्दै गएको छ।  

वैज्ञानिक रूपमा मेसर सेफालोट्स भनिने यी कमिलाहरू अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिद्वारा संरक्षित प्रजातिमा पर्छन् र तिनीहरूको व्यापार कडा रूपमा नियमन गरिएको छ।

वरिष्ठ अधिकारी डंकन जुमाले अनुसन्धान अब अन्य शहरहरूमा पनि विस्तार गरिएको जानकारी दिएका छन्। कमिला सङ्कलन भइरहेको आशंका गरिएका स्थानहरूमा थप पक्राउ पर्ने सम्भावना रहेको उनले बताएका छन्।

गत वर्ष पनि केन्याको अदालतले हजारौं जीवित रानी कमिला देश बाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा चार जनालाई एक वर्षको जेल सजाय वा करिब ४७ हजार ७०० अमेरिकी डलर जरिवाना सुनाएको थियो। उक्त घटनालाई अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्धको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेका थिए।

विशेषज्ञहरूका अनुसार विशाल अफ्रिकी हार्वेस्टर कमिला पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिन्छन्। तिनीहरूलाई प्रकृतिबाट हटाउँदा माटोको स्वास्थ्य र जैविक विविधतामा गम्भीर असर पर्न सक्छ।   

प्रकाशित: २९ फाल्गुन २०८२ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App