रोल्पाका लोकेन पुनले खिचेको १७ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल छ।
मुसलधारे पानी, हिलो बाटो र घना जंगलको परवाह नगरी विद्यालय हिँडेका साना बालबालिकाको उक्त भिडियोलाई तीन करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ।
नेपालमा मात्र होइन, भारतलगायत अन्य देशमा पनि यो भिडियोले ठूलो चर्चा पाएको छ। पहेँलो, हरियो र गुलाबी रेनकोट लगाएका साना बालबालिकाको कठिन यात्रा देखिने यो क्लिपले करोडौं मानिसको मन जितेको छ।
तर, भिडियो भाइरल भएसँगै केही व्यक्तिहरूले यस्तै खालका भिडियो बनाउने क्रम बढेको छ। जसले बालबालिकालाई अनावश्यक दबाब दिनुका साथै उनीहरूलाई व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न थालिएको छ।
भिडियो खिच्ने लोकेन पुनले यसप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो भिडियोलाई हजुरहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै हुनुहुन्छ, जसले गर्दा बालबालिकाको बाल मस्तिष्कमा असर पर्न सक्छ। कृपया सजग रहनु होला।’
लोकेनले आफ्नो १७ सेकेन्डको भिडियोमा कुनै व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘मैले राखेको भिडियोमा मेरो कुनै स्वार्थ थिएन। थियो त केवल एउटा पल र समय।’ उनले भिडियोलाई देश-विदेशसम्म पुर्याउने सबैलाई धन्यवाद दिएका छन्।
भाइरल भएका ती बालबालिकाको उच्च शिक्षासम्मको पढाइ निःशुल्क हुने भएको छ। रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, गाउँपालिका-४ सुर्पाल र एड्भान्स चाइल्ड केयर इङ्लिस स्कुलका प्रिन्सिपल तेजबहादुर पुनलगायतको पहलमा यो निर्णय भएको हो।
विद्यालयले कक्षा ६ सम्म निःशुल्क शिक्षा दिने र त्यसपछिको उच्च शिक्षाको जिम्मेवारी गाउँपालिकाले लिने भएको छ।
अब ती साना बालबालिकाको भिडियो वा तस्बिर अनावश्यक रूपमा खिचेर सामाजिक सञ्जालमा सेयर नगर्न सबैमा आग्रह गरिएको छ।
बारम्बारको प्रचार र चर्चाले उनीहरूको बालमस्तिष्कमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले उनीहरूलाई सामान्य, सुरक्षित र सम्मानजनक वातावरणमा पढ्न र हुर्कन दिनु सबैको जिम्मेवारी हो।
प्रकाशित: ९ श्रावण २०८३ १४:२६ शनिबार



-600x400.jpg)

