धरानको पिण्डेश्वरमा पनि ठूलै मेला लाग्छ। त्यहाँ शिवलिंगका साथै तलाउ छ। तलाउमा सरस्वती। विजयपुर डाँडामा अवस्थित पिण्डेश्वरधाम प्राचीन तीर्थ हो। किंवदन्तीअनुसार देवता र दानवबीचको समुद्र मन्थनबाट निस्किएको अमृतको पिण्ड बनाई विजयपुरमा स्थापना गरियो। त्यसमा शिवजीको बास छ। देवताहरूले पिण्डेश्वर स्थापना गरेपछि कोसीको जल ल्याएर चढाएका थिए।
धरानदेखि १७ किमि पश्चिम दुरीको चतराबाट जल ल्याइन्छ। कति तीर्थालु चतराभन्दा सात किमि पर्तिर बराहक्षेत्रसम्म पुग्छन्। त्यहाँ कोका र कोसी नदी संगमको जल बराह (विष्णु) लाई चढाएर पिण्डेश्वर आउँछन्।
धराने पर्यटनका ज्ञाता वासुदेव बरालका अनुसार नेपालका विभिन्न भू–भाग, भारत र भुटानसम्मका तीर्थालु आइपुग्छन्। त्यसैले पिण्डेश्वर, बराहक्षेत्र र चतराधामको एकीकृत धार्मिक पर्यटन विकास आवश्यक छ।
नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाएका छन्। उनी चतराधाममा ०५४ देखि आश्रम बनाएर बस्दै आएका छन्। हरि (विष्णु) को बासस्थान बराहक्षेत्र जाने बाटोमा पर्ने भएकाले हरिद्वार भनिएको।
विष्णुले कौशिकी तटमा मेला चलाएको धर्मग्रन्थमा उल्लेख छ। त्यसकै सम्झनामा देवाचार्यले ०५९ वैशाखदेखि महिना दिन चतरामा कुम्भ पिण्डेश्वर महोत्सव गरेका थिए। दोस्रो कुम्भ २०७० चैत १७ देखि महिना दिन चलेको थियो। लाखौंले कुम्भ स्नान गरेका थिए।
देवाचार्यलाई वनारसको कासी पण्डित सभाले ०६७ वैशाख १ गते जगद्गुरु उपाधि दिएको थियो। पछिल्लो समय जगद्गुरु कञ्चनपुरको भम्किनीमा ७५ फुट अग्लो नेपाल आमाको मूर्ति स्थापना गर्ने अभियानमा छन्।
चतरामा ५९ फिट अग्लो कुम्भ स्तम्भ छ। चतराधाममा ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर, हवन कुण्ड, वृद्धाश्रम लगायतका सम्पदा छन्।
बराहक्षेत्र दर्शन गर्न जानेहरू एक रात चतरामा बस्छन्। चतरा बजारमा सामान्य खाना र बासको सुविधा छ। त्यहीँबाट कोसी तीरैतिर हिँडे बराहक्षेत्र पुगिन्छ। बराहसम्म कच्ची मोटरबाटो खुलेको छ।
बराह अवतार भगवान् विष्णुको तेस्रो अवतार हो। कथाअनुसार हिरण्याक्ष दैंत्यले पृथ्वी चोरेर पाताल पुर्यावएछ। त्यही बेला पृथ्वी र वेदको रक्षा गर्न विष्णुले बराह अवतार लिएछन्। दैंत्यको संहार गरेपछि उनी कोका र कौशिकी नदी संगममा बसेछन्।
हिन्दु धर्मावलम्बीमाझ बराह क्षेत्रको महत्व ठूलो छ। हिन्दुका प्रमुख चार धाम कुरुक्षेत्र, हरिहर क्षेत्र, मुक्तिक्षेत्र र बराहक्षेत्र हुन्। पितृ उद्धारका लागि कोका र कोसीको संगममा नुहाएर श्राद्ध गरिन्छ।
नदी किनारमा बराहका मन्दिर छन्। हरियाल माझ झुरुप्प बस्तीछेउमा मन्दिर। प्राकृतिक सौन्दर्य भरपुर छ। दुःखको कुरा, नदी किनारको पुराताŒिवक मन्दिर क्षेत्र जोखिममा परेको छ। बर्सेनि कोसीले कटान गर्दै आएको छ।
बस्तीमा सामान्य खाजा, खाना र बास पाइन्छ। त्यहाँ एकै रात पाँच सय मान्छे अटाउँछन्। केही धर्मशाला पनि छन्। स्तरीय होटल छैन। आरामदायी बास र भोजनका लागि धरान फर्कनुपर्छ। धरानबाट रिजर्भ गाडीमा जाँदा चतरा र बराहक्षेत्र घुमेर बेलैमा धरान फर्किन सकिन्छ।
लाहुरे, कालो बंगुर (सुँगुर) र फेसनको सहरका रूपमा ख्याति कमाएको धरान राई, लिम्बु, नेवार, गुरुङ, मगर, क्षेत्री, बाहुनलगायत जातजातिको साझा फूलबारी हो।
धरानमा हेर्ने चिज धेरै छन्। बसपार्क छेवैमा घन्टाघर। आदिकवि भानुभक्त आचार्यको सालिक छेवैको घन्टाघर धरानको चिनारी बनिसकेको छ। त्यहीँ भूकम्प स्मारक छ। १२ फिटे स्तम्भमा ०४५ भदौ ५ गते भूकम्पमा ज्यान गुमाउने धरानेको नाउँ कुँदिएको छ।
विजयपुर डाँडामा दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या मन्दिर छन्। धरानको माउ विजयपुर। विजयपुर विसं १६४१ तिरै सहरका रूपमा स्थापित थियो। तिनताका धरानमा बस्ती थिएन।
विजयपुर किरात प्रदेशको राजधानी थियो। नेपाल एकीकरण अभियानमा सन् १९७४–१७७४ सम्म युद्ध भएपछि विजयपुर गोरखा राज्यमा विलय भयो। त्यति बेला विजयपुरमा किरात राजा बुद्धिकर्ण थिए। विजयपुरको उत्तरपूर्वी कुनामा उनको भताभुङे दरबारको अवशेष छ। त्यहाँको जंगललाई नगरपालिकाले पार्क बनाउन खोजेको सहकर्मी पत्रकार रोहित राईले सुनाए।
धरानमा बस्ती बसेको ११५ वर्ष भइसक्यो। त्यहाँ राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९५८ मा चन्द्र नगर (पुरानो बजार) र विसं १९९४ मा जुद्ध शमशेरले जुद्ध नगर (नयाँबजार) बसाएका थिए।
धनकुटा, भोजपुर, पाँचथर, तेह्रथुम, संखुवासभालगायत पहाडी जिल्लाको 'गेट वे' धरानमा पर्यटनको प्रशस्तै सम्भावना छ। खान/बस्न सयभन्दा बढी होटल, लज र रेस्टुरेन्ट छन्।
धरानमा पहिलोपटक प्याकेज टुर गराउने श्रेय पर्यटनकर्मीद्वय वासुदेव बराल र एलिना मगरको सेछ ट्र्राभलिङलाई जान्छ। उसले बजारका साथै सेरोफेरोका बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, भेडेटार, शिवजट्टा, सप्तकोसी, ध्वजेडाँडा, राजारानी समेटेर प्याकेज बनाएको छ।
विष्णुपादुकामा विष्णु भगवान्ले श्राद्ध परम्परा सुरु गरेको, विष्णुले वराह क्षेत्रमा बराह अवतार लिएको, रामधुनीमा राम वनवासका क्रममा आइबसेको विश्वास गरिन्छ। यलम्बर पार्क र हरियाली वनमा घन्टौं रमाउन सकिन्छ।
धरानमा सेछ होटल चलाउँदै आएका पर्यटनकर्मी बरालले पूर्वको पर्यटनलाई ग्रीन इस्टका रूपमा ब्रान्डिङ गरेर मार्केटिङ गर्ने अभियान चलाएका छन्। 'ग्रीन इस्टको मार्केटिङ गर्न हामी साउन १८ देखि दार्जिलिङ, सिलगुडी र ग्यान्टोकसम्म जाँदै छौंं,' उनले सुनाए।
'ग्रीन इस्ट'मा समेटिएका धरान, इलाम र ताप्लेजुङ साँच्चै ग्रीन छन्।
धरानमा दुई रात बस्ने गरी यात्रा योजना बनाउन सके राम्रो। धरान आफैंमा घुम्नलायक छ। वैशाखे भूकम्पले धरान सुरक्षित छ। धरानबाट १७ किलोमिटर दुरीको भेडेटार वर्षैभरि शीतल हुन्छ। गर्मी याममा एक रात त्यहाँ पनि बिताउने कि!
धरानबाट कोसेली ल्याउने कुरा धेरै छन्। ताप्लेजुङे छुर्पी, सुँगुरको सुकुटी, रुद्राक्ष, रायो साग, अकबरे खुर्सानी, सिद्रा र हस्तकला।
आस्था र विश्वाससँगै धार्मिक पर्यटनले सदियौंदेखि नेपालीलाई 'आउटिङ'को अवसर दिएको छ। जुन मन र शरीर रिफ्रेस गराउने अवसर हो। पवित्र भावनाले तीर्थ डुल्दा सकारात्मक चिन्तन विकास हुन्छ, जसले मनको उपचार गर्छ। ऊर्जा बढाउँछ।
कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। काठमाडौंका कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बस। तिनले १३ घन्टामा पुर्याऊउँछन्। धरान–बराहक्षेत्र २४ किमि। धरान–चतरा र चतरा–बराहसम्म भाडाका सवारी साधन चल्छन्।
प्रकाशित: ८ श्रावण २०७२ २१:५० शुक्रबार

