२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

बलात्कार उजुरी गर्दा गाउँनिकाला

खानीगाउँ (नुवाकोट)- सुस्त मनस्थितिका बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–१ का विष्णुबहादुर खड्का पक्राउ परेका छन्। खड्कामाथि गाउँकै १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ।किशोरीकी आमाले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गुपचुप रुपमा घटना मिलाउन पीडक पक्षले दबाब दिइरहेका बेला उजुरी दर्ता गरेपछि पीडित परिवार गाउँबाट विस्थापित भएको छ। पीडित किशोरीलाई हाल विदुरमा रहेको त्रिशूली प्लस नामक संस्थाले संरक्षण दिइरहेको छ।

छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिनु नै अहिले आफ्ना लागि अभिशाप बनेको आमा बताउँछिन्। सुस्त मनस्थितिकी छोरीलाई बहानामा बलात्कार गर्नेलाई कारबाही गराउन खोज्दा आफैं समाजबाट बहिष्कृत हुनुपरेको उनको गुनासो छ। 'छोरीलाई त्यस्तो गरेको थाहा पाएपछि आफू काम गरिरहेको विद्या निकेतन प्राविबाट विद्यालयका शिक्षकको सहायतामा उजुरी दर्ता गराएकी हुँ,' उनले भनिन्।

'यस्तो मुद्दा गाउँमै मिलाउनुपर्छ भनेका थिए, मैले नमानेर उजुरी दर्ता गर्दा गाउँमा बस्न पाउँदिनस् भनिरहेछन्, म कहाँ जाउँ्क?' उनले गुनासो गरिन्। किशोरीकी आमाका किशोरीमाथि असार १ गते बलात्कार भएको हो।

उजुरी दर्ता भएलगत्तै प्रहरीले घटना भएको स्थान र किशोरीले दिएको बयानका आधारमा मुचुल्का तयार पारेको छ।

पीडित किशोरीकी आमाले भनिन्, 'मुद्दा दर्ता गराएपछि बौलाई छोरीले भनेको कुरा पत्याएर मुद्दा हाल्ने भन्दै महिला हुल बाँधेर पिट्न आए।' महिला सञ्जालकी सामाजिक कार्यकर्ता शर्मिला उप्रेतीको सहयोगले आफू बाँच्न सफल भएको उनले बताइन्।

किशोरीको बयान र मेडिकल रिपोर्टलाई आधार बनाएर खड्काविरुद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए। 'सार्वजनिक बिदा सकिएलगत्तै अदालत लैजान्छौं,' उनले भने। खड्काले भने प्रहरीसँग बयानका क्रममा आफूले बलात्कार प्रयास मात्र गरेको बताउँदै आएका छन्।

प्रकाशित: ७ श्रावण २०७२ ००:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App